आफ्नो गाउँ ठाउँलाई उपेक्षा गरिएको कास्कीकोटवासीको गुनासो
कास्की । सहरछेउ भएर पनि पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट विकासका दृष्टिले पछाडि पारिएको स्थानीयवासीले गुनासो गरेका छन् । संसदीय पत्रकार मञ्चले बिहीबार कास्कीकोटमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा उनीहरूले खानेपाली, यातायातलगायत आधारभूत सुविधाबाट वञ्चित हुनुपरेको सुनाए ।
स्थानीय रामकुमारी सुवेदीले पामे, चिसापानी हुँदै कास्कीकोट जोड्ने सडक निर्माण नहुँदा सास्ती भएको दुखेसो पोखिन् । स्थानीय हर्कबहादुर नेपालीले २० वर्षअघिको खानेपानी आयोजना जीर्ण अवस्थामा पुगेकाले खानेपानी वितरणमा समस्या आइरहेको बताए । आफ्नै वडामा मुहान नहुँदा कास्कीकोटवासीले खानेपानीको समस्या झेल्दै आएका उनले बताए ।
गण्डकी प्रदेश सरकारले सात वर्षअघि ‘एक घर, एक धारा’ कार्यक्रम घोषणा गरेपनि प्रदेश राजधानी रहेकै वडामा उक्त योजना अधुरै रहेको उनको कथन थियो । बुद्धिबहादुर बस्नेतले दाहसंस्कार गर्न शव घाट पुर्याउने बाटो जीर्ण हुँदा गाउँलेले सास्ती व्यहोर्नुपरेको दुखेसो गरे । कास्कीकोटबाट देउराली, सुइखेत हुँदै सेतीकिनार जाने बाटो निर्माण भएको छैन । कास्कीकोटलाई महानगरका अन्य वडासँग जोड्ने सम्पर्क सडक निर्माण थालिएको वर्षौँसम्म पनि काम पूरा हुन नसकेको बस्नेतले बताए ।
पर्यटकीय पदमार्ग निर्माण तथा संरक्षण समितिका अध्यक्ष विष्णुहरि शर्माले ऐतिहासिक महत्वको कास्कीकोट दरबार क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताए । कास्कीकोट स्वास्थ्यचौकीका प्रमुख विश्वराज तिवारीले स्वास्थ्यचौकीमा पूर्वाधार र सामग्रीको अभाव रहेको बताए । उनले पटकपटक माग गर्दा पनि स्वास्थ्यचौकी व्यवस्थापकीय सुधारमा सम्बन्धित निकायले चासो नदिएको बताए ।
कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीले गाडा, पोशाक र पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँदा पनि विद्यार्थी सङ्ख्या बढाउन नसकिएको बताए । भौगोलिक अवस्थितिका कारण पनि महानगरको विकट वडाका रुपमा कास्कीकोटलाई लिइने गरिएकामा राज्यबाट कास्कीकोट उपेक्षामा परेको स्थानीयवासीको गुनासो थियो ।
वडाध्यक्ष भरतबहादुर अधिकारीले महानगरको सीमित स्रोतसाधनका कारण जनअपेक्षाबमोजिम विकास निर्माणका कामलाई गति दिन नसकिएको तथा निर्माण व्यवसायीको लापरबाहीका कारण सडक आयोजनामा ढिलासुस्ती भएको स्वीकार गरे ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले लौरुक लिफ्टिङ खोनपानी आयोजनाले कास्कीकोट खानेपानी समस्या सधैँका लागि समाधान गर्ने बताए । “कामका कुनै अवरोध भएन भने आगामी चैतभित्र आयोजनाको काम सम्पन्न हुनेछ ।”
प्रदेशसभा, अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले आवश्यकताका आधारमा बजेट र योजना छनोट हुनुपर्ने बताए । उनले प्रदेश सरकारलाई जनमुखी बजेट निर्माण र कार्यान्वयनलाई चुस्त बनाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन
-
परराष्ट्रले गर्यो प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा
-
सामाजिक सदभाव र मर्यादामा आँच पुर्याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
-
सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
जनकपुर बोल्ट्सलाई नेपोभिटको साथ