हिलोमा फुलेको फूल : बालबालिकाका लागि वरिष्ठ कलाकार ‘कान्छा कुमार’को कथा
वरिष्ठ कलाकार के के कर्माचार्यको जीवनीमा आधारित बालपुस्तक (पुस्तिका पनि भन्न सकियो) ‘हिलोमा फुलेको फूल’लाई भर्खरै (कात्तिक १७) गते अनावरण गरियो ।
कथात्मक र संवादात्मक शैलीमा विजय आचार्यले लेखेको यस पुस्तकमा दृष्टान्त चित्र पनि राखिएका छन् । यहाँभित्र रहेका जम्मै दृष्टान्त चित्र कलाकार कर्माचार्यले नै बनाएका हुन् । यसो हुँदा अक्षरले भन्न खोजेका कुरालाई चित्रले अझ स्पष्ट पारेका छन् । अक्षरको स्वाद एकातर्फ छँदै छ, चित्र र अक्षरले सँगसँगै बोल्दा पुस्तक झनै स्वादिलो बन्न र आकर्षक दखिन पुगेको छ ।
साधारण किसिमका बालपुस्तिका त आइरहन्छन्, तर कलाकारको जीवनीमा आधारित भएका कारण यो पुस्तक विशेष छ ।
कलाकार कर्माचार्यका बुवा (भीमबहादुर)लाई छोराछोरी हुर्काउन हम्मे परेको कुरा पुस्तकमा राम्ररी उठाइएको रहेछ । भीमबहादुर (कलाकारका बुवा) र भीमबहादुरकी फुपूबिचको संवादबाट सुरु भएको यो पुस्तक भीमबहादुर र कान्छाको संवादमा गएर टुंगिएको छ ।
पनौतीमा घरवास भएका भीमबहादुर गाउँघरमै गुजारा गर्न गाह्रो भएपछि बनेपा (फूपूको घर)मा गएका थिए । त्यसपछि भीमबहादुरले काठमाडौँमा व्यापार गरेको सन्दर्भ पुस्तकमा आएको छ । कलाकारका बुवाले जीवनयापनका लागि पनौती, बनेपा र काठमाडौँको दौडधुप गर्दै गरेका अनेक परिदृश्य; पैसा कमाउन कलाकार कर्माचार्यले बच्चै बेलादेखि साना चित्र बाटोमै बनाउँदै बेच्दै गरेका दृश्य; भूकम्प जाँदाको अवस्था; कलाकार आफैँ निस्लोट बिरामी भई १२ दिनसम्म सुत्नुपरेको दृश्य; स्कुलमा स–साना कला बनाई बेचेको अवस्था आदि घटनालाई पुस्तकमा समावेश गरिएको छ । भाइ साह्रै बिरामी पर्दा दाइ खाली खुट्टा दौडँदै डाक्टर बोलाउन गएको दृश्यले भावुक बनाउँछ । यसै अनुसार चित्र पनि बनेका देखिन्छन् । समग्रमा बालबालिकाका लागि यो एउटा राम्रो पुस्तक बजारमा आएको छ ।
यो पुस्तक पहिलो भाग भएकाले केही अधुरो जस्तो लाग्छ, तर चाँडै नै यसको दोस्रो भाग पनि आउँदै छ ।
हेर्दा सानो, चिटिक्क परेको तर खँदिलो यस पुस्तकमा दुःखसँगै रोमाञ्चक घटना पनि आउँछन् । दुःखका बिच पनि संघर्ष छाड्नु हुँदैन, आफ्नो उद्देश्यमा लागिरहनुपर्छ, एक दिन सफल भइन्छ भन्ने भाष्य यस पुस्तकले निर्माण गरेको छ । यो पुस्तक बालबालिकाका लागि उत्प्रेरक र मार्ग निर्देशक हुने देखिन्छ । बाल पुस्तकको लहरमा यसले एक अलग्ग पहिचान बोकेकोे छ । काल्पनिक कथाहरू बोकेर देखापर्ने बालपुस्तक वा पुस्तिकामाझ स्वभावतः यो पुस्तक विशेष छ ।
अक्षरले भन्न खोजेका कुरालाई चित्रले अझ स्पष्ट पारेका छन् । अक्षरको स्वाद एकातर्फ छँदै छ, चित्र र अक्षरले सँगसँगै बोल्दा पुस्तक झनै स्वादिलो बन्न र आकर्षक दखिन पुगेको छ ।
पुस्तकको नाम विम्बात्मक छ । हिलोलाई गरिबी र सङ्घर्षको भुमरीका रूपमा लिन सकिन्छ भने फूललाई अलौकिक प्रतिभा वा सुखको प्रतीकका रूपमा बुझ्न सकिन्छ । हिलोमा फुलेको कमलको फूलको महत्त्व भएझैँ यो पुस्तकको पनि पृथक् महत्त्व देखिन्छ ।
विमोचन
बालसाहित्य समाजको आयोजनामा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान सहयोगी भई प्रतिष्ठानकै भाजुमान कक्षमा यसको विमोचन गरियो ।
भाजुमान कक्षको नाम भाजुमान चित्रकारसँग सम्बन्धित छ, जो नेपाली समसामयिक चित्रकला इतिहासका प्रारम्भ बिन्दु थिए । आधुनिक कलाको उद्भव गराउन उनले भरपर्दो बाटो खोलिदिएका थिए ।
कला र साहित्य दुवै विधालाई समेट्ने यो सानो पुस्तिकाको विमोचन समारोहमा कलाकार अनि साहित्यकारहरूको निकै ठुलो जमघट भएको थियो । यो मात्र एक बालपुस्तिका थिएन, कलाकारको जीवनीमा आधारित भएर देखिएको पहिलो बालपुस्तिका पनि थियो । यसले बालबालिकासम्म कलाकार र कलालाई पुर्याउनेछ । एक आधुनिक कलाकारको सङ्घर्ष, उनको कला यात्राका अनौठा घटना, कलाको व्यवसायसँगको नाता, कलाको संस्कृति, चाडबाडसँगको नाता, कला र जीवनबिचको नाता आदिलाई बालबालिकाले सरल ढंगले बुझ्नेछन् ।
संवादात्मक र कथात्मक शैलीमा लेखिएको र त्यसमाथि दृष्टान्त चित्र राखिएकाले बालबालिकाका लागि यो पुस्तक धेरै नै उपयोगी हुने देखिन्छ ।
विमोचन कार्यक्रममा पुस्तकको टिप्पणीकारमा साहित्यबाट जीवेन्द्रदेव गिरी र कलाबाट यो पंक्तिकार थियो । यसो हुँदा पुस्तकबारे कार्यक्रममै छर्लंग पार्ने काम पनि भयो । पुस्तकमा आएका दृष्टान्त चित्रबारे प्रस्ट्याउने जिम्मा मलाई सुम्पिएको थियो । कार्यक्रममा वयोवृद्ध कलाकार हरिप्रसाद शर्मा, पूर्वमन्त्रीहरू प्रदीप ज्ञवाली र शंकर कोइराला, प्रतिनिधिसभा सदस्य रघुजी पन्त, ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सचिव देवेन्द्र थुम्केली, बाल साहित्य समाजका अध्यक्ष साहित्यकार प्रमोद प्रधान आदिले यो पुस्तकमाथि प्रकाश पार्ने काम गरे । कलाकार के के कर्माचार्य (जन्म ः सन् १९४८)ले भावुक हुँदै आफ्नै जीवनका मार्मिक गाथा सुनाए ।
- के के अर्थात् कान्छाकुमार
कलाकार के के कर्माचार्यको नाम कान्छाकुमार रहनुको कथा पनि भावुक छ । उनका आठ दाजुमध्ये ६ जना बाल्यकालमै बितेर गएछन् । अनि, यो पनि बाँच्छ कि बाँच्दैन भनेर बाबुआमाले के के कर्माचार्यको नामै राखिदिएनछ । यद्यपि कान्छो सन्तान भएकाले उनलाई सबैले घरमा कान्छा भनेर बोलाउँथे । कान्छा मात्रै अलिकति छोटो भयो भनेर एकजना छिमेकीले कुमार पनि थपिदिएका रहेछन् । यसरी उनको नाम कान्छाकुमार कर्माचार्य भएको रहेछ । तथापि उनलाई धेरैजसोले यसैको संक्षिप्त रूप के के कर्माचार्यकै नामले चिन्ने गर्छन् ।
के के कर्माचार्य आधुनिक कलाका स्थापित कलाकार हुन् । सन् ७० को दशकतिर देखापरेका यी कलाकार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा कुलपति पनि बनिसकेका छन् । नेपाल कलाकार समाज (२०४२ सालमा कलाकारको ठुलो भेलाले जन्माएको एउटै मात्र राष्ट्रिय कला संस्था)को अध्यक्ष बनिसकेका कर्माचार्यको कला र साहित्यसम्बन्धी अन्य थुप्रै संस्थामा संलग्नता थियो र छ । यी सब कुरा पुस्तकमा विस्तारमा देखिँदैन । यो पुस्तक ‘भाग १’का रूपमा ल्याइएको छ र यसको अर्को भाग छिटै आउने भनिएको छ । त्यसो हुँदा अर्को भागमा कलाकार कर्माचार्यको जीवनीको विभिन्न आयाम आउने अपेक्षा गर्न सकिन्छ ।
नेपाली आधुनिक कलाको पहिलो दशकमै प्रभावशाली कलाकारका रूपमा उदाएका कलाकार कर्माचार्यले कति संघर्ष गरे भन्ने आफ्नो ठाउँमा छ, विशेष अर्थ त उनका कलाले राख्छ, उनले कला क्षेत्रमा आफूलाई स्थापित नगरेको भए उनले जीवनमा भोगेका दुःखका कथा त्यसै हराएर जाने थिए । तथापि यो पुस्तकले कलाकारको संघर्षको कथालाई दस्ताबेजीकरण गरेको छ ।
नेपालमा कोलाजको शुभारम्भ गर्ने कलाकारका रूपमा पनि उनलाई लिइन्छ । यसबाहेक दृष्टान्त चित्रमा उनको निकै गहिरो सम्बन्ध छ । बाल्यकालदेखि नै ग्राफिक कम्युनिकेसनमा गजबकै दख्खल थियो उनको । सरल स्वभावका कर्माचार्य लामो समय हुलाक विभागमा टिकट डिजाइन गर्ने जागिरे पनि भए । नेपालमा सबैभन्दा बढी टिकट डिजाइन गर्नेमा उनै पर्छन् ।
दृष्टान्त चित्रका उनी मानिएका कलाकार हुन् । सयौँ पुस्तकमा दृष्टान्त चित्र बनाएका यी कलाकारले अहिले पनि युवा गतिमै कला बनाउने गर्छन् । कला कार्यशालामा घन्टौँ उभिएर चित्र बनाइराखेका देखिन्छन् । हिजोआज उनी बढी मात्रामा अमूर्त कला बनाउँछन् ।
यथार्थवादी रूपमा उनले बनाएका व्यक्तिचित्र र दृश्यचित्र साह्रै अब्बल छन् । यस विधामा उनलाई नाघ्ने थोरै कलाकार मात्र होलान् । सिर्जन कलादेखि व्यावसायिक कलामा पोख्त उनीजस्ता कलाकार नेपालमा बिरलै पाइन्छन् । एकातिर यथार्थवादी शैलीमा प्रखर शिल्प भएका र अर्कोतिर त्यत्तिकै सबल रूपमा अमूर्त चित्र पनि बनाउन सक्ने उनीजस्ता कलाकार पनि कमै देखिन्छन् । यो उनको विलक्षण प्रतिभा नै हो । यस पुस्तकमा उनले आफूले भोगेका क्षणलाई आफैँले दृश्यमा ल्याएका छन्, यसो हुँदा चित्रले वास्तविक कथा बोलेको भान हुन्छ ।
- संवादको अप्ठेरो
यस पुस्तकमा कलाकारको जीवनमा घटेका मुख्य–मुख्य घटनालाई संवादका रूपमा प्रस्तुत गरिएको छ । संवाद नै संवादबाट घटनालाई प्रस्ट्याउन अलिकता अप्ठेरो पनि हुँदो हो । यस कारण पनि अचानक उठेका संवाद अचानक सकिएको जस्तो लाग्छ ।
एउटा खण्डको संवाद सकिएपछि नितान्त अर्कै खण्डको संवाद सुरु हुन्छ । खण्ड–खण्डहरूको सम्बन्ध त छ तर कथाले सिलसिला समातेको देखिँदैन । घटनाबिचको समन्वय पनि अलिकता खुकुलो भएको जस्तो देखिन्छ । पुस्तकलाई समग्रमा हेर्दा थुप्रै लघु नाटकहरूको सँगालो जस्तो पनि लाग्छ । तैपनि हेर्दै र पढ्दै जाँदा कलाकारको बाल्यकालको जीवनलाई सर्लक्क नै बुझिन्छ । यसलाई लेखक आचार्यको आफ्नै विशेषता मान्न सकिन्छ ।
घटना अनुसार चित्र बन्दा भने एक चित्रपछि आएको अर्को चित्रबिचको तालमेल नमिलेको कुनै सन्दर्भ देखापर्दैन । धेरैजसो पुस्तकमा यस्तायस्तै दृष्टान्त चित्र यसरी नै देखापर्ने हुँदा पाठकलाई असजिलो महसुस हुँदैन । आवरणमा भुइँमा बसेर चित्र कोरिरहेको बालकको चित्र राखिएको छ, यसले कलाकारको समग्र कथा बोकेको जस्तो लाग्छ ।
एउटा चित्रमा स्कुलमा पिटी खेलाइराख्दा बालकको अनुहारमा दिक्क लागेको भाव सुहाउँदो प्रकारले ल्याइएको छ । यो चित्रले पनि एउटा लामो कथा लिएर आएको जस्तो देखिन्छ । अक्षरले भनेको कुरा अझ शक्तिशाली रूपमा चित्रले बोलिदिँदा यो पुस्तक अझ आकर्षक बनेको देखिन्छ ।
पुस्तकको शुभारम्भ कलाकारको बुवाको संवादबाट हुँदा अनौठोजस्तो लाग्छ, तर पढ्दै जाँदा सिलसिला मिलेकाले कुरा बुझिँदै जान्छ । एउटा सानो बालकले भुइँमै चित्र कोर्दै गरेको, चित्र बनाउन कागज चोरेकोदेखि बालकलाई खुसी पार्न बुबाले नयाँ जुत्ता किनेको अनेक प्रसङ्ग पुस्तकमा देखिन्छन् । यी सबै घटनालाई कलाकारले चित्रद्वारा राम्ररी न्याय गरेको देखिन्छ ।
कथा आफैँ मार्मिक हुँदै जाँदा यसले एउटा लय समातेको देखिन्छ । अझ अक्षरले भन्न बिर्सेको कुरा चित्रले भनिदिएपछि घटनाहरूका बिच तादात्म्यता भएकै देखिन्छ । मात्र ३२ पृष्ठको योे पुस्तक चिल्लो मोटा कागज र आकर्षक चित्र हुँदा सानोजस्तो लाग्दैन ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)