बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

लामो समयसम्म जवान रहन चाहनु हुन्छ ? बिहे गर्नुस्

शुक्रबार, १४ मङ्सिर २०८१, १२ : ४६
शुक्रबार, १४ मङ्सिर २०८१

काठमाडौँ । अविवाहितहरूले स्वतन्त्र रूपमा आफ्नो जीवन बिताउन पाउँछन्, त्यसैले उनीहरू बढी खुसी हुन्छन् भन्ने हाम्रो धारणा छ । अविवाहितहरूले लामो समयसम्म आफूलाई जवान महसुस गर्छन् भनेर पनि हामीले सुन्ने गरेका छौँ । तर हालै प्रकाशित भएको एउटा अनुसन्धान प्रतिवेदनले भने अचम्मको कुरातर्फ औँल्याएको छ । 

अविवाहित पुरुषहरू चाँडै बुढ्यौलीमा पुग्ने र विवाहित पुरुषहरूको अविवाहितहरूको तुलनामा ढिलो बुढो हुने उक्त प्रतिवेदनले देखाएको छ । अर्थात् बिहे नगरी बसेका पुरुषहरू चाँडै बुढो हुने तर विवाहित पुरुषहरू लामो समयसम्म जवान रहने सो अध्ययनले देखाएको छ । 

रमाइलो कुरा चाँहि के छ भने यो कुरा पुरुषमा मात्रै लागू हुन्छ । महिलाहरूमा बिहेको यस्तो प्रभाव पाइदैंन । न्युयोर्क पोस्टमा हालै छापिएको समाचारका अनुसार हालसालै गरिएको एक अध्ययनले अविवाहित पुरुषको तुलनामा विवाहित पुरुषको ढिलो बुढो हुन्छन् । 

यो अध्ययन इन्टरनेशनल सोशल वर्क जर्नलमा प्रकाशित छ । यसमा वैज्ञानिकहरूले ४५ देखि ८५ वर्षका वयस्कहरूको स्वास्थ्य र जीवनस्तर २० वर्षसम्म अध्ययन गरेका थिए ।

उनीहरुको उद्देश्य विवाहले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ र विवाहित व्यक्तिहरू ‘सक्सेसफुली एज्ड’ हुन्छन् कि हुँदैनन् भनेर हेर्नु थियो । यस अनुसन्धानमा शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, सामाजिक जीवन र उमेर सम्बन्धी आत्म–धारणाजस्ता कुराहरूलाई विचार गरिएको थियो । अनुसन्धानमा विवाहित पुरुषहरू कहिल्यै विवाह बन्धनमा नपरेका साथीहरूको तुलनामा बुढ्यौली पछाडि धकेल्न सफल भएको पत्ता लागेको थियो ।

तर यो पनि तिनीहरू जीवनभर विवाहित रहँदा मात्रै सम्भव रहेको पाइएको थियो । उनीहरूको विवाह टुट्यो वा पार्टनरको मृत्यु भयो भने यसले तिनीहरूको बुढ्यौली प्रक्रियामा नकारात्मक प्रभाव पारेका पनि पाइयो । उता, विवाहित महिला र कहिल्यै विवाह नगरेका महिलाहरू उमेरको हिसाबले लगभग समान भेटिए । बिहे गरेर सम्बन्ध विच्छेद गरेका वा श्रीमानको मृत्यु भएका महिलाहरू विवाहित र अविवाहित महिला भन्दा बढी दुःखी भेटिए ।

वैज्ञानिकहरूका अनुसार महिलाहरू एक्लै बस्दा पनि खुसी नै हुन्छन् । तर पुरुषहरूका लागि एक्लै बस्न गाह्रो हुने उनीहरू बताउँछन् । अर्को अध्ययनमा महिलाहरू एक्लै बस्दा बढी सन्तुष्ट हुने र रोमान्टिक सम्बन्धको आवश्यकता कम रहेको पनि पाइयो । यसबाहेक महिलाहरू आफ्नो यौन जीवनमा पनि बढी नै सन्तुष्ट हुन्छन् । एक्ला महिलालाई साथीभाइ र परिवारबाट बढी सहयोग प्राप्त हुन्छ । बिहेपछि भने घरायसी काममा बढी होमिनु पर्ने विज्ञहरू बताउँछन् । विवाहपछि महिलाहरूले आफ्नो यौन सन्तुष्टिलाई बेवास्ता गर्नुपर्ने स्थिति पनि आउन सक्छ ।

विवाहित व्यक्तिहरू एक्लै बस्नेहरू भन्दा स्वस्थ रहने धेरै अनुसन्धानहरूले देखाएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले हालै प्रकाशित गरेको एक प्रतिवेदनमा विवाहले महिलाको मृत्युदर एक तिहाइले घटाउने उल्लेख गरेको छ । विवाहित व्यक्तिको तुलनामा अविवाहित मानिस बढी मानसिक समस्याबाट ग्रस्त हुने नेचर ह्युमन बिहेभियर जर्नलमा आएको अर्को अध्ययन प्रतिवेदनमा पाइएको थियो । विवाहित व्यक्तिहरूको तुलनामा अविवाहित व्यक्तिहरू ७९ प्रतिशत बडी डिप्रेसनबाट पीडित हुने पनि यसले देखाएको थियो । यस्तो खालको जोखिम विधवा महिलामा ६४ प्रतिशत र सम्बन्ध विच्छेद भएका महिलामा ९९ प्रतिशतसम्म भेटियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप