८ वर्षपछि मधेश प्रिमियर लिगको तेस्रो संस्करणको तयारी
कुनौली । मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ वर्षपछि यसको तेस्रो संस्करण हुने भएको हो । शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै मधेश प्रिमियर लिग प्रालिका अध्यक्ष इञ्जिनियर सञ्जीवनारायण यादवले तेस्रो संस्करणको खेल आगामी चैत ५ गतेदेखिको तयारी रहेको बताए ।
सन् २०१५ मा सुरू भएको एमपीएलको निरन्तर दुई संस्करण आर्थिक समस्याका कारण हुन नपाएको बताए । ‘दुई संस्करणमा आयोजकलाई अत्यधिक घाटा खेप्नुपर्यो, पछि कोरोना महामारीलगायत कारणले निरन्तरता दिन सकिएन’, उनले भने ।
तेस्रो संस्करणका लागि आजदेखि एक महिनासम्म खेलाडीको नाम रजिष्ट्रेशन सुरु गरिएको प्रालिका सचिव इञ्जिनियर तीर्थ दासले बताए । तेस्रो संस्करणमा अक्सनबाट खेलाडी छनोट गरिने र प्रत्येक टिममा झापाबाट कञ्चनपुरसम्मका तराई क्षेत्रबाट सात खेलाडी तथा नेपालको अर्को ठाउँबाट चार जना खेलाडी रहने आयोजकले जनाएको छ । प्रतियोगितामा १० वटा टोली सहभागी गराइनेछ ।
प्रतियोगिताका खेल राजविराज, जनकपुरधाम र वीरगञ्जमा सञ्चालन गर्ने प्रयास भइरहेको आयोजकको भनाइ छ । वीरगञ्ज र जनपुरधाममा खेलिने अवस्था नमिले सबै खेल राजविराजमा खेलिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मधेश प्रदेश सरकारसँग समन्वय गरेर मधेश प्रिमियर लिगको नाममा राखिएको रु ५० लाख बजेटका लागि पहल गरिने अध्यक्ष यादवले जानकारी दिए ।