शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

अर्जुनबाबु दाहालका तीन कविता

शनिबार, १५ मङ्सिर २०८१, १७ : ४३
शनिबार, १५ मङ्सिर २०८१
  • १) आमाको काख र गाउँ

भूकम्पले महलहरू
गल्र्यामगुर्लुम्म ढलेर
चउरमै खाना खान्छु भन्दा पनि
सडकमै सुत्छु भन्दा पनि 
आहा ! कति महान् गाउँ ! 

कोरोनाले आक्रान्त पारेर
घरबाट कतै चिहाउन नपाउँदा
र यतिसम्म कि
हस्पिटलले भर्ना गर्नसम्म नमानेपछि छिमेकीले वैरीको नजरबाट हेरेपछि
भोक बढेपछि पैसा नबिकेपछि हतारिँदै जाने ठाउँ 
आहा ! कति महान् गाउँ !

फोहोर सहर दुर्गन्धित बनेपछि
डेङ्गु, हैजा बान्ताले थल्याएपछि 
बलाबच्चा बचाउने उपाय नसुझेपछि
सहरले उधारो पत्याउन छाडेपछि
केही सीप नचलेपछि
जीवन चलाउन जाने ठाउँ
आहा ! कति महान् गाउँ !

गल्लीहरू बिरानो लाग्न थालेपछि
आफ्नो मन आफैँबाट भाग्न थालेपछि
सहर नै सुनसान सुनसान लागेपछि
चारैतर्फ निष्पपट्ट अन्धकार देखिएपछि
आत्महत्या गर्ने आँट नआएपछि
बाँच्ने रहर साँचेर
उज्यालोको आभास दिने ठाउँ
आहा ! कति महान् गाउँ !

जहिले गए पनि उही माया 
अँगालो उही 
ए, दुःखले घेरेपछि आइस् ? पनि भन्दैन
तँलाई चिन्दिनँ पनि भन्दैन
आमाको काखजस्तो आभास दिने ठाउँ
आहा ! कति महान् गाउँ । 
००

  • २) सपना, पासपोर्ट र साउदी

कहाँबाट आयो ?
कानभरि आवाज आयो
थुइक्क नाथू !
तँलाई त्यत्रो पढाएको 
सक्षम बनाएको 
अर्कैको गुलाम बन्न हो ?
तिनको दासत्व स्विकार्न हो ?

तेरो बुद्धि यहीँ लगाउँदा
त्यति दुःख यहीँ गर्दा
तँलाई खान लाउन पुग्दैन र ?
कि धेरै पैसा कमाएर
पुष्प विमान किन्ने सोच्या छस् ?
कानैमा आएर को बोल्यो यसरी ?

निधारमा अबिर छ
गलामा खादा छ
हातमा सुटकेस छ 
म एअरपोर्टको आँगनमा छु 
को बोल्यो पछाडिबाट 
तेरो खेत कसले कमाउँछ अब ?
गाईभैँसी कसले पाल्छ अब ?
दुई दिन हिँड्नुुपर्छ
बालाई औषधी लिन जान
को गइदिन्छ सदरमुकाम ?
बा खोकिरहनुभएको आवाज आयो
म ब्युँझिएँ
सिरानीमा थियो पासपोर्ट र 
थियो 
साउदी जाने टिकट । 
००

  • ३) समय चक्र

अढाइ/तीन सय वर्ष बुढो
हेमानको रुख
काँडैकाँडा भएको छ
तर उसले आफूलाई 
कहिल्यै बुढो ठानेन ।

बाहिरबाट हेर्दा हरियो जस्तो 
बलियो छ जस्तो
चराको गुँडजस्तो
शीतल छहारीजस्तो
बटुवाको आरामजस्तो
तर ऊ आफैँलाई थाहा छैन
उसकै जरा उप्किसक्यो !

न बारीमा सारेर सर्छ
न हुर्काएर हुर्कन्छ अब
न फुल्छ अब कुनै दिन, न फल्छ
ऊ ढल्छ अब
ढलेपछि बुढो रुख रुख रहन्न !

हजुरबाले कति वर्ष झेलेको
तर फाइदा नभएको
बाले अब फाल्दिउँ भनेको
तर सक्दै नसकेको अजंगको बुढो रुख
अब रुख रुख रहेन
यो बस्तीको दुःख भयो !
संयोग
भनेकै वर्ष ढल्यो !

ओहो !
कति छिटो बितेछ समय
आफ्नै हातले सारेको
नयाँ बिरुवा पनि अब त 
बिस्तारै जवान हुँदैछ ।
०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुनबाबु दाहाल
अर्जुनबाबु दाहाल
लेखकबाट थप