१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
आज २०८१ मंसिर १३ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जम्बो टोली जाने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ जनाको टोली हुने छ ।
यसैबिच मन्त्रिपरिषद्ले उखुको समर्थन मूल्य निर्धारण गरेको छ ।
रविलाई बयानका लागि काठमाडौँ ल्याइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौँमा ल्याइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरको उडान मार्फत काठमाडौँ ल्याइएको हो । उनी ४१ दिनपछि काठमाडौँ आएका हुन् ।
मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको सङ्केत
मन्त्रीहरूको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री फेर्ने सङ्केत गरेका छन् । बुधबार सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचेजति काम नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
मध्यरातदेखि मौन अवधि सुरु हुँदै
मङ्सिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन प्रचार प्रसार निषेध अवधि बिहीबार मध्यरातदेखि लागु हुँदैछ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म लागु हुने निर्वाचन प्रचार प्रसार निषेध अवधि राति १२ः०० बजेदेखि सुरु हुने भएको हो ।
गढीमाई मेला
महागढी नगरपालिकास्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच–पाँच वर्षमा एक महिने कुम्भ मेला लाग्ने गर्छ । यसपालि मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेलामा मंसिर २३ गते अर्थात् सप्तमी तिथिमा राँगा बलि दिइने र २४ गते अर्थात् अष्टमी तिथिमा बोकासहित अन्य बलि दिइने यहाँका मूल पुजारी शिव चौधरी बताउँछन् ।
काठमाडौँ–१६ का उपनिर्वाचन
काठमाडौँ महानगरपालिकाको रिक्त १६ नम्बर वडामा आइतबार हुन गइरहेको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरूले दौडधुप तीव्र पारेका छन् । बिहीबार चुनावी प्रचारप्रसारको अन्तिम दिन भएकाले प्रमुख राजनीतिक दल लगायत स्वतन्त्र उम्मेदवारहरू मत माग्न मतदाताका घरदैलो, आन्तरिक बैठकमा व्यस्त थिए ।
पुथा उत्तरगंगा गाउँपालिकामा उनिर्वाचन
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेस–एमाले गठबन्धन र माओवादी केन्द्रका उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ । मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा पुथा उत्तरगंगामा मात्रै पालिकास्तरको निर्वाचन हुने भएकाले यहाँको चुनावी प्रतिस्पर्धालाई धेरैले चासोका साथ हेरेका छन् ।
सहमतिको दस्तावेजबिनै परराष्ट्रमन्त्री चीनमा
बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा सहमति बिनै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन उडेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी बिहीबार चीन प्रस्थान गरेकी हुन् ।
न्यायाधीश नियुक्तिमा ढिलाइ
न्यायाधीश नियुक्तिमा ढिलाइ भएको छ । मंगलबार बस्ने भनिएको न्याय परिषद्को बैठकमा कानुनमन्त्री अजयकुमार चौरसिया नआएपछि न्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेको हो ।
प्राधिकरणको पत्रको जवाफ
बुधबार नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नबुझाउने उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई, धितोपत्र बोर्डलाई आईपीओ रोक्न र कम्पनी रजिस्ट्रारको कार्यालयलाई सेयर हक हस्तान्तरण नगर्ने बेहोराको पत्र पठाए । उक्त पत्रको जवाफमा नेपाल राष्ट्र बैंकले कुनै औपचारिक निर्णय नभएको र विनियमावली अनुसार हुने बताएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले लिनुदिनु फरफारक नहुँदासम्म हक हस्तान्तरण नहुने व्यवस्था रहेको जानकारी गरायो । धितोपत्र बोर्डले विगतको अभ्यास हेरेर अगाडि बढ्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता
-
टीआरसी ऐनमा संवैधानिक इजलासले उठायो प्रश्न, अग्राधिकार दिँदै लिखित जवाफ पेस गर्न आदेश
-
पेप्सीको नक्कली भ्याट बिल प्रकरण : उच्च अदालतको फैसला ‘त्रुटिपूर्ण’ भन्दै सर्वोच्च पुग्यो सरकार
-
सरकार, अख्तियार लगायत संवैधानिक निकायले टेरेनन् लेखा समितिलाई