प्रधान सेनापति सिग्देल भारत भ्रमणमा जाने, अग्निपथको बारेमा होला कुरा ?
काठमाडौँ । नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा त्यति सुमधुर हुन नसकेको अवस्थामा दुवै देशका सेनाबिच भने उच्चस्तरीय भ्रमण आदानप्रदान बढ्न थालेको छ ।
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले हालै नेपाल भ्रमण गरेका थिए । अब चाँडै नै नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत भ्रमणमा जाने बताइएको छ ।
सैनिक स्रोतका अनुसार भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंसिरको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न उनी भारत जान लागेको नेपाली सैनिक स्रोतले जनाएको छ ।
नेपालले भारतको र भारतले नेपालको प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने परम्परा छ । सोही अनुसार केही अघि नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।
द्विवेदीले नै प्रधान सेनापति सिग्देललाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । प्रधान सेनापति नियुक्त भएपछि सिग्देलको यो पहिलो विदेश भ्रमण हुनेछ ।
नेपाल र भारतबिचको सम्बन्धमा दरार उत्पन्न भएको समयमा दुवै देशका सेना प्रमुख सक्रिय भएर त्यसलाई समाधान गर्ने गरेको इतिहास छ । यसपटक पनि सेनास्तरबाटै समाधान निकालिने जानकारहरू बताउँछन् ।
केपी शर्मा ओली प्रधानमन्त्री भएको पाँच महिना पूरा हुन लागेको छ । यस बिचमा भारतसँगको सम्बन्ध सुधार हुनको साटो अझ दरार बढेको कूटनीतिक विज्ञ बताउँछन् । प्रधानमन्त्री ओलीलाई भारतले अहिलेसम्म पनि भ्रमणको औपचारिक निमन्त्रणा नदिएको भन्दै कतिपयले दुई देशबिच सम्बन्ध बिग्रिएको ज्वलन्त उदाहरणका रूपमा यसलाई प्रस्तुत गर्दै आएका छन् ।
यस बिचमा प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका छन् । मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमणलाई भारतले सुक्ष्म रूपले नियालिरहेको छ । भारतबाट फर्के लगत्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने चर्चा चलिरहेको छ ।
त्यसको वातावरण बनाउने काम प्रधान सेनापति सिग्देलले भारत भ्रमणका क्रममा गर्ने स्रोतले दाबी गरेको छ । प्रधान सेनापति सिग्देलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने तयारी गरिरहेका छन् ।
भारतीय सेनाध्यक्ष द्विवेदी मंसिर ५ गते नेपाल आएर ९ गते स्वदेश फर्केका थिए । उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
भ्रमणको क्रममा भारतीय सेनाध्यक्ष द्विवेदी प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न शीर्ष व्यक्तित्वहरूसँग भेटघाट गर्नुको साथै पोखरा, मुक्तिनाथ पनि पुगेका थिए ।
भारत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय प्रधान सेनापति सिग्देलको भारत भ्रमणको तयारीमा जुटेको छ । तयारी पूरा भएपछि मिति घोषणा गर्ने बताइएको छ ।
के हुन्छ अग्निपथ ?
प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनामा गोर्खा सैनिक भर्तीको विषयमा पनि कुराकानी गर्ने बताइएको छ । भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आएको बेला गोर्खा सैनिक भर्तीको विषयमा कुरा उठे पनि त्यसमा कुनै निष्कर्ष निस्कन सकेन ।
भारतले अग्निपथ योजना ल्याएपछि नेपाल गोर्खा सैनिक भर्नामा रोक लगाएको छ । भारतले सुरु गरेको अग्निपथ योजनामा नेपालको चित्त बुझेको छैन । अग्निपथ योजनालाई संशोधन नगरेसम्म नेपालले त्यसमा भाग नलिने भन्दै आएको छ ।
भारत अग्निपथ योजनामा संशोधन गर्ने भनिसकेको छ तर के के संशोधन गर्ने भन्ने टुङ्गो लगाएको छैन । प्रधान सेनापति सिग्देलको भारत भ्रमणको क्रममा त्यस विषयमा पनि छलफल गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कास्कीले भन्यो– लामिछानेको रिहाइले सत्यको जीत
-
राजेन्द्र लिङ्देनले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?
-
शीतलहरले तराईमा जनजीवन प्रभावित
-
बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुल्यो
-
नयाँ क्षेत्रसम्म पुग्यो लस एन्जलसको डढेलो, मर्नेको संख्या पनि बढ्यो
-
सरकार विरोधी प्रदर्शनपछि भेनेजुएलामा विपक्षी नेतृ माचादो पक्राउ