शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल

शुक्रबार, १४ मङ्सिर २०८१, २१ : ५९
शुक्रबार, १४ मङ्सिर २०८१

काठमाडौँ । बागमती प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन तथा व्यवस्थापनका विषयमा विश्व विद्यालय अनुदान आयोगसँग छलफल गरिएको छ । प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षा व्यवस्थापनको विषयमा मुख्यमन्त्री बहादुर सिंह लामाको समूहले आयोग पदाधिकारी र विज्ञहरूसँग छलफल गरेको हो । 

काठमाडौँमा भएको छलफल विश्वविद्यालयको पाठ्यक्रम तथा दीर्घकालीन सञ्चालनका विषयमा केन्द्रित रहेको थियो । विश्वविद्यालयको व्यवस्थित, मर्यादित, आधुनिक, वैज्ञानिक र प्रविधिमैत्री शिक्षालाई पाठ्यक्रमसँग जोड्दै युवा पुस्ताको माग र आवश्यकताको शिक्षा प्रणाली निर्माणका विषयमा छलफल भएको थियो । 

विश्वविद्यालयको स्थायित्व, शिक्षा प्रणाली, विद्यार्थीको आवश्यकता र उत्पादन तथा व्यवस्थापनमा उक्त छलफल केन्द्रित रहेको थियो । व्यवहारिक शिक्षा प्रणाली विकास तथा व्यावसायिकतामा आधारित सीपमूलक शिक्षा प्रदानमा विश्वविद्यालयले योजना निर्माणका विषय छलफल भएको थियो । 

छलफलका क्रममा बागमती विश्वविद्यालय संरक्षक समितिका अध्यक्ष चन्द्रमणि पौडेलले आयोगको मापदण्ड अन्तर्गत रहने प्रक्रिया, नयाँ कलेजहरूको सम्बन्धनका बारेमा जिज्ञासा राखेका थिए । उनले नयाँ विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालयका कलेजहरू समाहित गर्ने तथा सो कलेजको ट्रान्समिसनको प्रक्रिया मिलान विषयमा धारणा राखेका थिए ।

छलफलमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा देवराज अधिकारीले प्रदेश विश्व विद्यालय गठनका समयमा समन्वय नगरेको बताए । जसका कारण आयोगले विश्व विद्यालयलाई आवश्यक विषय सुरुवाती चरणमा योजना तयार गर्न नसकेको उनले बताए ।

सबै विश्वविद्यालयको गुणस्तर हेर्ने काम आयोगको भएकाले बागमती विश्वविद्यालयलाई आयोगको ऐनले समेट्न नसक्ने उनको भनाई थियो । आयोगको ऐन संशोधन भएको खण्डमा मात्र अनुदान तथा अन्य विषयमा बागमती विश्व विद्यालयलाई समेट्न सकिने उनले बताए ।

छलफलमा नीति तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष प्राडा लेखराज शर्माले सम्बन्धन वितरणको मोह विश्व विद्यालयले त्याग्नुपर्ने धारणा व्यक्त गरे । आयोगले पहिचान गर्ने प्रक्रियामा अघि बढ्नु र आवश्यक कानुनी प्रबन्ध गर्न जरुरी रहेको उनले औँल्याए । प्रविधिको उच्चतम प्रयोग तथा वैज्ञानिकतालाई प्राथमिकतामा राखेर अघि बढ्न उनले सुझाव दिए । 

छलफलमा प्रदेशकी  सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, प्रदेश सरकारका प्रमुख सचिव हरि लम्साल,  शिक्षाविद् प्राडा मनप्रसाद वाग्ले, प्रदेश विश्वविद्यालय संरक्षक समितिका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, उपाध्यक्ष कुसुमराज सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप