सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
एसिया कप क्रिकेट

शीर्षक्रम नचल्दा १ सय ४१ रनमा समेटियो नेपाल

आइतबार, १६ मङ्सिर २०८१, १४ : ०७
आइतबार, १६ मङ्सिर २०८१

काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपमा नेपालले बंगलादेशविरुद्ध १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४१ रन बनाएको हो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । ७७ बलमा उनले ५ चौका प्रहार गरे । तर, त्यसपछि शीर्ष क्रमका कुनै पनि ब्याटरले ठुलो योगदान गर्न सकेनन् ।

विकेटकिपर उत्तम रंगु थापा मगरले ६९ बलमा २९ रन जोडे । उनले २ चौका हिर्काए । अभिषेक तिवारीले पनि समान २९ रन बनाए । ३५ बलमा उनले १ चौका र २ छक्का प्रहार गरे ।

बंगलादेशका लागि मोहम्मद अल फहद, मोहम्मद इक्बाल हसन इमोन र मोहम्मद रिजान होसेनले २–२ विकेट लिए । साद इस्लाम रजिन, मोहम्मद रफी उजमान र अजिजुल हकिम तमिमले १–१ विकेट लिए । पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । 

यू–१९ एसिया कप डिसेम्बर ८ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेका छन् ।

यसैगरी, प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र आयोजक यूएई रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल डिसेम्बर १ तारिखमा (आइतबार) बंगलादेशसँग खेल्नेछ । समूहगत चरणको अन्तिम खेल नेपालले डिसेम्बर ३ तारिखमा (मंगलबार) अफगानिस्तानसँग खेल्नेछ ।

दुवै समूहबाट तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । यू–१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टोलीको कप्तानमा हेमन्त धामी रहेका छन् ।

यसैगरी, टोलीका अन्य खेलाडीमा अर्जुन कुमाल (उप–कप्तान), आकाश त्रिपाठी, उत्तम रंगु थापामगर र मयान यादव रहेका छन् ।

नरेन साउद, युनिशबिक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, यवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रंजित कुमार पनि नेपाली टोलीमा छन् ।

नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप