१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. मौन अवधि सुरु
मङ्सिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन प्रचार–प्रसार निषेध अवधि लागू भएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचार–प्रसार निषेध अवधि मध्यराति १२ः०० बजेदेखि सुरु भएको हो ।
२. प्रधानमन्त्रीको चीन भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलको चीन भ्रमण तालिका स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण टोलीमा सरकारीतर्फ ३९ जना र निजी ४८ गरी ८७ सदस्यीय सदस्य सहभागी रहनेछन् । प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङबसँग मंसिर १८ गते भेटवार्ता गर्ने तय भएको छ । भ्रमण सकेर प्रधानमन्त्रीसहितको टोली २० गते स्वदेश फर्कने कार्यक्रम छ ।
यस्तै, भीआईपी र भीभीआईपीहरु विदेश जाँदा विमानस्थलमा लावालस्कर नलाग्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । भीभीआईपी र भीआइपीलाई स्वागत र बिदाइ गर्दा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिवसहित १४ जना मात्र एयरपोर्ट गए हुने प्रधानमन्त्री ओलीले बताएका छन् ।
यसैबिच, मन्त्रिपरिषद्ले उखुको समर्थन मूल्य निर्धारण गरेको छ ।
३. मन्त्री हेरफेर गर्ने सङ्केत
मन्त्रीहरूको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री फेर्ने सङ्केत गरेका छन् । बुधबार सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचेजति काम नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
४. रविलाई बयानका लागि काठमाडौँ ल्याइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौँमा ल्याइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरको उडान मार्फत काठमाडौँ ल्याइएको हो । उनी ४१ दिनपछि काठमाडौँ आएका हुन् ।
५. गढीमाई मेला
महागढी नगरपालिकास्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच–पाँच वर्षमा एक महिने कुम्भ मेला लाग्ने गर्छ । यसपालि मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेलामा मंसिर २३ गते अर्थात् सप्तमी तिथिमा राँगा बलि दिइने र २४ गते अर्थात् अष्टमी तिथिमा बोकासहित अन्य बलि दिइने यहाँका मूल पुजारी शिव चौधरी बताउँछन् ।
६. काठमाडौँ–१६ का उपनिर्वाचन
काठमाडौँ महानगरपालिकाको रिक्त १६ नम्बर वडामा आइतबार हुन गइरहेको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरूले दौडधुप तीव्र पारेका छन् । बिहीबार चुनावी प्रचार–प्रसारको अन्तिम दिन भएकाले प्रमुख राजनीतिक दल लगायत स्वतन्त्र उम्मेदवारहरू मत माग्न मतदाताका घरदैलो, आन्तरिक बैठकमा व्यस्त थिए ।
७. पुथा उत्तरगंगा गाउँपालिकामा उनिर्वाचन
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेस–एमाले गठबन्धन र माओवादी केन्द्रका उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ । मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा पुथा उत्तरगंगामा मात्रै पालिकास्तरको निर्वाचन हुने भएकाले यहाँको चुनावी प्रतिस्पर्धालाई धेरैले चासोका साथ हेरेका छन् ।
८. सहमतिको दस्तावेजबिनै परराष्ट्रमन्त्री चीनमा
बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा सहमति बिनै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन उडेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी बिहीबार चीन प्रस्थान गरेकी हुन् ।
९. न्यायाधीश नियुक्तिमा अलमन
न्यायाधीश नियुक्तिको अलमल लम्बिएको छ । मंगलबार बस्ने भनिएको न्याय परिषद्को बैठकमा कानुनमन्त्री अजयकुमार चौरसिया नआएपछि न्यायाधीश नियुक्तिको अलमल लम्बिएको हो ।
१०. प्राधिकरणको पत्रको जवाफ
बुधबार नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नबुझाउने उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई, धितोपत्र बोर्डलाई आईपीओ रोक्न र कम्पनी रजिस्ट्रारको कार्यालयलाई सेयर हक हस्तान्तरण नगर्ने बेहोराको पत्र पठाए । उक्त पत्रको जवाफमा नेपाल राष्ट्र बैंकले कुनै औपचारिक निर्णय नभएको र विनियमावली अनुसार हुने बताएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले लिनुदिनु फरफारक नहुँदासम्म हक हस्तान्तरण नहुने व्यवस्था रहेको जानकारी गरायो । धितोपत्र बोर्डले विगतको अभ्यास हेरेर अगाडि बढ्ने जनाएको छ ।
११. दुर्गा प्रसाईं अस्पताल भर्ना
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको साइबर ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
१२. पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने
पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने जनाएको छ । कोषले बालाचतुर्दशी पर्वका अवसरमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफैँ बसेर बत्ती बाल्नेका लागि कुनै शुल्क नलाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना