अस्ट्रेलिया अवार्ड पाएका १८ नेपाली विद्यार्थी अध्ययन गर्न अस्ट्रेलिया जाँदै

काठमाडौँ । अस्ट्रेलिया अवार्ड पाएका १८ नेपाली विद्यार्थी अध्ययन गर्न अस्ट्रेलिया जाने भएका छन् । सन् २०२५ को अस्ट्रेलिया अवार्ड छात्रवृत्ति प्राप्त गरेका ती विद्यार्थीहरू आगामी जनवरीमा अध्ययनका लागि अस्ट्रेलिया जना भएका हुन् ।
छात्रवृत्ति पाउने विद्यार्थीहरूले सार्वजनिक नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्र, कृषि विज्ञान, पर्यावरण व्यवस्थापन, विकास अध्ययन, प्रविधि र मानव अधिकार जस्ता विषयहरूमा अस्ट्रेलियाका विश्वस्तरीय विश्वविद्यालयहरूमा स्नातकोत्तर तहको अध्ययन गर्नेछन् । सन् १९९० को दशकदेखि हालसम्म १,२०० भन्दा धेरै नेपालीहरूले अस्ट्रेलिया अवार्ड छात्रवृत्ति मार्फत अध्ययन गरेका छन् ।
अस्ट्रेलिया अवार्ड प्राप्त गर्ने विद्यार्थीहरूलाई अस्ट्रेलियामा पढाई अवधि भर सहयोग हुनेछ । यसमा पढाई शुल्क, हवाई टिकट, बसोबास खर्च र स्वास्थ्य वीमा आदि पर्दछन् ।
आगामी वर्षको अस्ट्रेलिया अवार्ड छात्रवृत्तिको आवेदन फेब्रुअरी २०२५ मा खुल्नेछ । ती विद्यार्थीहरूलाई अस्ट्रेलियाली राजदूत लियन जोनस्टन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका निमित्त सचिव वैकुण्ठप्रसाद अर्यालले बधाई दिएका छन् । शुक्रवार आयोजित एक कार्यक्रममा उनीहरूलाई बधाई दिइएको हो ।
अस्ट्रेलिया अवार्ड छात्रवृत्तिमा अस्ट्रेलिया सरकारको लगानी रहेको छ । यसले उच्च नेतृत्व क्षमता भएका विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धान गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । यसले विद्यार्थीहरूलाई नयाँ सीप हासिल गर्ने र ज्ञान र सम्पर्क सञ्जाल सृजना गरेर नेपालको आर्थिक र सामाजिक विकासमा र अस्ट्रेलिया र नेपालको सम्बन्ध बिस्तारमा सहयोग पुर्याउन अवसर प्रदान गर्दछ ।
निमित्त शिक्षा सचिव अर्यालले अस्ट्रेलिया अवार्ड छात्रवृत्ति केवल छात्रवृत्ति मात्र नभई नेपाल र अस्ट्रेलिया बिचको सिकाई र सहकार्यको साँघु रहेको बताए ।अध्ययन गरेर नेपाल फर्केपछि स्वास्थ्य सेवाको सुधारमा, शिक्षाको विकासमा, नवप्रवर्तनको प्रवर्धन गर्न वा सामाजिक न्यायलाई बढवा दिन कसरी योगदान गर्न सकिन्छ भन्ने बारेमा पनि सोच्न अनुरोध गरे ।
उक्त कार्यक्रममा अस्ट्रेलियाली राजदूत जोन्स्टनले समावेशी नेतृत्व विकासमा अस्ट्रेलियाली सरकारको प्रतिबद्धता व्यक्त गरे । अस्ट्रेलिया अवार्ड ले सामाजिक समावेशितामा केन्द्रित रही सबैलाई छात्रवृत्तिको अवसर प्रदान गर्ने उनको भनाई थियो । सन् २०२५ को अस्ट्रेलिया अवार्ड छात्रवृत्ति प्राप्त गर्नेहरु मध्ये ६० प्रतिशत विद्यार्थीहरू परम्परागत रूपमा सीमान्तकृत समुदायको रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
-
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
-
सबै राजावादीहरू एउटै मञ्चमा
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?