गगन अभिव्यक्तिको ‘फ्याक्टचेक’ : नेपालका आईटी इञ्जिनियरले ३–४ लाख कमाउँछन् ?
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबार कीर्तिपुरको चुनावी सभामा गरेको सम्बोधन यतिबेला चर्चामा छ । उक्त सभामा थापाको दुई वटा अभिव्यक्ति सार्वजनिक वृत्त र सामाजिक सञ्जालमा ‘भाइरल’ छ ।
उनको एउटा अभिव्यक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित थियो भने अर्को नेपाली युवालाई विदेशमा जत्तिकै कमाउने वातावरण कसरी बनाउन सकिन्छ भन्ने सम्बन्धमा थियो ।
पहिलो अभिव्यक्तिमा उनले प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुपर्यो भनेर हप्तैपिच्छे सन्देश पठाउने गरेको दाबी गरेका थिए । थापाले भनेका थिए, ‘अहिले पनि प्रचण्डले हप्तामा एकपटक कांग्रेसलाई खबर पठाउनु हुन्छ । लौ न प्रधानमन्त्री बनिदिनु पर्यो भनेर ।’
यद्यपि यो अभिव्यक्तिको माओवादी नेताहरू र स्वयं अध्यक्ष प्रचण्डले खण्डन गरेका छन् । यसमा तर्क र खण्डनको शृङ्खला अहिले पनि जारी नै छ । यसबारे अहिले हामी चर्चा गर्दैनौँ ।
अर्को, अभिव्यक्तिमा थापाले कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएरै महिनामा ३/४ लाख कमाउन सकिने दाबी गरेका थिए । उनले भनेका थिए, ‘अहिले केटाहरू कतार काम गर्न गएका छन्, बहिनीहरू इजरायल काम गर्न गएका छन् । मुठ्ठी कसेरमात्रै ती फिर्ता आउँदैनन्, भनेरमात्रै आउँदैनन् । कतारमा पाएकोभन्दा बढी तलब पाउने बनाउनुपर्छ हामीले यहाँ,’ थापाले भनेका थिए ।
उनले यसो गर्न सकिने तर्क पनि गरेका थिए । ‘कीर्तिपुरलाई यस्तो नमुनाको नगर बनाउन सकिन्छ, जसको घरबाट निस्केका बच्चाहरूले अबको ५, ६, ७, ८ वर्षपछि, यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन् । यहीँ कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको २ लाख, ३ लाख, ४ लाख आम्दानी गर्नेछन् भन्ने ती तन्नेरीहरू बनाउन सकिन्छ, कीर्तिपुरले बनाउँछ ।’
थापाले आईटी क्षेत्रमा काम गरेर यतिसम्म कमाइ गर्न सकिन्छ भन्ने तर्क गरेका थिए । तर, मासिक १८ हजारको न्यूनतम तलब भएको मुलुकमा महिनामै ३/४ लाख कमाउने कुरा सामान्य रूपमा पत्याउन सकिने खालको छैन । त्यही भएर हुनसक्छ, यो स्टेटमेन्टलाई लिएर अहिले सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ । यतिसम्म कि ‘एआई’बाट डाँडोमा बसेर ल्यापटप चलाइरहेको चित्र बनाएर गरेर सामाजिक सञ्जालमा पोष्ट गर्ने ट्रेन्ड नै चलेको छ ।
तर, के थापाले भनेजस्तै नेपालमा बसेर महिनामा ३/४ लाख कमाउन सकिन्छ त ? यसबारे चर्चा गरौँ ।
सन् २०२२ मा इन्स्टिच्युट अफ इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले एउटा रिपोर्ट प्रकाशित गरेको थियो । उक्त रिपोर्टमा नेपालमा आईटी क्षेत्रमा काम गर्ने व्यक्तिले कति कमाउँछ भन्ने उल्लेख गरेको थियो ।
रिपोर्ट अनुसार आईटी क्षेत्रमा भर्खरै प्रवेश गरेका अनुभवहीन व्यक्तिले वार्षिक २ हजार ८१० अमेरिकी डलर, मध्यमस्तरको आईटी इञ्जिनियरले ६ हजार ३९५ डलर, सिनियर लेभलको आईटी इन्जिनियरले १५ हजार ३२२ डलर कमाउने उल्लेख गरिएको छ ।
स्वतन्त्र रूपमा काम गर्ने आईटी इञ्जिनियरले पनि ४ हजार ७२३ डलर बराबरको आम्दानी गर्ने गरेको उक्त रिपोर्टमा उल्लेख छ । यो रिपोर्ट वास्तविक अवस्थालाई प्रतिनिधित्व गर्ने खालकै रहेको नेपालका आईटी पेसाकर्मीहरू बताउँछन् ।
यो आधारमा हेर्दा सो समयमा भर्खरै काम गर्न थाल्नेले मासिक ३०–३२ हजार रुपैयाँ, मध्यमस्तरको दक्षता भएको व्यक्तिले ७०–७२ हजार रुपैयाँ र सिनियर लेभलको व्यक्तिले १७० हजार रुपैयाँ हाराहारीमा कमाउने गरेका छन् । स्वतन्त्र रूपमा काम गर्नेले ५० हजार रुपैयाँभन्दा माथि कमाउने गरेको बुझ्न सकिन्छ । यो २०२२ को तथ्यांक हो ।
तर, पछिल्लो दुई वर्षको ग्रोथ हेर्ने हो भने यो क्षेत्रको आम्दानी अझ बढेको नास–आईटीका उपाध्यक्ष गौरव पाण्डे बताउँछन् । दुई वर्षको अवधिमा यो क्षेत्रको औसत वृद्धि २५—३० प्रतिशतको भएको उनको भनाइ छ ।
यसलाई आधार मान्ने हो भने अहिले सिनियर लेभलका इञ्जिनियरले मासिक २ लाख रुपैयाँभन्दा धेरै कमाइ गरिरहेका छन् । मध्यम तह तथा नवप्रवेशीको आम्दानी पनि त्यही अनुपातमा बढिरहेको छ । अहिलेको वृद्धिदरलाई निरन्तरता पाउने हो भने ५/७ वर्षमा सिनियर लेभलका आईटी इञ्जिनियरले ३ लाखभन्दा माथि कमाउने देखिन्छ ।
तर, नेपालको आईटी कम्पनीहरू अहिले बिचौलियाको चङ्गुलमा फसिरहेको छ । यसकारण अहिले ठुलो आम्दानी गुमाइरहेको सरोकारवालाहरू बताउँछन् ।
नेपालका आईटी इञ्जिनियरले बनाउने अधिकांश सफ्टवेयर बिक्री हुने भनेको अमेरिका र अष्ट्रेलियामा हो । अहिले नेपालका इञ्जिनियरहरूले बनाएको सफ्टवेयर एजेन्टमार्फत् बिक्री हुने गरेको छ । त्यसो गर्दा एजेन्टले अमेरिकामा ४०–६० प्रतिशत र अष्ट्रेलियामा ६२ प्रतिशत कमिसन लिने गरेको पाण्डे बताउँछन् ।
नेपालले एजेन्सीविना नै उक्त सफ्टवेयर बेच्न सकेमा त्यो पैसा नेपाली सफ्टवेयर कम्पनीले पाउने र योसँगै इञ्जिनियरहरूको तलब पनि बढाउनसक्ने उनको भनाइ छ । यसो गर्दा तत्कालै ३०–३५ प्रतिशतले आम्दानी बढ्न सक्छ । यसो गर्दा सिनियर लेभलको इञ्जिनियरको आम्दानी अहिले नै ३ लाखको हाराहारीमा पुग्नसक्ने उनको भनाइ छ ।
पाण्डेले भने, ‘अहिलेको कमिसनमात्रै घटाउन सकियो भने पनि इञ्जिनियरको कमाइ ३०/३५ प्रतिशत बढाउन सकिन्छ । यसो गर्दा सिनियर लेभलका १० देखि २० प्रतिशत व्यक्तिको कमाइ ३ लाखको रेञ्जमा पुग्छ । ५० प्रतिशत भन्दा धेरै व्यक्तिको डेढ लाखभन्दा माथि पुग्छ । नेपालमै बसेर एउटा व्यक्तिले त्यति कमाउन सक्नु भनेको राम्रै हैन र ?’
आफूहरूको यो माग सुनुवाइ हुने हो भने ५/७ वर्षपछि मध्यम तहको कामदारले पनि त्यो रेञ्जमा कमाउन सक्ने उनको दाबी छ जसमा करिब यो क्षेत्रका करिब ७० प्रतिशत समेटिन्छन् ।
‘माग सुनुवाइमा सरकारको बेवास्ता’
तर लाखौँ व्यक्तिहरूको आम्दानीसँग जोडिएको विषयलाई खुलाउन भने सरकारको कानुन बाधक छ । नेपालको कानुनले देशको पैसा विदेशमा लगानीका लागि लैजान दिँदैन । अहिले सफ्टवेयर आफैँ बिक्री गर्न सम्बन्धित देशमै सब्सिडायरी कम्पनी खोल्नुपर्छ । त्यसरी कम्पनी खोल्न नेपालबाट पुँजी लैजानुपर्छ, जुन अहिले वर्जित छ ।
यसको विकल्पमा सरकारले नेपालकै कम्पनीको शाखासम्म खोल्न दिने प्रतिबद्धता व्यक्त गरेको थियो । तर, यसका लागि पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन । शाखा खोलेर काम अगाडि बढाएमा त्यहाँ काम गर्ने मार्केटिङका कर्मचारीलाई तलब तथा कार्यालय सञ्चालनको खर्च पठाउनसम्म पाइन्छ ।
‘तर त्यसो गर्दा पनि उतै कम्पनी खोलेजस्तो आम्दानी हुँदैन । अमेरिका, अष्ट्रेलियामै दर्ता भएको कम्पनी भए जुन बार्गेनिङ पावर हुन्छ, नेपालको कम्पनीसँग हुँदैन, भारत पाकिस्तान लगायत देशले उतै कम्पनी खोल्न पाउँछन्, हामीले पाएका छैनौँ,’ पाण्डे भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण
-
खाने होइन त सिन्धुलीको जुनार ? (फोटोफिचर)