मसाल समूहका नेतालाई वैद्यको जवाफ– प्रचण्ड र मोहनविक्रमको गलत विचारमाथि छलफल हुन सक्दैन
काठमाडौँ । कीर्तिपुरमा चार दिनदेखि जारी क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता महाधिवेशनमा माओवादी जनयुद्ध, माओवाद र सङ्घीयताको विषयमा मतभेद देखिएको छ ।
संयोजक मोहन वैद्यसहित जनयुद्ध लडेका पूर्वमाओवादी धारले युद्धसमयमा केही कमीकमजोरी भएपनि नयाँ रूपमा संश्लेषण गरेर जानुपर्ने मत राखेका छन् । यस्तै माओवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त भएकाले त्यसलाई छोड्न नमिल्ने पक्षमा संस्थान पक्ष देखिएका छन् । यस्तै जनयुद्धमा माओवादीले उठाएको जातीय राज्य व्यवस्था जातजातिमा विभाजन गर्नेभन्दा पनि पहिचानमा आधारित भएको तर्क गरेका छन् । संघर्ष, रूपान्तरण र एकतासम्बन्धी वैद्यले पेस गरेको राजनीतिक दस्ताबेजमा नेकपा मसाल समूहबाट आएका सन्तबहादुर नेपालीसहित नेताहरूले फरक प्रस्ताव राखेका छन् ।
बन्दसत्रको पहिलो दिन मंसिर १४ गते संयोजक वैद्यले जनयुद्धको व्याख्यासहित ४१ पृष्ठको राजनीतिक दस्ताबेज पेस गरेका थिए । मसाल समूहको नेतृत्व गरेका नेपालीले फरक प्रस्ताव पेस गरेका छन् । नेपालीले पेस गरेको फरक प्रस्तावमाथि पनि हेमन्तप्रकाश वलीसहितका पूर्वमाओवादी घटकका नेताहरूले अर्को प्रस्ताव पेस गरेको सहभागी एक नेताले जानकारी दिए ।
शनिबारको बन्दसत्रमा मूल प्रस्ताव र प्रतिप्रस्तावबारे क्रियाप्रतिक्रिया भएको ती नेताले बताए । वैद्यले जनयुद्धमा केही कमीकमजोरी भएपनि महान् थियो भनेका थिए । बन्दसत्रमा उनले आफूहरू प्रचण्डसँग विद्रोह गरेर आएको र मोहन विक्रमको गलत नीतिप्रति विद्रोह गरेर नेपाली समूह आएकाले अब नयाँ संश्लेषण गरेर जानुपर्नेमा जोड दिएको बुझिएको छ ।
‘जनयुद्ध र विद्रोहलाई फरक रूपले व्याख्या गर्नुपर्छ । सबैलाई एउटै डालोमा राख्न मिल्दैन । जनयुद्धमा केही कमीकमजोरी भएका छन् । जनयुद्ध महान् थियो । जनताले बलिदान गरेका थिए । त्यसले ल्याएको परिवर्तनले उपलब्धि पुरा भएको छैन’, वैद्यको भनाइ उदृद्ध गर्दै ती नेताले भने, ‘तपाईँले मोहन विक्रमको गलत नीतिको विद्रोह गरेर आउनुभयो । प्रचण्डसँग विद्रोह गरेर हामी आएका छौं । प्रचण्ड र मोहनविक्रमको गलत विचार ल्याएर छलफल हुन सक्दैन । हामी नयाँ ठाउँमा पुग्नुपर्छ । त्यसका लागि प्रयास गरौँ ।’
यस्तै वैद्यले माओवाद पार्टीको मार्गदर्शक सिद्धान्त भएकाले छाड्न नसकिने बताएका थिए । जनयुद्धताका माओवादीले अङ्गालेको जातीय व्यवस्था कुनै जातजातिको भन्दा पनि पहिचानको विषयमा उठाएको बताएका थिए ।
यता मसाल समूहबाट एकता प्रक्रियामा आएका नेपालीसहित मसाल समूहले जनयुद्ध, सङ्घीयता र माओवाद मान्न नसक्ने भन्दै फरक प्रस्ताव पेस गरेको अर्का एक सदस्यले रातोपाटीलाई बताए ।
‘सन्तबहादुरजीले जनयुद्ध, सङ्घीयता र माओवादको विषयमा फरक प्रस्ताव पेस गर्नुभएको छ । उहाँ सङ्घीयताको विपक्षमा हुनुहुन्छ । माओवाद नभई माओवादी विचारधारा राख्नुपर्ने मत राख्नुभएको छ । यी विषयमा अल्पमत र बहुमतको हिसाबले ठुलै मतभेद त छैन । अब यसबारे समूहगत छलफलबाट आएका निष्कर्षका आधारमा संश्लेषण हुनेछ । १९ गते समूहगत छलफलको निष्कर्ष आएपछि मात्र यस विषयमा टुङ्गो लाग्ला’, ती नेताले भने । यी विषयमा माओवादीले जनयुद्ध गर्ने बेलामै मतभेद थियो । दीर्घकालीन जनयुद्ध, सङ्घीयता, माओवादको विषयमा तत्कालीन एकता केन्द्रभित्र मतभेद हुँदा पार्टी नै विभाजन भएको थियो । प्रचण्ड नेतृत्वको माओवादीले फागुन १ देखि सशस्त्र विद्रोह सुरु गर्यो । एकता केन्द्र जनयुद्धको विरोधमा उत्रियो ।
मूल दस्ताबेजमाथि छलफल गर्न प्रतिव्यक्ति ७ मिनेट समय दिइएको छ । अन्य प्रस्तावलाई ५/५ मिनेट समय दिइएको छ । व्यक्तिगत असन्तुष्टि व्यक्त गर्नका लागि १०/१० मिनेट छुट्याइएको छ । अहिले झन्डै ३० वटा प्रस्तावमाथि समूहगत छलफल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशी मन्त्रिपरिषद्बाट १३ वटा निर्णय
-
मिसिङ : केटी हराएको सूचना’को आज प्रिमियर, तस्बिरहरू
-
पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा
-
रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
-
जापानमा बर्ड फ्लुको सङ्क्रमण : ५० लाख कुखुरा र चराको मृत्यु
-
सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा