शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म

शुक्रबार, १४ मङ्सिर २०८१, २२ : ००
शुक्रबार, १४ मङ्सिर २०८१

आज मिति २०८१ साल मंसिर महिनाको १४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. सहकारी ठगी प्रकरण–रविको बयान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाताको विवरण प्रहरीले संकलन गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको लागि प्रहरीले उनीहरुले बैंक खाताको विवरण संकलन गरेको हो ।

सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गर्न भन्दै अदालतबाट म्याद लिएर थुनामा राखेको छ ।

 

यसैबीच लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौँमा आजको बयान सकिएको छ । उनलाई पोखराबाट बिहीबार काठमाडौँ ल्याइएको थियो ।

 

२. प्रधानमन्त्रीको चीन भ्रमण

मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा निजी क्षेत्रको प्रतिनिधित्व उल्लेख्य रूपमा हुनेछ । जसमा ४८ जना, उद्योगी व्यवसायी सहभागी हुनेछन् ।

 उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कर्मससँग आवद्ध र ऊर्जासँग सम्बन्धित उद्योगी, व्यवसायी टोलीमा हुनेछन् । त्यसैगरी चीन–नेपाल आयात, निर्यातको व्यापार गरिरहेका केही व्यवसायीसमेत सहभागी हुने जानकारी गराइएको छ ।

३. उपनिर्वाचन

स्थानीय तह उपनिर्वाचनको मौन अवधिमा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने गरेको पाइएको छ । निर्वाचन आयोगले काठमाडौँका ६ जना उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेको भेटेपछि स्पष्टीकरण सोधेर छाडेको छ ।

आइतबार हुने उपनिर्वाचनका लागि बिहीबार मध्यरातबाट ‘मौन अवधि’ सुरु भएको छ ।

४. मौद्रिक नीति समीक्षा

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्‍यो । प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने व्यवस्था अनुसार अन्तिम दिन राष्ट्र बैंकले मौद्रिक समीक्षा सार्वजनिक गरेको हो ।

शनिबारसम्म नीति सार्वजनिक गर्नुपर्ने भए पनि भोलि बिदा भएका कारण समीक्षाको लागि आज नै अन्तिम दिन थियो ।

मौद्रिक नीतिको समीक्षा गरे पनि राष्ट्र बैंकले यस पटक कुनै पनि परिवर्तन गरेन । सात पृष्ठ र ३८ बुँदामा सार्वजनिक गरिएको समीक्षामा नीतिगत व्यवस्था शीर्षक अन्तर्गत दुई बुँदा उल्लेख त गरिएको थियो, तर दुवैले विद्यमान व्यवस्था यथावत् राखेको मात्रै उल्लेख गरेको छ । राष्ट्र बैंकका उपनिर्देशक भागवत आचार्य तीन महिनाको समीक्षाले मौद्रिक नीतिको दिशा सही बाटोमा गइरहेको देखिएकोले यस पटकको समीक्षामार्फत कुनै पनि नीतिगत परिवर्तन नगरिएको बताउँछन् ।

५. मानव तस्करी प्रकरण

जिल्ला अदालत काठमाडौँले नक्कली कागजात तयार गरेर जापानमा मानव बेचबिखन तथा ओसार पसार गरेको अभियोगमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी जोडिएको यो मुद्दामा पक्राउ परेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई थुनामा पठाउने  आदेश गरेको हो।

 

६. माओवादीको परिपत्र

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर मसान्तभित्र सबै स्थानीय तह (पालिका)मा सम्मेलन सक्न भन्दै परिपत्र पठाएको छ । मंसिर १२ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको निर्णयअनुसार माओवादीले कार्यविधि बनाएर मातहतका समितिलाई परिपत्र पठाएको हो ।

गत कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले पार्टीको स्थानीय तहको सम्मेलन गर्ने निर्णय गरेको थियो ।

७. भारत भ्रमणको तयारीमा प्रधानसेनापति

नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा त्यति सुमधुर हुन नसकेको अवस्थामा दुवै देशका सेनाबिच भने उच्चस्तरीय भ्रमण आदानप्रदान बढ्न थालेको छ ।

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले हालै नेपाल भ्रमण गरेका थिए । अब चाँडै नै नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत भ्रमणमा जाने बताइएको छ ।

८. नक्कली भ्याट प्रकरण

नेपालमा पेप्सी, माउन्टेन ड्यू, मिरिण्डा, सलाइस लगायतको आधिकारिक उत्पादक तथा विक्रेता वरुण वेभरेज (नेपाल) प्रालिका सञ्चालकहरूले नै कर छली गरेको भनी बयान दिएको पाइएको छ ।

उनीहरुले कर छली गरेको अनुसन्धान अधिकृतसमक्ष स्वीकार गरेका छन् । कम्पनीमा वित्तको जिम्मेवारी पाएका प्रविनकुमार अग्रवालले आफूभन्दा पहिले यो जिम्मेवारीमा अर्का सञ्चालक अमितकुमार गुप्ता रहेको र अनुसन्धान प्रक्रिया सुरु हुनुभन्दा पहिले नै उनको राजीनामा स्वीकृति भएको बताएका छन् । अग्रवालले आफूले वरुण वेभरेजको खरिद, वित्त, लेखा, कर तथा भण्डारण लगायत जिम्मेवारी निभाउँदै आएको बयान दिएका छन् ।

९. प्रसाईंको बयान

 मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एउटा टेलिकम कम्पनीमा लगानी रहेको भनेर सार्वजनिक गरेको कागजात ‘झुटो’ भएको स्वीकार गरेका छन् । केन्द्रीय साइबर ब्यूरोका अनुसन्धान अधिकृतहरूलाई बयान दिँदै उनले सो कागजात झुटो रहेको स्विकारेका हुन् ।

१०. एनपीएल

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सहभागी आठ ओटै टोलीका कप्तानहरूले आफूहरू प्रतियोगिताका लागि तयार रहेको बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार नेपाल क्रिकेट संघद्वारा आयोजित कार्यक्रममा कप्तानहरूले आफूहरू उपाधि जित्न लालायित रहेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप