आइतबार, १६ मङ्सिर २०८१, १९ : २९
सुर्खेत । आइतबार कर्णालीका विभिन्न ७ वटा स्थानीय तहमा भएको उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । ७ ठाउँमा गरी कुल ६२ प्रतिशत अर्थात् २६ हजार ४६३ मत खसेको छ । कुल मतदाता संख्या ४२ हजार २७७ रहेपनि ३८ प्रतिशत मतदाताहरूले मतदान गरेनन् ।
यहाँ विभिन्न पालिकामा एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदका लागि भएको मतदानमा ६५.३४ प्रतिशत अर्थात् ११ हजार ५६३ मत खस्यो ।
आइतबार, १६ मङ्सिर २०८१, १९ : ००
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदका लागि भएको मतदानमा ६५.३४ प्रतिशत अर्थात् ११ हजार ५६३ मत खसेको छ ।
दुई ठाउँको कुल मतदाता संख्या १७ हजार ७५१ रहेको थियो । ३४.६६ प्रतिशत अर्थात् ६ हजार १८८ जना मतदानमा सहभागी भएनन् ।
नलगाड नगरपालिकाको उपप्रमुख पदमा लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, १८ : ५५
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनको मतपेटिका संकलन धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ । उक्त पालिकामा १८ हजार ५७७ मत खसेको छ । सहायक निर्वाचन अधिकृत रामराजा पौडेलले ७ बजेसम्ममा मतपेटिका संकलन भइसक्ने र ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको बताए ।
ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् । १२ मतदानस्थलका २९ मतदान केन्द्रमा मतदान भएको थियो । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजे सकिएको थियो । शान्तिपूर्ण रूपमा मतदान सकिएको मोरङ प्रहरीले जनाएको छ ।
निर्वाचनमा १५ जना विभिन्न दलबाट र १ जना स्वतन्त्रसहित १६ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट विजयी भएका जयप्रकाश गच्छदारको गत असारमा मृत्यु भएपछि उपनिर्वाचन चुनाव हुने भएको हो । १६ जनाको उम्मेदवारी परेपनि मुख्य तीन राजनीतिक दलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका बलराम सरदार, एमालेका तुलसीराम विश्वास, माओवादी केन्द्रका नमोनारायण माझीबिच मुख्य चुनावी प्रतिस्पर्धा देखिएको हो ।
आइतबार, १६ मङ्सिर २०८१, १८ : ५०
सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, को वडाध्यक्ष पदका लागि भएको मतदानमा १ हजार १४६ अर्थात् ७९ प्रतिशत मत खसेको छ ।
यहाँ कुल मतदाता संख्या १ हजार ४३४ रहेको थियो । मतदानमा ६०६ महिला र ५४० जना पुरुष सहभागी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
यहाँ वडाध्यक्ष पदका लागि माओवादी केन्द्रका तर्फबाट जसिराम बस्नेत, कांग्रेसबाट मोतीराम खत्री, एकीकृत समाजवादीबाट हंशराज पुरी उम्मेदवार छन् । यहाँ एक स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएको छ । स्वतन्त्रबाट विरबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेले भने उम्मेदवारी दर्ता गराएको छैन ।
आइतबार, १६ मङ्सिर २०८१, १८ : ५०
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन-२०८१ निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली कांग्रेसका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् ।
एक विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिनुभएको छ । आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ । यो विश्वास कायम राख्ने ढङ्गले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको छ ।’
शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा उपनिर्वाचन सम्पन्न गराउन सफल भएकोमा उनले नेपाल सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्।
आइतबार, १६ मङ्सिर २०८१, १८ : ४५
धनगढी । उपनिर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशमा करिब ५७ प्रतिशत मतदान भएको छ । एक उपाध्यक्ष र चार वडाध्यक्षको लागि भएको निर्वाचनमा ५७ प्रतिशत मतदाताले मतदान गरेका हुन् ।
प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भट्टका अनुसार बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ७ हजार ४४० मतदाता रहेकोमा ३ हजार ९०३ जनाले मतदान गरेका छन् । जुन ५२ प्रतिशत मत खसेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि ५ हजार ४३४ मतदाता मध्ये २ हजार ९९२ मतदान गरेका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, १८ : ४३
पोखरा । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत गोरखा नगरपालिका–५ मा ६२ प्रतिशत मत खसेको छ । वडाअध्यक्ष पदमा भएको मतदानमा १ हजार ३ सय ७३ मत खसेको हो । निर्वाचन कार्यालयका अनुसार यहाँ २ हजार २ सय २५ मतदाता थिए ।
गोरखकाली आधारभूत विद्यालय मतदान केन्द्रमा ४ सय ५८, शिवशक्ति आधारभूत विद्यालयको (क) मतदान केन्द्रमा ४ सय ६९ र (ख) केन्द्रमा ४ सय ४६ मत खसेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए ।
संयन्त्रको बैठक बसेर आजै मतगणनाको तयारी गरिएको छ । वडा नम्बर ५ को कार्यालयमा मतगणना स्थल तयार भैसकेको उनको भनाई छ । २०७९ सालमा भएको निर्वाचनमा यो वडाका अध्यक्ष एमालेका खिलबहादुर राना निर्वाचित भएका थिए । अहिलेको निर्वाचनमा एमाले, कांग्रेस र माओवादीको त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, १८ : ३०
सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको मतदानमा ६६.४१ प्रतिशत अर्थात् ४ हजार ५२४ मत खसेको छ । यहाँ ६ हजार ८१० मतदाता संख्या रहेको थियो । मतदानमा २ हजार ३२९ पुरुष र २ हजार १९५ महिला सहभागी भएको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
उपाध्यक्ष पदका लागि ७ जना मैदानमा छन् । यहाँ कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना उम्मेदवार छन् ।
तिमिल्सिनालाई एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको साथ छ । यस्तै राप्रपाबाट संगिता शाही, रास्वपाबाट बाँचा शाही, स्वतन्त्र उम्मेदवार दिनेमा नरेश शाही र रामसरा खड्का शाही छन् ।
आइतबार, १६ मङ्सिर २०८१, १८ : १६
सुर्खेत । दैलेखका दुई वटा स्थानीय तहमा आइतबार बिहानदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । दुवै ठाउँमा मत निकै कम खसेको छ ।
महावु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको मतदानमा ५५.४० प्रतिशत मतदाता सहभागी भएका छन् । कुल मतदाता संख्या १२ हजार ६१४ रहेको यहाँ ५५.४० अर्थात् ६ हजार ९८८ मत मात्रै खसेको छ ।
यहाँ नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा (माओवादी केन्द्र)बाट जंगबहादुर बराल, नेकपा एमालेबाट जंगबहादुर शाहीको उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगर चुनावी प्रतिस्पर्धामा छन् । एकीकृत समाजवादीका जगतबहादुर हमालले उम्मेदवारी दर्ता गरेपनि उनले एमाले उम्मेदवार शाहीलाई समर्थन गरिसकेका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, १८ : ०९
बुटवल । रुकुम पूर्वी जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ५३.०५ प्रतिशत मत खसेको छ । ११ हजार एक सय ८० जना मतदाता रहेकोमा ५ हजार ९ सय ३१ मत खसेको निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए ।
सुवेदीले मतदान सम्पन्न भएपनि केही वडाका मतपेटिका गाडीमा ३ घण्टा र त्यसपछि पैदलबाट ल्याउनुपर्ने भएकाले रातभरमा मतपेटिका ल्याउने काम हुने बताए । आज मतगणना हुने सम्भावना नरहेको भन्दै उनले भोलि बिहानदेखि गणना सुरु हुने जानकारी दिए ।
गाउँपालिकाको १४ वटा वडामा २२ मतदान केन्द्र रहेका छन् । कांग्रेस–एमालेबाट केशकुमारी तुलाचन र माओवादीबाट नरपुरा बुढा उम्मेदवार रहेका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, १७ : ५३
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा १८५७७ मत खसेको छ ।सहायक निर्वाचन अधिकृत रामराजा पौडेलका अनुसार ७१.३ प्रतिशत मत खसेको हो ।
ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा मतदान भएको थियो ।
आइतबार बिहान ७ देखि सुरु भएको मतदान ५ बजे सकिएको थियो । शान्तिपूर्ण रूपमा मतदान सकिएको मोरङ प्रहरीले जनाएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, १७ : ०७
काठमाडौँ । उपनिर्वाचन अन्तर्गत काठमाडौँका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ । काठमाडौँमा कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचन अन्तर्गत मतदान भएको छ ।
बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकाले त्यसपछि मतपेटिका सङ्कलन गरी सर्वदलीय बैठकमा सहमति जुटाएर आजै बेलुकाबाट मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
‘मतदान सकिएपछि प्रक्रिया पुर्याएर आजै बेलुकाबाट काठमाडौँको मतगणना सुरु हुन्छ’, काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले भने, ‘जतिसक्दो चाँडो नतिजा दिने प्रयासमा छौँ ।’
आइतबार, १६ मङ्सिर २०८१, १७ : ०१
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्र्तगत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको थियो । निर्धारित समयमा सवै मतदान केन्द्रहरुमा शान्तिपुर्ण ढंगले मतदान सम्पन्न भएको आयोगले जनाएको छ ।
उपनिर्वाचनमा समग्रमा ६१ प्रतिशत हाराहारी मतदान भएको आयोगले जनाएको छ । यद्यपी केही स्थानको अपडेट भइरहेकाले केही यकिन तथ्यांक साढे पाँच बजेसम्म सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार मतदान गर्ने समय साँझ ५ बजेसम्म निर्धारण भएकाले सो समयभित्र लाइन भित्र बसेकाले मतदान गर्न पाउने भएपनि त्यसबाहेकले मतदान गर्न पाउने छैनन् ।
आइतबार, १६ मङ्सिर २०८१, १६ : १८
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मतदान गर्ने समय एक घण्टा मात्र बाँकी रहेको छ ।
आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
यो उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् । हालसम्म करिब १ लाख ३८ हजारभन्दा बढी मतदाताले मत खसालेको अर्यालले बताइन् । उनले अझै अपडेट हुने क्रम जारी रहेकाले यो संख्या बढ्न सक्ने बताइन् ।
आइतबार, १६ मङ्सिर २०८१, १५ : ५८
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । दिउँसो साढे ३ बजेसम्ममा १६ हजार ९२८ मत खसिसकेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए ।
अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी दौडमा छन् । १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् । उपनिर्वाचनमा २६ हजार ४४ मतदाता रहेका छन् ।
२०७९ सालको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो । मतदान सकिएपछि आज राति देखिनै मत गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, १५ : १०
काठमाडौँ । मतदानको समय करिब २ घण्टामात्र बाँकी रहँदा स्थानीय तह उपनिर्वाचनको मतदान अन्तिमतिर पुगेको छ । आइतबार दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत बढी मतदान सम्पन्न भएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेलका अनुसार मतदान सुरु भएको ७ घण्टाको अवधिमा ५० प्रतिशत बढी मत खसेको जानकारी दिइन् । निर्वाचन आयोगका अनुसार सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भइरहेका छन् र अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान पनि भइरहेको छ। आयोगले ६० प्रतिशतको हाराहारीमा मत खस्ने अनुमान गरेको छ ।
आइतबार, १६ मङ्सिर २०८१, १३ : ००
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको नतिजा रातोपाटीबाटै हेर्न सकिने भएको छ । आइतबार मतदान सम्पन्न भएसँगै सुरु हुने गणनाको सबै विवरण रातोपाटीमार्फत नै हेर्न मिल्नेगरी व्यवस्था मिलाइएको हो ।
रातोपाटीले उम्मेदवारको विवरण, मतपरिणाम, विजेता उपविजेता लगायतको विवरण सहजै थाहा पाउन सकिनेगरी पाठकमैत्री विशेष पेज डिजाइन गरेको हो । जसअनुसार रातोपाटीले छिनछिनमा मतगणनाको अद्यावधिक विवरण उपलब्ध गराउनेछ ।
विगतका निर्वाचनहरूमा समेत रातोपाटीले निर्वाचनसम्बन्धी विशेष सेवा उपलब्ध गराउँदै आएकोमा यो पटक पनि त्यसलाई निरन्तरता दिइएको रातोपाटीको प्रकाशक संस्था डिस्कवरी न्युज नेटवर्कले जनाएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, १० : ३७
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ७ बजेबाट सुरु भएको मतदान १० बजेसम्म करिब २२ प्रतिशत सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तीन घण्टाको अवधिमा करिब २२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिए ।
‘सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भएका छन् । मतदान सुरु भएको ३ घण्टामा करिब २२ प्रतिशत मत खसेको छ’, थपलियाले भने, ‘अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको छ ।’
नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।
आइतबार, १६ मङ्सिर २०८१, १० : २९
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को एक वडा अध्यक्ष पदका लागि मतदान जारी रहेको छ । बिहान ७ बजेटमा सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति रहेको छ ।
२ मतदान स्थलको ९ मतदान केन्द्रका मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । बिहान १० बजेसम्मको अवधिमा १ हजार ७६८ मत खसेको छ । विष्णुज्योती आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ४ मतदान केन्द्रमा ७५४ मत खसेको छ । सो मतदान स्थलमा ३ हजार ६२५ मतदाताले मत दिनेछन् भने प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा ४ हजार ४२८ मतदाताले मतदान गर्नेछन् । उक्त मतदान स्थलको ५ मतदान केन्द्रबाट हालसम्म १ हजार १४ मत खसेको छ ।
हेटौँडा–१२ मा २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएर कुल ८ हजार ५३ मतदाता रहेका छन् । जसमध्ये ४ हजार ४२८ जना पुरुष र ३ हजार ६२५ जना महिला र एक अन्य मतदाता रहेका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, १० : १३
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा बिहानैदेखि मतदाता जारी छ । मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
त्यहाँ अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी दौडमा छन् । ७ वडा रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् । उपनिर्वाचनमा २६ हजार ४४ मतदाताले मतदान गर्दै छन्।
२०७९ सालको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो ।
आइतबार, १६ मङ्सिर २०८१, १० : ०७
काठमाडौँ । नेपाली कांग्रेस कीर्तिपुर नगरपालिकाको मेयरका उम्मेदवार कृष्णमान डंगोलले ३ वडाबाट मतदान गरेका छन् । यहाँ २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।
मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।
आइतबार, १६ मङ्सिर २०८१, १० : ०१
बालाराम शेर्पाली । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा भइरहेको उप निर्वाचनमा सात सय २३ मत खसेको छ । बिहान ७ बजे देखि ९ः३० सम्म उक्त मत खसेको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए। १४ वडाका भित्रका १९ मतदान स्थल तथा २२ वटा मतदान केन्द्रबाट स्थानीयले मतदान गरिरहेका छन् ।
पालिकामा ११ हजार एक सय ८० जना मतदाताले मतदान गर्दै छन् । यहाँ कांग्रेस, नेकपा एमालेबाट केशकुमारी तुलाचन तथा माओवादी केन्द्र, एकीकृत समाजवादीबाट नरपुरा बुढा पुन गाउँपालिका उपाध्यक्ष उम्मेदवार रहेका छन् ।
२ नम्बर वडा अध्यक्षमा भने माओवादी केन्द्रबाट जगत् घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, ०९ : ५२
काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ । यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त पदका लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा निधन भएपछि उपनिर्वाचन भएको हो ।
त्यसैगरी गोरखा नगरपालिका–५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ । यहाँ दुई हजार दुई सय २५ मतदाता छन् । उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएको थियो ।
आइतबार, १६ मङ्सिर २०८१, ०९ : २७
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।
नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।
आइतबार, १६ मङ्सिर २०८१, ०९ : २३
धनगढी । सुदूरपश्चिममा रिक्त रहेको पदको लागि मतदान जारी भएको छ । उपनिर्वाचनअन्तर्गत यहाँको पाँच पदका लागि मतदान भइरहेको हो । प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकृत प्रेमराज भट्टका अनुसार बिहान ७ बजेदेखि नै पाँच वटै स्थानमा उत्साहजनक रूपमा मतदान जारी छ ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । जहाँ १०० बढी मत खसिसकेको मतदान अधिकृत भट्टले जानकारी दिए ।
यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५, डोटीको पुर्वीचौकी गाउँपालिका–६, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ मा पनि मतदान जारी रहेको भट्टले जानकारी दिए । त्यहाँ वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ ।
आइतबार, १६ मङ्सिर २०८१, ०९ : १६
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ स्थित नेपाल युवक मावि पकनाजोल मतदान केन्द्र पुगेर मत हालेका हुन् ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री सिंहले मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोग गरेर राम्रो वडाध्यक्ष चयन गर्न आग्रह गरे ।
उनले बिहान काठमाडौँको मौसम ठण्डा भएकाले घाम लागेपछि मतदाताहरूको संख्या बढ्ने भन्दै चुनावी व्यवस्थापनपक्ष राम्रो भएको बताए ।
आइतबार, १६ मङ्सिर २०८१, ०९ : ०३
सुर्खेत। आइतबार हुन लागेको उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ स्थानीय तहमा मतदान जारी छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
यहाँ विभिन्न पालिकामा एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । ८ पदका लागि ४३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। महावु गाउँपालिकाकाे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका एकीकृत समाजवादीका जगतबहादुर हमालले एमालेलाई समर्थन गरेका छन्।
यहाँ नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा (माओवादी केन्द्र)बाट जंगबहादुर बराल, नेकपा एमालेबाट जंगबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगर चुनावी प्रतिस्पर्धामा छन्।
आइतबार, १६ मङ्सिर २०८१, ०८ : ५७
काठमाडौँ । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।
मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।
आइतबार, १६ मङ्सिर २०८१, ०८ : ४२
काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिका र काठमाडौँ १६ को सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
त्यस्तै हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो । सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन् ।
आइतबार, १६ मङ्सिर २०८१, ०८ : ३३
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा मतदान जारी छ । उपनिर्वाचनमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, ०८ : १८
सुर्खेत । दैलेखको महावु गाउँपालिकामा मतदान जारी छ। यहाँ १२ हजार बढी मतदाता रहेका छन्।
यहाँ कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादीबाट जंगबहादुर बराल मगर, एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढाको उम्मेदवारी दर्ता भएको छ । यस्तै राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगरलाई उम्मेदवार बनाएको छ ।
बिहान ७ बजेदेखि जारी मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
आइतबार, १६ मङ्सिर २०८१, ०८ : १३
काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन भइरहँदा यसअघि नै तीन स्थानका उम्मेदवार भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलाली जिल्ला जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् ।
साथै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, ०८ : ०८
बुटवल । रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष लागि मतदान सुरु भएको छ । यहाँ नेपाल कांग्रस र एमालेबाट केशकुमारी तुलाचन र माओवादीबाट नरपुरा बुढा उम्मेदवार रहेका छन्।
गाउँपालिकाको १४ वटा वडामा २२ मतदान केन्द्र रहेको छ। जसमा ५ हजार ६ सय ७१ जना पुरुष र ५ हजार ५ सय ९ जना महिला गरी जम्मा ११ हजार एक सय ८० जनाले मतदान गर्ने निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए।
आइतबार, १६ मङ्सिर २०८१, ०८ : ०१
काठमाडौँ । आइतबार भइरहेको स्थानीय तह उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ जना मतदाता रहेका छन्। उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म जारी रहनेछ ।
आइतबार, १६ मङ्सिर २०८१, ०७ : ५४
बुटवल । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ।यहाँ ३५१० मतदाता रहेका छन्।
ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल मत खसाल्दै सुरुवात गरेका हुन्। यहाँ दलका ६ उम्मेदवार रहेका छन्।
आइतबार, १६ मङ्सिर २०८१, ०७ : ४७
काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, ०७ : ३९
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा एक वडा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ ।
२ मतदान स्थलमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।
आइतबार, १६ मङ्सिर २०८१, ०७ : ३४
काठमाडाैँ । आज उपनिर्वाचनको दिन देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको छ । यद्यपि जल तथा मौसम विज्ञान विभागले अहिले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।
विभागका अनुसार आइतबार दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आइतबार, १६ मङ्सिर २०८१, ०७ : ३१
काठमाडौँ । आज ४१ स्थानीय तहमा उपनिर्वाचन भइरहेको छ । निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको बताइन् ।
अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउँछन् ।
आइतबार, १६ मङ्सिर २०८१, ०७ : २९
आइतबार कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ ।
यसैगरी ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहतको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा निर्वाचन भइरहेको छ ।
काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि पनि मतदान भइरहेको आयोगले जनाएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, ०७ : २५
काठमाडौँ । आज ४१ स्थानीय तहमा उपनिर्वाचन भइरहेको छ । निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको बताइन् ।
अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउँछन् ।