प्राधिकरणको पत्रपछि तीन सरकारी निकायको जवाफ– कानुनअनुसार हुन्छ
काठमाडौँ । बुधबार नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नबुझाउने उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई, धितोपत्र बोर्डलाई आईपीओ रोक्न र कम्पनी रजिस्ट्रारको कार्यालयलाई सेयर हक हस्तान्तरण नगर्ने बेहोराको पत्र पठाए । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले कार्तिक २५ गतेको मन्त्रिपरिषद्को निर्णय र मङ्सिर ११ गतेको विद्युत् नियमन आयोगले बक्यौता उठाउन भनेको बेहोरासहितको पत्र तीन निकायमा पठाएका थिए ।
नेपाल राष्ट्र बैंकले कुनै औपचारिक निर्णय नभएको र विनियमावली अनुसार हुने बताएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले लिनुदिनु फरफारक नहुँदासम्म हक हस्तान्तरण नहुने व्यवस्था रहेको जानकारी गरायो । धितोपत्र बोर्डले विगतको अभ्यास हेरेर अगाडि बढ्ने जनाएको छ ।
विगतको अभ्यासअनुसार धितोपत्र बोर्डले जगदम्बा स्टिल र मारुती सिमेन्टलाई तत्काल आईपीओ निष्कासनको अनुमति नदिने देखिएको छ । दुवै कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । तर बक्यौता बाँकी रहेको भनेर प्राधिकरणले पत्र पठाएपछि विगतको अभ्यास अनुसार रोकिने बोर्डले जनाएको छ । प्राधिकरणको पत्रमा मारुती सिमेन्टले ५७ करोड ४४ लाख ७९ हजार रुपैयाँ बुझाउन बाँकी रहेको उल्लेख छ । जगदम्बा स्टिलको भने १ अर्ब ६० करोड १८ लाख ४३ हजार रुपैयाँ बक्यौता रहेको पत्रमा जनाइएको छ ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीका अनुसार विगतमा पनि यसरी बक्यौता बाँकीको पत्र आएपछि रोकिएको अभ्यास छ । उनले भने, ‘कुनै पनि निकायले बक्यौता बाँकी रहेको जानकारी दिएपछि आईपीओ जारी गरिँदैन । गरिएको थिएन । त्यही अभ्यासलाई हेर्दा यो पटक पनि आईपीओको पाइप लाइनमा रहेका कम्पनीको बक्यौता बाँकी भए तत्काल जारी गर्न सकिँदैन । यसमा यो वा त्यो कम्पनी भन्ने हुँदैन ।’
नेपाल राष्ट्र बैंकले कुनै निकायको पत्र आउँदैमा खाता रोक्का गर्न नमिल्ने बताएको छ । बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले औपचारिक निर्णय र कानुनी पाटोहरू हेर्न बाँकी रहेको बताए । उनले भने, ‘पत्रबारे औपचारिक निर्णय गरेर खाता रोक्का सम्बन्धी विनियमावली अनुसार अगाडि बढ्छौँ ।’
खाता रोक्का वा फुकुवा गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुन्छ र विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृतस्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिन सक्ने व्यवस्था छ । तर खाता रोक्काको लागि पत्राचार गर्दा खाता रोक्का गर्नुको स्पष्ट कारण उल्लेख गर्नुपर्ने व्यवस्था छ । बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ अनुसार फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर लेखेर पठाउने व्यवस्था छ ।
प्राधिकरणले बुधबार कम्पनी रजिस्ट्रारको कार्यालयलाई पनि महसुल नतिर्ने उद्योगको हक हस्तान्तरण नगर्न पत्राचार गरेको थियो । कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार प्रदीपराज अधिकारीका अनुसार पत्र आउँदैमा कुनै कम्पनीको हक हस्तान्तरण रोकिहाल्न चाहिँ मिल्दैन । उनका अनुसार हक हस्तान्तरण गर्नुअघि कम्पनी ऐनअनुसारको प्रक्रिया पूरा गर्नुपर्छ । अधिकारीले भने, ‘कम्पनी खरिदबिक्री वा केही प्रतिशत सेयर तेस्रो व्यक्तिलाई दिनुअघि ऐनका व्यवस्था पूरा हुनुपर्छ । ती व्यवस्था पूरा भए सहजै हुन्छ नभए पत्र प्राप्त नभए पनि हस्तान्तरण गर्न सकिँदैन ।’ अधिकारीले प्राधिकरणको पत्रको थप अध्ययनपछि मात्रै औपचारिक निर्णय गर्न सक्ने बताए ।
प्रबन्ध निर्देशक घिसिङले यो मात्रै होइन, महसुल उठाउन अर्को उपाय पनि अपनाएका छन् । उनले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने ३४ उद्योगका सञ्चालकहरूको घरको लाइन काट्ने प्रक्रिया अगाडि बढाएका छन् । प्राधिकरणले विद्युत् वितरण विनियमावली २०७८ को विनियम ३१ को उपविनियम (१) र उपविनियम (३) मा भएको व्यवस्था बमोजिम सञ्चालकहरूको घरको लाइन काट्न सक्ने व्यवस्था छ । जसमा ‘बक्यौता महसुल असुलउपर गर्ने दायित्व बोकेको प्राधिकरणले बक्यौता महसुल रहेका सम्बन्धित उपभोक्ता (संस्था/कम्पनी) का सञ्चालकहरूको आवासको समेत लाइन काटी बक्यौता असुल गर्नुपर्ने’ उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
-
महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट
-
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले