ग्रामथान उपनिर्वाचन : चार मतदानस्थल संवेदनशील
विराटनगर । ग्रामथान उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । आइतबार हुने उपनिर्वाचनलाई लक्षित गर्दै ग्रामथान गाउँपालिकाको सुरक्षामा कडाइ गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार निर्वाचनलाई लक्षित गर्दै न्यूनतम भन्दा बढी सुरक्षाकर्मी खटाइएको हो ।
आजै रातको १२ बजेदेखि ग्रामथानलाई ‘लक’ गरिएको उनले बताए । ‘हामीले न्यूनतम भन्दा बढी सुरक्षाकर्मी खटाएका छौँ । आजराति १२ बजेदेखि ग्रामथानलाई लक गरेका छौँ । हामी सबै पेट्रोलिङमा छौँ,’ उनले भने, ‘रक्सी पसलहरू हिजोदेखि नै बन्द छन् । कहाँ कहाँ खुलेका छन् भन्ने विषयमा अनुगमन गरिरहेका छौँ । प्रहरीको गस्ती पनि नियमित छ । निर्वाचन आयोगले दिएको कार्यक्रम अनुसार हामीले सुरक्षा प्रत्याभूति दिनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरेका छौँ ।’
उनका अनुसार बिहान ७ बजेदेखि हुने मतदान साँझ ६ बजेसम्ममा सकिनेछ । ‘बेलुका ५ बजेभित्रमा मतदानस्थलको घेराभित्र छिरिसकेकालाई नसकिँदासम्म मतदान गर्न दिन्छौँ,’ उनले भने, ‘बेलुका ६ बजेसम्ममा सकिएला भन्ने हाम्रो अनुमान छ ।’
गाउँपालिकाको अध्यक्ष पदको लागि हुन लागेको निर्वाचनमा १५ जना विभिन्न दलबाट र १ जना स्वतन्त्रसहित १६ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।नेपाली काँग्रेसबाट विजयी भएका जयप्रकाश गच्छदारको मृत्यु भएपछि उपनिर्वाचन चुनाव हुने भएको हो ।
७ वटा वडामा २६ हजार ४४ मतदाता रहेको ग्रामथान गाउँपालिकामा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ग्रामथानका सहायक निर्वाचन अधिकृत राम राज पौडेलले जानकारी दिए । निर्वाचनको लागि सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त पारिएको छ । सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीहरू पुगिसकेको उनले पनि बताए ।
१६ जनाको उम्मेदवारी परे पनि मुख्य तीन राजनीतिक दलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेसका बलराम सरदार, एमालेका तुलसीराम विश्वास, माओवादी केन्द्रका नमोनारायण माझीबिच मुख्य चुनावी प्रतिस्पर्धा देखिएको हो ।
सबै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा परिचयपत्र वा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि उम्मेदवारहरूले मङ्सिर २ गते मनोनयन पत्र दर्ता गराएका थिए । मतदान कार्य सम्पन्न भइसकेपछि मतपेटिका सङ्कलन गरिने छ । मतपेटिका मतगणनास्थलमा मतपेटिका ल्याइसकेपछि मतगणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।
- चार मतदानस्थल संवेदनशील
यसैबिच ग्रामथान गाउँपालिकामा उपनिर्वाचनका लागि तोकिएकामध्ये ४ वटा मतदानस्थललाई संवेदनशील भनेर सुरक्षा निकायले वर्गीकरण गरेको छ । ग्रामथानमा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर वर्गीकरण गरेको हो । तीन वटा वा सोभन्दा बढी मतदान केन्द्र र धेरै मतदाता रहेका मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले ग्रामथान–१ को लखन्तरीस्थित वीरेन्द्र मावि, ५ को तेतरियास्थित देवी मावि, ६ को रविहाटस्थित पब्लिक मावि र ७ को धोवियारेस्थित गणेश मावि मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको हो ।
वीरेन्द्र माविमा ३ वटा मतदान केन्द्र र २ हजार ५ सय १३ मतदाता छन् । देवी माविमा ५ वटा मतदान केन्द्र र ४ हजार ८ सय ३८ मतदाता, पब्लिक माविमा ४ वटा केन्द्र र ३ हजार ७ सय ५५ मतदाता तथा गणेश माविमा ३ वटा केन्द्र र २ हजार २ सय ५६ जना मतदाता छन् ।
मतदानस्थलमध्ये ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा १ केन्द्र र ७ सय ७७ मतदाता, २ को वडा कार्यालयमा २ केन्द्र र २ हजार ७२ मतदाता, २ कै झोराहाटस्थित सरस्वती माविमा १ केन्द्र र २ हजार ६२ मतदाता, ३ को भौंसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा २ केन्द्र र १ हजार ४ सय ६ मतदाता तथा ३ कै सिद्राहास्थित वाणी माविमा २ वटा केन्द्र र १ हजार ५ सय ४७ मतदाता छन् ।
यस्तै, ग्रामथान–४ को लोहासुरस्थित महेन्द्र माविमा २ केन्द्र र २ हजार ८१ मतदाता, ४ कै मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा २ केन्द्र र १ हजार ८ सय ९२ मतदाता तथा ७ को बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा १ केन्द्र र ८ सय ४५ जना मतदाता रहेका छन् । ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता छन् ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले आगामी उपनिर्वाचनको सुरक्षाका लागि डीएसपीकै नेतृत्वमा प्रहरी परिचालन गरिएको जानकारी दिए । समग्र निर्वाचन सुरक्षालाई लक्षित गरेर मोरङ प्रहरीका डीएसपी मदन केसीको नेतृत्वमा टोली खटाइएको उनको भनाइ छ ।
मतदानस्थलमध्ये संवेदनशीलमा इन्स्पेक्टर तथा सामान्यमा वरिष्ठ सई र सईको नेतृत्वमा प्रहरी परिचालन हुने चिमरियाको भनाइ छ । उनका अनुसार निर्वाचनका दिन सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ । त्यसबाहेक रिजर्भ र स्ट्राइकिङ टोली पनि रहने जानकारी एसपी चिमरियाले दिए । उनका अनुसार उपनिर्वाचनलाई लक्षित गरेर सूचना सङ्कलन गर्ने तथा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय सक्रिय भएर लागेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने
-
स्विजरल्याण्डको डाभोसमा कतारी प्रधानमन्त्रीले भने-'गाजामा हामी पीएम देख्न चाहन्छौं'
-
सौगातसँग ब्रेक अप भएपनि उहाँको राम्रो होस्ः अभिनेत्री सृष्टि
-
कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
-
शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?