बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
भन्सार विभाग तथ्याङ्क

चीनसँगको व्यापारमा नेपाललाई सधैँ घाटा

आइतबार, १६ मङ्सिर २०८१, १४ : ५४
आइतबार, १६ मङ्सिर २०८१

काठमाडौँ । नेपालले वैदेशिक व्यापार गर्नेमध्ये चीन र भारत मुख्य दुई देश हुन् । नेपालको कुल वैदेशिक व्यापारको करिब ८० प्रतिशत भारतसँग हुन्छ भने बाँकी अन्य देशसँग हुँदै आएको छ । बाँकी करिब २० प्रतिशतको हिस्सामा सबैभन्दा बढी योगदान चीनको छ । 

भन्सार विभागको तथ्यांकअनुसार चीनबाट गाडी, फलफूल, लत्ताकपडा, विद्युतीय सामग्री ड्राइफ्रुट्सजस्ता सामग्री धेरै आयात हुने गरेको छ । त्यस्तै आलु, प्याजजस्ता तरकारी मासु, पाउडर दूध, घिउ, मह, कफी, चामल, मैदाजस्ता उपभोग्य वस्तु पनि प्रशस्त मात्रामा आउने गरेको छ । 

त्यस्तै नेपालबाट जडीबुटी, च्याउ, चिया, अगरबत्ती, कुकुर र बिरालाको खाना, छालाको वस्तु, बाँसका फर्निचर लगायत वस्तु निर्यात हुँदै आएका छन् । तर नगण्य मात्रामा मात्रै । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष चालु आव २०८१/८१ को कार्तिकसम्म नेपाललाई चीनसँगको व्यापारमा मात्रै १ खर्ब २ अर्ब ५० करोड १ लाख रुपैयाँ व्यापार घाटा भएको छ । चार महिनाको अवधिमा चीनबाट १ खर्ब ३ अर्ब १८ करोडको वस्तु आयात हुँदा नेपालले मात्रै ६८ करोड २३ लाखको निर्यात गरेको छ । 

यसरी हेर्दा नेपालले हरेक वर्ष चीनसँगको व्यापारमा ठुलो घाटा बेहोर्दै आएको छ । आर्थिक वर्ष २०७७/७८ मा २ खर्ब ३३ अर्ब ९२ करोड ३० लाख रुपैयाँको सामग्री चीनबाट आयात भएको थियो । सोही आवमा नेपालबाट जम्मा १ अर्ब १ करोड ६० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो । जसबाट आव २०७७–७८ मा नेपाललाई चीनसँगको व्यापारमा मात्रै २ खर्ब ३२ अर्ब ९० करोड ७० लाख रुपैयाँ घाटा भएको थियो । 

भन्सार विभागका अनुसार आव २०७८/७९ चीनले नेपाललाई २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रुपैयाँको वस्तु बेचेको थियो । तर नेपालले ८० करोड ८७ हजार ५४ लाखको समान मात्रै चिनियाँ बजारमा पठाउन सक्यो । जसबाट नेपाललाई एकै वर्षमा २ खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख रुपैयाँ घाटा भयो । 

आव २०७९/८० २ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ नेपाललाई घाटा भएको छ । भन्सार विभागका अनुसार उक्त आवमा २ खर्ब २२ अर्ब ७१ करोड ५९ लाखको आयात गर्दा नेपालले जम्मा १ अर्ब ७६ करोड ५७ लाखको सामग्री निर्यात गरेको थियो । 

त्यस्तै गत आर्थिक वर्षमा पनि नेपाललाई चीनसँगको व्यापारमा ठुलो घाटा भएको छ । गत आव २०८०/८१ मा २ खर्ब ९८ अर्ब ७७ करोड ४६ लाखको सामान आयात गर्दा नेपालले चीनलाई २ अर्ब ५८ करोड ८६ लाखको वस्तु निर्यात गरेको थियो । यसबाट नेपालले २ खर्ब ९६ अर्ब १८ करोड ६० लाख घाटा बेहोरेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप