तटबन्धले गाउँ जोगियो, खेतीयोग्य जमिनमा पनि लगाउन स्थानीयको माग
काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–८ का ज्ञानबहादुर केसीको घर छेउमा खहरे छ । यो खहरेलाई स्थानीयहरू थापा सिस्नेरी खहरे नामले चिन्छन् । हिउँदको समयमा यो खहरेमा पानी बग्दैन । जब आकाशबाट पानी दर्किन्छ, खहरे गडगडाउन थाल्छ । कमलामाई नगरपालिकाको सिन्धुली बजारबाट करिब १० किलोमिटर भिमानतर्फ अघि बढ्दा बिपी राजमार्गमै पर्छ, थापा सिस्नेरी खहरे ।
अघिपछि खहरे नै हो वा होइन भन्ने यो राजमार्ग भएर गुड्ने सवारी साधनले पनि मेसो पाउँदैनन् । जब बर्खामा आकाशबाट पानी पर्न थाल्छ, खहरेकै कारण राजमार्गमा सवारी साधन घण्टौँसम्म रोकिनुपर्छ ।
यो खहरेले सबैभन्दा ठुलो समस्या नजिकैको बस्तीमा पारिरहेको छ । यसअघि खहरे छेउका मानिस रातभर जागाराम बस्नुपर्ने बाध्यता थियो । रातको समयमा खहरे बस्तीमा पस्ने डरले टर्च लाइट बाल्दै हेर्न आउनुपर्ने बाध्यता रहेको केसी बताउँछन् । २०८० सालको असार महिनामा बढेको खहरेले उनको गोठ नै बगाएको थियो ।
- हट्यो डर
अहिले खहरे बस्तीमा पसेर कतिबेला बगाउँछ भनेर जाग्राम बस्नुपर्ने बाध्यता र पानी परेको बेला खहरेले बगाउला कि भन्ने डर हटेको छ । यस्तो डर हट्नुको कारण चाहिँ बस्तीलाई कटान गरिरहेको खहरे रोक्नका लागि बलियोसँग किनारमा गरिएको तारजालीको पर्खाल हो ।
हरित जलवायु कोष (जीसीएफ) को अनुदानमा सञ्चालित चुरे उत्थानशील आयोजना अन्तर्गत थापा खहरे सिस्नेरीको कटानलाई लक्षित गरेर खहरेको किनारमा पर्खाल लगाइएपछि यसवर्ष स्थानीयहरू ढुक्कसँग सुत्न सकेको प्रेमबहादुर थोकर बताउँछन् । १८ लाख ३२ हजारको लागतमा खहरे नियन्त्रणका लागि जालीसहितको पर्खाल लगाएपछि खहरेको कटान रोकिएको छ ।
यसवर्ष ठुलो पानी परेर खहरे बढ्दा पनि कटान नभएको स्थानीयहरू बताउँछन् । पर्खालले खहरेको कटान रोकिएपछि पहिला खहरे बग्ने स्थानमा स्थानीयहरूले रुख बिरुवा लगाएर हरियाली बनाएका छन् ।
सिस्नेरी थापा खहरे धनुषा र महोत्तरीको सीमा क्षेत्र चुरे पहाडबाट बग्दै आउँछ । पहिलाभन्दा खहरे ठुलो हुने र त्यसको तीव्रता पनि बढी भएको स्थानीयको अनुभव छ । कल्याणी सिस्नेरी सामुदायिक वनका अध्यक्षसमेत रहेका ज्ञानबहादुर केसी पहिलाभन्दा पछिल्ला वर्षमा खहरे ठुलो भएको बताउँछन् ।
‘अहिले खहरे पहिला भन्दा ठुलो भएर आउँछ । एकै पटक ठुलो पानी पर्ने गरेकाले त्यसो भएको हुनसक्छ,’ खहरे बढ्नुको कारणबारे उनी भन्छन् ‘खहरेको मुहान क्षेत्रमै बाँध बान्ने हो भने खहरेको कटानलाई धेरै रोक्न सकिन्छ ।’
- स्थानीयको माग
सानो क्षेत्रमा पर्खाल लगाएर गाउँमा भइरहेको कटान रोकिएपछि त्यसलाई विस्तार गर्नुपर्ने माग स्थानीयहरूको छ । अझै पनि खहरेका कारण गाउँभन्दा तल रहेको सयौँ बिघा जमिन हरेक वर्ष कटान गरिरहेका कारण त्यसमा तटबन्ध निर्माण गर्नुपर्ने सोही ठाउँका स्थानीय नरबहादुर तामाङ बताउँछन् ।
‘बस्ती त बच्यो । तर, खेतीयोग्य जमिन बगर बनेको छ,’ उनी भन्छन् ‘हामीले उत्पादन नलिए पनि बगर भएको जमिनको तिरो बर्सेनि तिर्नु परिरहेको छ । अब खेतीयोग्य जमिन बचाउन पनि तटबन्ध गर्नुपर्यो ।’