सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

राजनीतिको ‘वामपन्थी’ रुझान

मङ्गलबार, ०८ जेठ २०७५, १२ : ४३
मङ्गलबार, ०८ जेठ २०७५

नवनिर्मित नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइन) का एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषामा ‘ड्याङ्ङै’ भएको नेकपा एमाले र माकेको एकीकरणपश्चात् प्रधानमन्त्री केपी ओलीले ‘अब यो मुलुकमा अरू कसैले शासन गर्ने सोच नराखे हुने’ अभिव्यक्ति दिए । यसअघि गठबन्धनसहित चुनावी मैदानमा उत्रिएको ‘वाम गठबन्धन’का शीर्ष नेताहरूको चुनावी अभिव्यक्ति थियो– ‘अबको ५० वर्षसम्म नेपालमा कम्युनिस्टले शासन गर्नेछ’ । यी अभिव्यक्तिले पार्टी एकतासँगै संसदमा गणितीय शक्ति प्राप्त गरेको नेकपा (अ) का शीर्ष नेताहरूको सत्ता महत्वकाङ्क्षा र दम्भ बढ्न गएको छनक दिन्छ । तर लोकतन्त्रको स्वास्थ्यका लागि यस्तो अभिव्यक्ति हितकर हुँदैन ।

विगत लामो समयदेखि नेपाली राजनीतिमा जुन अस्थिरता छ, मूलतः त्यो अस्थिरता विकास र समृद्धिको बाधक हो । त्यसैले त्यो अस्थिरताको अन्त्यका लागि नै एउटा बहुमत प्राप्त शक्तिशाली सरकार आवश्यक महसुस हुन गयो । त्यसको पूर्तिका लागि नेकपा (अ) को निर्माणको पुष्टि नेताहरूले दिइरहेका छन् । तर बढी हौसिएर वर्षौं अझ दशकौं शासन गर्ने ख्वाब पाल्नु उचित होइन । किनकि यस्ता अभिव्यक्तिले सामान्य लोकतान्त्रिक संस्कार अनि मूल्य मान्यतालाई पनि नजरअन्दाज गरेको छ । पार्टी एकताकै विषयमा पनि यति सारो पुलकित भएर अभिव्यक्ति दिनु उचित हुँदैन । किनकि नेपालका कम्युनिस्टहरूको राजनीतिक इतिहास पार्टीहरूको गठन र विघटनकै पुलिन्दा बढी हो ।

लोकतन्त्रमा २०औं वर्ष कुनै अमूक दलको एकलौटी शासन चल्न सक्दैन । यहाँ राजनीतिक अस्थिरता भयो भन्नुको अर्थ कुनै प्रकारको तानाशाह जरुरी छ भनेको होइन । व्यवस्था र पद्धतिमा चल्ने, लोकतान्त्रिक पद्धतिअनुसार निश्चित समयसीमामा मात्र अदलबदल हुने प्रकारको राजनीतिक स्थिरता चाहिएको हो हामीलाई । स्थिरताको नाउँमा कुनै अधिनायकवादी शासन होइन । अनि कुनै अमूक दल वा दलीय गठबन्धनले ल्याएको चुनावी मतपरिणामले मात्र यो कुराको निर्धारण हुँदैन । यसका लागि दलहरूकै लोकतान्त्रीकरण र उन्नत राजनीतिक संस्कार विकास हुनु जरुरी हुन्छ । साथै प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रमा आधारित शासन व्यवस्था हुनुपर्छ ।

नेपालको अविकासको बाधक राजनीतिक अस्थिरता मात्र होइन, शासकीय संरचना र चिन्तन पनि हो । हाम्रो विकासको चिन्तन अझै पनि खुद्रे र टुक्रे नै छ । हामीले समष्टिगत दृष्टिकोणबाट सोच्नै सकेका छैनौं । अनि विकासका लागि दलीय आग्रह पनि आफू सत्तामा रहँदासम्मको मात्रै हुने गरेको छ । त्यस्तै विगतको राजनीतिक अभ्यास पनि उति अनुकरणीय देखिँदैन । हाम्रो विगतले देखाउने तथ्य के हो भने यो संसदीय व्यवस्थामा कुनै अमूक पार्टी वा दलीय गठबन्धनको बहुमत पनि लामो समय टिक्ने छैन । 

यसर्थ यहाँ समस्या शासकीय स्वरूपमै छ । अब साँच्चिकै राजनीतिक स्थायित्व कायम गरी देशलाई विकास, समृद्धि र प्रगतिको दिशातर्फ अग्रसर गराउने हो भने शासकीय स्वरूपमा बदलाव आउनैपर्छ । यसका लागि आम नागरिकले प्रत्यक्ष मतदानबाट चुनिने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली अवलम्बन गर्नुपर्छ । तर चुनावअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत गर्ने वाम गठबन्धनका दलहरू चुनावयता भने यो मुद्दा उठाउन लजाइरहेका छन्, किन ? किनकि त्यसले अङ्कगणितका आधारमा सरकारमा पुग्ने बाटो सदाका लागि बन्द गरिदिन्छ । 

चुनावमा वामपन्थी गठबन्धनको बहुमत आएसँगै बढेको वामपन्थी राजनीतिको रुझान पार्टी एकतापछि थप बढेको छ । साथै नागरिकको मतादेशले पनि वामपन्थी राजनीतिको लोकप्रियता भने बढिरहेकै देखाउँछ । जहाँसम्म ‘वामपन्थी’ लाइनको सवाल छ, हाम्रो हकमा यो अहिले आफैमा गलत भाष्यको शिकार भएको हो । किनकि यहाँ एकातिर साम्यवादी लक्ष्य बोकेका कम्युनिस्ट नामधारी पार्टीहरूले नै ‘वामपन्थी कार्यदिशा’ अवलम्बन गर्न सकेका छैनन् । 

वामपन्थी राजनीति (लेफ्ट विङ्ग पोलिटिक्स) को शाब्दिक अर्थ हुन्छ, सामाजिक रूपले प्रचलित सोपानक्रम (सोसियल हाइरार्की) र सामाजिक असमानता (सोसियल इनइक्वालिटी) का विरुद्ध सामाजिक समानता (सोसियल इक्वालिटी) र समानतावादी सिद्धान्त (इक्वालिटेरियनिज्म) को पक्षपोषण गर्ने राजनीति नै वामपन्थी राजनीति हो । वामपन्थ शब्दको जन्म विश्व कम्युनिस्ट आन्दोलनबाट भएको होइन । यो शब्द फ्रान्सेली राज्यक्रान्तिको गर्भबाट निस्किएको हो । 

फ्रान्सको राज्य क्रान्ति (सन् १७८९–१७९९) ताका त्यहाँको व्यवस्थापिका एवम् परामर्श सभा (स्टेट जेनेरल) का सदस्यहरूको बसाइको दिशालाई आधार मानेर राजनीतिमा ‘वाम’ र ‘दक्षिण’ अर्थात्, ‘लेफ्ट’ र ‘राइट’ शब्दको प्रादुर्भाव भएको देखिन्छ । यद्यपि त्यो सभासँग कुनै विशेष अधिकार भने थिएन र त्यसले केवल तत्कालीन फ्रान्सका राजालाई औपचारिक रूपले सल्लाह दिने काम मात्र गथ्र्याे । त्यो बेला जो राजतन्त्रको विरोध गर्दथे र राज्यक्रान्तिलाई समर्थन गर्दथे, तिनीहरू देब्रेतिर अर्थात् ‘लेफ्ट रो’मा बस्दथे भने पारम्परिक शासन व्यवस्था र पुरानो सत्तालाई समर्थन गर्नेहरू दक्षिण अर्थात् ‘राइटर रो’मा बस्दथे । त्यहीँबाट लेफ्ट शब्द राजनीतिमा प्रवेश भएको हो । यसर्थ, लेफ्ट अर्थात् वामसँग कम्युनिस्ट शब्दको कुनै प्रत्यक्ष सम्बन्ध देखिँदैन । 

त्यसो भए नेपालका कम्युनिस्टहरूले किन यो शब्दलाई प्रयोग गरे ? नेपालमा गैरकम्युनिस्ट धारको परिवर्तनकारी शक्ति नभएकै कारण वामपन्थलाई कम्युनिस्टहरूले उपयोग गरेको देखिन्छ । यसर्थ, तत्कालीन शासन व्यवस्था अर्थात् विद्यमान ‘स्टाटस् क्यो’को विरुद्ध उभिनु नै वामपन्थी अर्थात् लेफ्ट हुनु हो । यो व्याख्यालाई आधार मानेर हेर्दा नेपालको राजनीतिमा जजसले विद्यमान सत्ताको विरुद्ध सङ्घर्ष गरे, ती सबै वामपन्थी हुन् । वामपन्थी हुनु भनेको अग्रगामी हुनु हो । अग्रगमनका कुरा गर्नु हो, अगाडिको कुरा गर्नु हो । अनि प्रगतिशील सोचाइ र चिन्तन राख्नु हो । समाजमा समानताको कुरा गर्नु, विभेदको अन्त्य गर्ने कुरा गर्नु, सबैलाई समान अधिकारको पक्षपोषण गर्नु, समाजको पिँधमा रहेका मानिसको आवाज बुलन्द पार्नु, राज्यको निरङ्कुश चरित्रको विरुद्ध सङ्घर्ष गर्नु नै वामपन्थी राजनीतिको कार्यदिशा हो । यसर्थ, वामपन्थ आमूल परिवर्तन र सुधारको पक्षमा उभिने एवम् समाजवादको कुरा गर्ने शक्ति हो । 

वामपन्थी राजनीतिको यो मानकमा हेर्दा तत्कालीन नेकपा एमालेले खासगरी २०४६ यता आफैले यो कार्यदिशाको अगुवाइ गरेको छैन । तत्कालीन अवस्थामा मदन भण्डारीले जनताको बहुदलीय जनवादको पदावलीसँगै यो कार्यदिशाको अगुवाइ गर्ने जमर्को गरेका थिए । तर उनको अप्रत्यासित र रहस्यमय निधनसँगै उनले परिकल्पना गरेको जबज कार्यान्वयनको तहमा आउन पाएन । पछिको नेतृत्वले यसलाई केवल संसदीय राजनीतिमा प्रवेश गर्ने औजारकै रूपमा अथ्र्यायो र केही पपुलिस्ट कामबाहेक मुलुकको अर्थराजनीतिक रूपान्तरणमा नयाँ दिशाबोध दिन भने सकेन । अनि २०६३ यताको परिवर्तनमा एमालेले आफ्नै अगुवाइमा वामपन्थी कार्यदिशाको प्रयोग गरेको होइन । त्यो आन्दोलनमा माओवादी प्रभाव बढी हो र नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अडान र व्यक्तित्व बलशाली भएको हो । खासमा एमाले गिरिजाप्रसाद कोइरालाको पछिपछि हिँडेको हो भन्ने थाहा पाउन धेरै मिहिनेत गर्नुपर्दैन । त्यो बेलाको छापा नियाले पुग्छ ।

हो, वामपन्थी कार्यदिशाको परिभाषाभित्र हेर्दा बीपी कोइराला तत्कालीन समयका सबैभन्दा प्रखर वामपन्थी नेता थिए भन्न सकिन्छ । उनले २००७ सालमै तत्कालीन राणाशाही विरुद्ध कठोर सङ्घर्षमा भाग लिए । २००७ साल अगाडि नै थुनामा रहेका अनसनरत बीपी कोइरालाको स्वास्थ्य कमजोर भएपछि उनलाई रिहा गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री मोहन शमशेरबीचको एउटा संवादमा मोहन शमशेर सोध्छन्– ‘अनि, तिमीहरूले गाथ गादी ताक्न खोजेका होइनौँ ?’ प्रश्नको जवाफमा बीपी भन्छन्– ‘होइन । यहाँ सरकारै राज होइबक्सन्छ तर हामीलाई नागरिक अधिकार चाहिन्छ र यो सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ ।’ यसबाट पनि के पुष्टि हुन्छ भने त्यो बेला राणाविरुद्ध सशस्त्र सङ्घर्षको सङ्खघोष गर्ने बीपीको राजनीतिक लाइन निःसन्देह वामपन्थी लाइन हो । 

‘वामपन्थ’ केवल राजनीतिक कार्यदिशा हो, यो कुनै वाद या दर्शन होइन । जसले समाजमा प्रगतिशील विचार राख्छ र समाजलाई परिवर्तन गर्नुपर्ने आवश्यकता बोध गर्छ, त्यो राजनीतिक पार्टी स्वतः वामपन्थी हुन जान्छ । काङ्ग्रेसले २००७ सालमा राणा शासनविरुद्धको राजनीतिक सङ्घर्षको अगुवाइ ग¥यो, त्यसैले त्यो बेला काङ्ग्रेस वामपन्थी पार्टी हो । त्यस्तै २०४६ सालमा पनि पञ्चायती व्यवस्था अर्थात् तत्कालीन राजनीतिक व्यवस्था फेर्ने आन्दोलनको अगुवाइ ग¥यो, फेरि पनि काङ्ग्रेस वामपन्थी नै भयो । अनि माओवादीको जनयुद्ध अनि त्यसयता लोकतन्त्रका लागि सबै दलको सहभागिता वामपन्थी कार्यदिशा हो ।

तर हामीले वामपन्थी राजनीतिको जुन भाष्य निर्माण ग¥यौं र यो शब्दलाई कम्युनिस्ट कित्तामा धकेलिदियौं त्यो गलत भयो । किनकि यहाँ आवरणमा कम्युनिस्ट त धेरै छन् तर साँच्चिकै कम्युनिस्ट छैनन् । हो, कम्युनिस्ट नाम गरेका पार्टीहरू भने प्रशस्त छन् । यदि कम्युनिस्ट विचारधाराकै कुरा गर्ने हो भने त्यो एउटा छुट्टै दर्शन हो, जुन दर्शनले कम्युनिस्ट समाजको निर्माण गर्ने लक्ष्य बोकेको हुन्छ, जसमा आर्थिक एवम् सामाजिक उत्पादनका साधानहरूमाथि राज्यको स्वामित्व रहन्छ । त्यस्तै उत्पादन र वितरण प्रक्रियामा बजारको कुनै भूमिका रहँदैन । अर्थात् बजारको अस्तित्व हुँदैन । त्यस्तो समाज जसमा समाजिक वर्ग, धन र राज्यको समेत अस्तित्व हुँदैन । त्यो कम्युनिस्ट शासन हो । अर्थात् कम्युनिस्ट पार्टीको राजनीतिक गन्तव्य हो । 

तर जीवन व्यवहारमा त्यस्तो प्रणालीको सम्भावना कमै देखिन्छ । किनकि हरेक व्यक्ति निजत्वसहितको सामाजिक प्राणी हो । यसर्थ व्यक्तिको निजत्वलाई निषेध गरेर कुनै पनि समाज अब अगाडि बढ्न सक्दैन र त्यसले कुनै प्रगति गर्न सक्दैन । अनि यहाँका कम्युनिस्टहरूको यही नै सबैभन्दा ठूलो असङ्गति हो । उनीहरू जे होइन र हुँदैन त्यसैमा राजनीति गरिरहेका छन् । अनि जे हो र सकिन्छ त्यसलाई सार्वजनिक रूपमा स्वीकार गर्न सक्दैनन् । परिणामतः समाज फेर्ने कुरा गर्छन् तर समाज जसरी चलेको छ आफू त्यही ढाँचामा रूपान्तरित भइदिन्छन् । यो नै अहिलेको टड्कारो रूपमा देखिएको असङ्गति हो । 
नेपालको भूराजनीतिक अवस्था र हाम्रो समाजको अर्थराजनीतिक चरित्रले प्रतिविम्बित गरेको तथ्य चाहिँ नेपालमा न त शास्त्रीय ढङ्गको कम्युनिस्ट शासन नै सम्भव छ, न त अब फेरि कुनै प्रकारको तानाशाही व्यवस्था नै । अब आफूलाई कम्युनिस्ट हुँ भन्नेहरूले पनि यो बुझ्नुपर्छ कि कम्युनिस्ट हुनु र वामपन्थी हुनु एउटै कुरा होइन । त्यसकारण यहाँ वामपन्थी चरित्रको समाजवादी शक्ति आवश्यक छ ।

यसले बदलिँदै गएको विश्व राजनीतिको डाइनामिक्स र मान्छेका चाहनालाई सम्बोधन गर्ने गरी राजनीति गरोस् । अनि त्यस्तो राजनीतिले केवल कार्यकर्ता र फलोअर होइन, सचेत नागरिक जन्माओस् । अनि सचेतन ढङ्गले प्रश्न गर्ने, प्रगतिशील सोच राख्ने, समाजमा सधैं परिवर्तन चाहने निर्भिक र स्वनिर्णित नागरिक नै साँचो अर्थमा वामपन्थी हुन्, न कि कुनै अमूक कम्युनिस्ट नामधारी दलका नेता वा कार्यकर्ता ।
[email protected]
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनिकर कार्की निवर्तमान
मनिकर कार्की निवर्तमान

Twitter : @nibartaman

[email protected]

लेखकबाट थप