दश दिक्पाल र पूर्वका देवता इन्द्र
दश दिक्पालको अवधारणा हिन्दु धर्म र संस्कृतिमा एक महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक प्रतीकका रूपमा स्थापित छ । दिक्पाल शब्दको अर्थ ‘दिशाको रक्षक’ अथवा पालक हो । हिन्दु धर्मका दश प्रमुख दिशाहरूको रक्षकका रूपमा विभिन्न देवी–देवतालाई जिम्मा लगाइएको छ ।
दिक्पालहरूले ब्रह्माण्डका विभिन्न दिशालाई सुरक्षा र रक्षा प्रदान गर्छन् भन्ने विश्वास गरिन्छ । धर्मग्रन्थ अनुसार दिक्पालहरूले प्राकृतिक विपत्तिहरूदेखि सुरक्षा प्रदान गर्छन् ।
हिन्दु धर्मको अनुष्ठान र पूजा प्रक्रियामा पनि दश दिक्पाललाई विशेष स्थान दिने गरेको पाइन्छ । घर, मन्दिर र कुनै पवित्र स्थानमा पूजा गर्दा दिक्पालको आशीर्वाद अनिवार्य मानिन्छ । प्रत्येक दिशा अलग–अलग गुण र तत्त्वहरूको प्रतीक हो, जसले जीवनका विभिन्न पाटामा सन्तुलन गर्ने कायम गर्छ ।
हिन्दु धर्मअनुसार प्रत्येक दिशामा अलग–अलग देवता स्थापित गरिएको पाइन्छ । दशै दिशाका देवतालाई दश दिक्पाल भनिएको छ ।
दिशाले मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्छ । मानिस घरबाट कुनै कार्यका लागि निस्कँदा कुनै न कुनै दिशातर्फ जान्छ । विनादिशा यात्रा या गन्तव्य नहुने भएकाले दिशाको शुभाशुभ मानिसका लागि अति महत्त्वपूर्ण हुन्छ । दिशाका देवता अनुसार प्रभाव पर्ने हुनाले सोही अनुसार असर हुन्छ । तसर्थ सही दिशामा यात्रा गर्दा शुभ र गलत दिशामा यात्रा गर्दा अशुभ फल प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
शास्त्रानुसार दिशाको संख्या जम्मा दशवटा मानिएको छ— पूर्व, आग्नेय (पूर्व र दक्षिणको कोण), दक्षिण, नैर्ऋत्य (दक्षिण र पश्चिमको कोण), पश्चिम, वायव्य (उत्तर र पश्चिमको कोण), उत्तर, ईशान (पूर्व र उत्तरको कोण), आकाश र पाताल ।
यी दशवटै दिशाका अलग–अलग देवता छन्, जसलाई दश दिक्पाल भनिन्छ । देवराज इन्द्रलाई पूर्वदिशाका दिक्पाल मानिएको छ । अग्नि देवतालाई आग्नेय दिशाका दिक्पाल मानिन्छ । दक्षिण दिशाका दिक्पाल यम देवता हुन् भने नैऋत्य दिशाका दिक्पाल देवता निऋति हुन् । पश्चिम दिशाका दिक्पाल वरुण देवता तथा वायव्य दिशाका दिक्पाल वायु देवता हुन् । उत्तर दिशाका दिक्पाल कुबेर देवता हुन् ।
ईशान दिशाका दिक्पाल देवता साक्षात् ईश्वर शिव देवता मानिएको छ । उर्ध (आकाश) दिशाका दिक्पाल देवता ब्रह्मालाई मानिएको छ । अध (पाताल) दिशाका दिक्पाल देवता अनन्त अर्थात् भगवान विष्णुलाई मानिएको छ ।
वास्तुशास्त्रमा इन्द्रलाई पूर्व दिशाका दिक्पालका रूपमा स्थापित गरिएको छ । पूर्व दिशाको समग्र सत्ता इन्द्रको हातमा छ । उनी सम्पूर्ण देवताहरू र दैत्यहरूका बिचमा सन्तुलन र नियन्त्रण कायम राख्न सक्षम छन् ।
इन्द्र आफैँमा परिचित नाम हो, परिचित शब्द हो । हिन्दु धर्ममा देवता इन्द्रलाई विशेष महत्त्वका साथ हेरिन्छ । स्वर्गको राजा हुन् र देवताका रक्षक हुन् । विजेताका पर्याय हुन् इन्द्र । यिनलाई केवल युद्धका देवता मात्र नमानेर अविजित, शक्तिशाली र अपराजित या विजयका देवताका रूपमा हेर्दा थप न्याय हुन्छ । स्वर्गको रक्षार्थ निरन्तर दानवीय प्रवृत्तिको विपक्षमा रहने इन्द्रलाई दश दिक्पालमध्ये पूर्वका दिक्पाल मानिएको छ ।
हिन्दु पुराणका अनुसार देवताहरूले गरेको यज्ञका माध्यमबाट इन्द्रलाई जन्म दिएका थिए । इन्द्रको जन्मपश्चात् स्वर्गमा एक नयाँ युगको सुरुवात भई धर्मको रक्षा गर्न तथा असुरलाई पराजित गर्न महत्त्वपूर्ण घटनाहरूले निरन्तरता पाएको शास्त्रहरूमा उल्लेख छ । इन्द्र विजयका देवता भएकाले कुनै पनि समस्यामा राक्षसहरूसँग लडेर स्वर्ग र देवताको रक्षा गरेको भन्ने कथा पढ्न पाइन्छ । इन्द्र वज्र समान बलवान भएको र यिनको प्रमुख अस्त्र पनि वज्र रहेको छ ।
इन्द्रलाई जल र वर्षाका देवताका रूपमा चिनिन्छ । किसानका लागि उनी महत्त्वपूर्ण देवता हुन् । किसानको उत्पादन र उत्पादकत्वमा इन्द्रको विशेष कृपा चाहिन्छ । जल, वर्षा, उत्पादनसँगै यिनलाई सुरक्षाको जिम्मेवारी पनि छ । राक्षसहरूसँग लडेर स्वर्ग, देवता र समग्र सृष्टिलाई बचाएकै कारण उनलाई देवताका राजाका रूपमा स्वीकार्य छन् ।
सामान्यतया इन्द्रलाई वर्षा र युद्धका देवता मानिए पनि उनले समग्र धर्ती र आकाशमा आफ्नो वर्चस्व राख्ने भएकाले देवता, मानव र प्रकृतिको रक्षकका रूपमा स्विकार्दा थप न्याय हुन्छ ।
वास्तुशास्त्रमा इन्द्रलाई पूर्व दिशाका दिक्पालका रूपमा स्थापित गरिएको छ । पूर्व दिशाको समग्र सत्ता इन्द्रको हातमा छ । उनी सम्पूर्ण देवताहरू र दैत्यहरूका बिचमा सन्तुलन र नियन्त्रण कायम राख्न सक्षम छन् । सृष्टिको निरन्तरताका लागि वर्षा र वायुको सन्तुलन आवश्यक हुन्छ । त्यसैले इन्द्रलाई जलवायुसँग सम्बन्धित देवताका रूपमा पनि लिन सकिन्छ । हिन्दु परम्परा अनुसार वर्षा नभएमा या लामो समय खडेरी परेमा इन्द्रको पूजा गर्ने चलन छ ।
इन्द्र सत्य र धर्मको रक्षाका लागि महत्त्वपूर्ण भूमिकामा देखिन्छन् । इन्द्रको वज्रलाई शारीरिक शक्ति र इच्छाशक्तिको प्रतीकका रूपमा लिइन्छ । इन्द्र प्रेम र यौन जीवनमा पनि चर्चा गर्ने गरिन्छ । स्वर्गका अप्सरा इन्द्रका राज्यमा बस्छन् । सकारात्मक हिसाबले सोच्दा जीवनका विभिन्न पाटोमा सम्पूर्णता र विविधता ल्याउने देवताका रूपमा इन्द्रलाई लिन सकिन्छ । वास्तुमा पूर्व दिशालाई सकारात्मक ऊर्जाको दिशा मानिन्छ । यस क्षेत्रबाट आउने सकारात्मक प्रभावले समग्र जीवनमा सकारात्मकता आउँछ भन्ने मान्यता छ । त्यसैले पूर्व दिशामा सशक्त इन्द्रको सकारात्मक प्रभाव छ भने निवास वास्तुशास्त्रीय हिसाबमा उत्तम मानिन्छ ।
वास्तुशास्त्रमा पूर्व दिशालाई विशेष महत्त्व दिइन्छ । बिहानको सूर्योदयसँगै जीवनदायिनी सकारात्मक ऊर्जा पूर्वबाट प्राप्त हुन्छ । सूर्यको किरणमा समग्र स्थानको वातावरणलाई शुद्ध र सकारात्मक बनाउने उर्जा हुन्छ । वास्तुशास्त्र अनुसार घरको पूर्वमा खुला स्थान, झ्याल वा प्रवेशद्वार हुनु सकारात्मक ऊर्जाको कारक हो ।
धर्मशास्त्रहरूका अनुसार प्रत्येक दिशाका रक्षकका रूपमा दिक्पालहरूको व्यवस्था गरिएको छ । ब्रह्माण्डको सुरक्षाका लागि दशै दिशामा तत् दिशासँग सम्बन्धित तत्त्वहरूको नियन्त्रण र व्यवस्थापनका लागि दिक्पालहरू स्थापित छन्, जसमध्ये इन्द्रलाई पूर्वको रक्षकका रूपमा पूर्वका दिक्पाल मानिएको छ । विभिन्न यज्ञ र धार्मिक अनुष्ठानमा पूर्व दिशामा दिक्पाल र रक्षकका रूपमा स्थापित गरी इन्द्रको पूजा गर्ने चलन छ । ग्रन्थहरूले इन्द्रलाई धर्म, नीतिशास्त्र र नैतिकता पर्यायका रूपमा स्थापित गरेको छ ।
पूर्व दिशाको रक्षक इन्द्रको महत्त्व धार्मिक तथा पौराणिक रूपमा मात्र नभई वास्तुशास्त्रमा पनि महत्त्वपूर्ण स्थान छ । वास्तुशास्त्रमा पूर्व दिशालाई विशेष महत्त्व दिइन्छ । बिहानको सूर्योदयसँगै जीवनदायिनी सकारात्मक ऊर्जा पूर्वबाट प्राप्त हुन्छ । सूर्यको किरणमा समग्र स्थानको वातावरणलाई शुद्ध र सकारात्मक बनाउने उर्जा हुन्छ । वास्तुशास्त्र अनुसार घरको पूर्वमा खुला स्थान, झ्याल वा प्रवेशद्वार हुनु सकारात्मक ऊर्जाको कारक हो । घरको पूर्व दिशाको सकारात्मक ऊर्जाले इन्द्रको कृपा प्राप्त हुन्छ र घरमा सुख, शान्ति र समृद्धि आउँछ भन्ने वास्तुशास्त्रीय मान्यता छ ।
इन्द्रको कृपा प्राप्त गर्नका पूर्व दिशामा विशेष पूजा र यज्ञ गरिन्छ । पूर्वमा इन्द्रको चित्र वा मूर्ति राख्नु अत्यधिक लाभदायी मानिन्छ । वास्तुअनुसार इन्द्रको सकारात्मक प्रभावले सम्मान, सुख, समृद्धि र सकारात्मकता ल्याउँछ । इन्द्रको मन्त्र ‘ॐ लं इन्द्राय नमः’ हो भने इन्द्रको अस्त्र वज्र हो ।
(लेखक वास्तुविज्ञान डटकमका सञ्चालक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दरखास्त आव्हान
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
मौद्रिक नीतिको समीक्षा हुँदै, के-के होला परिवर्तन ?
-
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’
-
कपालमा अन्डा लगाउँदा के हुन्छ ?