आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट

बिहीबार, १३ मङ्सिर २०८१, १९ : ०५
बिहीबार, १३ मङ्सिर २०८१

काठमाडौँ । महेन्द्र राजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नति कार्यको ठेक्का पाएको चीनको चाइना रेल्वे–२ इन्जिनियरिङ ग्रुपले  अवैध रूपमा उत्खनन गरेर दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।  

ठेक्काका लागि आवश्यक हुने रोडा, बालुवा र ढुंगा निर्वाधरुपमा अवैध उत्खनन गरेको स्थानीयहरूको विरोधका बिचमा पनि उक्त कार्य भएकाले तत्काल रोक्नु भनि अन्तरिम आदेशको माग गरिएको छ । चक्रवर्ती ल कलेजमा अध्ययनरत छात्रा आँचल कुमारीले रिट दायर गरेका हुन् । 

मधेस प्रदेशको सिरहा र सप्तरीमा चाइना रेल्वेले अवैध उत्खननलाई तीव्र पारेको तर सरोकारवाला निकायहरू मौन रहँदै आएको  रिटमा दाबी गरिएको छ । 

सिरहाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, नरहा गाउँपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिकामा चिनियाँ रेल्वेले यसरी अवैध उत्खनन गरिरहेको रिटमा दाबी गरिएको छ । 

लहान नगरपालिकामा पर्ने सरेदेखि चुरेसम्म अवैध उत्खनन गरिरहेको देखेपछि जिससले प्रयोग गरिरहेको डोजर (जेसिवी) नियन्त्रणमा लिइएर जरिवाना तिरेर छोडेको तर पुनः उक्त उत्खनन जारी रहेको रिटमा उल्लेख छ । 

जिससका अनुसार नगरपालिकासँग डेढ फिट गहिराई र ३ किलोमिटर दुरीमा उत्खनन गर्ने सम्झौता भएको थियो । तर चाइना रेल्वेले १३ फिटसम्म गहिराई गरेर उत्खनन गरेको भेटिएको छ । मापदण्ड र सहमति विपरीत अवैध उत्खनन गरेपछि चाइना रेल्वेलाई केही समय अघि १२ लाख जरिवाना गराएको थियो ।

हाल कर्जन्हा नगरपालिकाको कमला खोला, मिर्चैया, नरहा, धनगढीमाई र गोलबजार क्षेत्रमा व्यक्तिको निजी जग्गा भाडामा लिएर रातारात उत्खनन चाइना रेल्वेले गर्दै आएको आरोप छ । त्यस्तै सप्तरीको सुरूङ्गा र फत्तेपुर नगरपालिका क्षेत्रमा पनि चाइना रेल्वेले उत्खनन तीव्र बनाएको रिटमा उल्लेख छ । 

महेन्द्र राजमार्गको १ हजार २७ किलो मिटर सडक स्तरोन्नति गर्न चाइना रेल्वेले नेपाल सरकारसँग ग्लोबल टेण्डरमा भाग लिँदै ठेक्का पाएको थियो । जसअन्तर्गत अहिले कमला–कञ्चनपुर ४७ किलो मिटर सडक ग्रामीण क्षेत्रमा ४ लेन र सहरी क्षेत्रमा ६ लेनको स्तरोन्नति कार्य भइरहेको छ । सरकारले यसलाई महत्वको योजनाको रूपमा राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप