काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपीएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ ।
एनपीएलमा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ । विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो । भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन् । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपीएल निकै चर्चामा आएको हो ।
आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् ।
जनकपुरले एनपीएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ । जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।
जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् । दासानायकेले सुरुआतमा सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यसदौरान उनकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । त्यस्तै नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलोदशमा भएको विश्वकपमा सहभागितासमेत जनाएको थियो । उहाँकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोटल्स विश्वस्त रहेको छ ।
विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् । टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् । उक्त खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रशारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ ।
प्रतिक्रिया