शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

मनमोहन विश्वविद्यालयमा चेक चोरी : २ लाख ६६ हजार रुपैयाँ निकालियो

दुई विद्यार्थी पक्राउ, कर्मचारीको मिलेमतोको आशङ्का
शुक्रबार, १४ मङ्सिर २०८१, १३ : ३४
शुक्रबार, १४ मङ्सिर २०८१

विराटनगर । मोरङको बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका दुई विद्यार्थीलाई चेक चोरी गरेर पैसा निकालेको अभियोगमा पक्राउ गरिएको खुलेको छ । पक्राउ पर्नेमा राजविराज–६ सप्तरीका सुमित सागर यादव र टंकप्रसाद यादव छन् ।

उनीहरूले एकाउन्ट शाखाबाटै १२ थान चेक चोरी गरेका थिए । जसमध्ये ६ वटा चेकमा लेखा अधिकृत जानकी लेखी र कार्यालय प्रमुख सुदिप अधिकारीले हस्ताक्षर गरेका थिए । उक्त चेकबाट विद्यार्थीद्वय यादवले २ लाख ६६ हजार ६९२ रुपैयाँ निकालेको प्रमाणित भएको मोरङ प्रहरीले जनाएको छ ।

हस्ताक्षर गरेको चेक सकिएपछि आफैँ किर्ते गरेर बैंक गएपछि शङ्का लागेर बैंकले विश्वविद्यालयलाई जानकारी दिएको थियो ।

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले लेखा अधिकृतको टेबुलमा कसैलाई दिन भनेर तयार पारेको चेक चोरी भएको पाइएको बताए । ‘कार्यालय प्रमुखको हस्ताक्षर गर्न बाँकी थियो । यी विद्यार्थीहरू लेखामा आउने–जाने गरिरहन्थे । उनीहरूले १२ वटा चेक चोरेछन् । ६ वटामा हस्ताक्षर गरेको चेक थियो । त्यसपछि उनीहरूले चेक साटे,’ जोशीले भने, ‘पछि आफैँ हस्ताक्षर गर्दै चेक काटेर पैसा निकाल्ने प्रयास गरेको रहेछ । त्यसपछि बैंकले थाहा पाएपछि उनीहरुबारे विश्वविद्यालयमा जानकारी आयो र उनीहरू पक्राउ परे ।’

बुधबार उनीहरूलाई पक्राउ गरेर चेक चोरीको केसमा म्याद थप गरी अनुसन्धान भइरहेको जोशीले जानकारी दिए । ‘गत आइतबार चेक साटिएको भन्ने कुरा आएको छ । सायद चेक चोरी पनि त्यही दिन भएको हुनसक्छ,’ जोशीले भने, ‘उनीहरूले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । प्रमाणले पनि देखाइसकेको छ । अहिले चेक चोरी र किर्तेमा मुद्दा जानसक्छ । अहिले चेक चोरीको अभियोग नै मुख्य रूपमा रहने भयो ।’

उता विश्वविद्यालय स्रोतले भने चेक चोरीमा लेखा अधिकृतकै संलग्नता हुनसक्ने दाबी गरेको छ । ‘चेक चोरीको विषयमा जानकारी आएपछि पनि विश्वविद्यालय पदाधिकारीले नै प्रहरीलाई नै अनुसन्धान गर्न रोक लगाएको थियो । तर, अन्तिम समयमा निमुवा प्रहरीले थाहा पाएर कडाइ गरेपछि विद्यार्थी पक्राउ ग¥यो,’ उक्त स्रोतले भन्यो, ‘१० दिन अगाडि नै चेक हराएको हो । न दराज टुटेको छ, न ढोका फुटेको छ । मिलेमतो हुनसक्छ । छाप पनि चोरी गरेको हुनसक्छ । त्यति समयसम्म चेक हराएको विषयमा बैंकलाई जानकारी पनि दिइएन ।’

चोरी भएको चेक एभरेस्ट बैंकको हो । चेक हराएको विषयमा विश्वविद्यालयले बैंकलाई समेत जानकारी दिएको थिएन । उक्त विषयमा कार्यालय प्रमुख अधिकारीले भने आफूहरुलाई चेक हराएको विषयमा एकैचोटी आइतबारमात्रै थाहा भएको बताए । ‘चेक हराएको थाहा भए पनि चोरी भएको विषयमा भने थाहा नहुँदा बैंकलाई जानकारी नदिएको हो,’ अधिकारीले भने । पक्राउ परेका दुई विद्यार्थीलाई भने जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । उक्त चेकमा हस्ताक्षर गर्ने लेखा प्रमुख बोर्ड अफ जस्टिज सत्यनारायण चौधरीकी श्रीमती जानुका लेखी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप