बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

कांग्रेस-एमाले र हाम्रो बाटो फरक भयो : पुन

शनिबार, १५ मङ्सिर २०८१, १६ : ४०
शनिबार, १५ मङ्सिर २०८१

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले कांग्रेस र एमालेसँग आफूहरूको बाटो फरक भएको बताएका छन् । 

पार्टीको तेस्रो रोल्पा नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पुनले ०६२ ०६३ को आन्दोलनअघि निरंकुशताविरुद्धको आन्दोलनका लागि १२ बुँदे सहमतिबाट सुरु भएको दुई दलसँगको सहकार्य संविधान निर्माणपछिको ९ वर्षमा कमजोर भएको बताएका हुन् । 

काँग्रेस-एमालेले गणतन्त्रलाई सीमित बिचौलिया, दलाल र भ्रष्टहरूको मात्र सीमित गर्ने कोसिसमा र आफूहरू बहुसङ्ख्यकको गणतन्त्र बनाउने प्रयासमा रहेको उनको भनाइ थियो । आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारी र तस्करहरूलाई नियन्त्रण गर्न थालेपछि काँग्रेस एमाले अप्रत्याशित रूपमा मिलेको पुनले बताए । 

कांग्रेस-एमालेलाई पुराना संसदवादी दलको संज्ञा दिँदै पुनले काँग्रेस-एमाले एउटा कित्ताका र आफूहरू अर्को कित्ताको भन्ने जनताले स्पष्ट रूपमा बुझेको दाबी गरे । ‘हामी एउटा कित्ताका र काँग्रेस एमाले अर्को कित्ताका हुन् भन्ने जनताले बुझेका छन्,’ पुनले भने,‘काँग्रेस एमालेको भ्रष्टाचार र बेथितिका कारण जनता हामीतर्फ आकर्षित भएका छन् । अहिलेको सरकारको नेतृत्वसँग असन्तुष्टि र हामीसँग आकर्षण सँगसँगै बढेको छ ।’

सुशासनका लागि भ्रष्टाचार र अनियमितता विरोधी अभियान थालेपछि काँग्रेस एमाले बिच्किएको भन्दै उनले काँग्रेस र एमालेसँग त्यही बिन्दुबाट बाटो फरक भएपछि सरकार ढलेको बताए । 

संसारमा कहीँ पनि प्रमुख दुई दल मिलेर सरकार चलाएको रेकर्ड नभएको चर्चा गर्दै पुनले सुशासनको अभियान थाल्दा आफूहरूलाई सरकारबाहिर आएपछि जनताले विगतको तुलनामा बढी माया गरेको उनको भनाइ थियो । प्रचण्ड सरकारले सुशासनका लागि केही गर्न खोज्दा हटाए भन्ने जनतामा स्थापित भएको दाबी गर्दै पुनले वर्तमान सरकार भ्रष्ट, बिचौलिया, दलाल र अनैतिकहरूले सरकार चलाइरहेको आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप