बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

सफल विद्यार्थी कसरी बन्ने ?

बिहीबार, १३ मङ्सिर २०८१, १७ : ०४
बिहीबार, १३ मङ्सिर २०८१

भनिन्छ, राम्रो पढ्नेहरू नै राम्रो नेता बन्छन् । राम्रो सिक्नेहरू नै राम्रो कमाउने हुन्छन् । सिकाउन कहिले नथाक्ने शिक्षक र सिक्न जहिले नै उत्सुक विद्यार्थीले नै देशको मुहार फेर्छन् । युरोप–अमेरिका लगायत विकसित देशको प्रगतिले यो यथार्थ प्रस्ट पार्छ, तर हामीकहाँ स्थिति यस्तो छैन । 

नेपालमा विद्यार्थीमा अध्ययनप्रतिको रुचि घट्दो छ । स्कुल–कलेज सबैतिर नतिजा खस्कँदो छ, ध्यानमा विचलन वा भड्काउ बढ्दो छ, यो अत्यन्तै दुःखद कुरा हो । देश विकासका लागि र सफल विद्यार्थी निर्माणका लागि विद्यार्थीको यो अरुचि र भड्काउपन हटाउनैपर्छ । त्यसका निम्ति यसका कारण र निराकरणबारे प्रस्ट हुनुपर्छ । 

  • मन भड्काउने तत्त्व

एकपटक एक सिद्धहस्त मूर्तिकारलाई सोधियो, तपाईं कसरी यति अद्भुत सुन्दर मूर्ति बनाउनुहुन्छ ? 

उनले भने, ‘म केही गर्दिनँ, मात्र राम्रो मूर्ति बन्नका लागि अनावश्यक भागहरू खोपेर यी ढुंगाबाट हटाउँछु ।’ 

सफल विद्यार्थी बन्न पनि मनलाई भड्काउने तत्त्वहरू हटाउनुपर्छ । फेसबुक, टिकटक, रेडिट, स्न्यापचाट जस्ता सामाजिक सञ्जाल; मोबाइल गेम; इन्टरनेटका माध्यमबाट खराब चिज हेर्ने, लागुऔषध सेवन आदिले विद्यार्थीको मन भड्काउने तत्त्वबाट मुक्त हुन सके भने मात्र पनि विद्यार्थी जीवन सफल हुन्छ । अनावश्यक चिजमा धेरै समय दिइयो भने आवश्यक चिजका लागि समय अपुग हुन्छ । 

  • समयको सदुपयोग

भनिन्छ एक गेडी त हो नि भनेर अन्न खेर फाल्नेले धन कमाउन सक्दैन, एक क्षण त हो नि भनेर समय खेर फाल्नेले विद्या कमाउन सक्दैन । विद्यार्थीले यो भावनाका साथ काम गर्न सकेन भने अर्थात् एक क्षण मात्र हो नि भनेर समय खेर फाल्ने बानी बसाल्यो भने सफल हुन सक्दैन ।

विद्यार्थीले सबै काम सकाएर घरमा दिनमा ५–६ घन्टा फ्री समय पाउँछ । यो समय कसरी प्रयोग गर्छ भन्नेमै भर पर्छ सफलता । यो समय पनि सामाजिक सञ्जाल लगायतमा बितायो भने असफल भइन्छ, पढाइमा बितायो भने सफल भइन्छ । समय खेर फाल्ने, दुरुपयोग गर्ने काम गर्दै गयो भने त्यही अनुसारको लत बस्दै जान्छ । 

समय सदुपयोग गर्ने अभ्यास गर्दै गयो भने त्यही अनुसारको बानी र रुचि बस्दै जान्छ । पूर्वतिर जाने मान्छे पश्चिमतिर लागेर हुँदैन । जेमा सफल हुनुछ, त्यसमै लाग्नुपर्छ । 

किन पढ्नुपर्‍यो र कलेज छाडेका पनि सफल भएका छन्, अर्बपति भएका छन् ! तर ती कलेज छाडेका अर्बपतिले हप्ताको कतिवटा पुस्तक पढ्छन् र कति मेहनत गर्छन् भन्ने प्रचार भएको छैन ।
  • सुख रोज्नु

आजकलका विद्यार्थी धेरै सोखिन छन्, धेरै सुख–सुविधा भोग्न खोज्छन्; खेलकुद, मनोरञ्जनमा बढी ध्यान दिन्छन् । वास्तवमा सुखार्थी मानिस विद्यार्थी हुन सक्दैन र विद्यार्थी सुखार्थी हुनु हुँदैन । विद्यार्थी जीवन भनेकै मेहनत र संघर्ष गर्ने बेला हो ।

भनिन्छ, कुकुरको जस्तो निद्रा, बकुल्लाको जस्तो ध्यान, कागको जस्तो प्रयत्न, थोरै खानु, घर छाड्नु, विद्यार्थीका पाँच लक्षण हुन् । 

संघर्षको सुख नै सर्वश्रेष्ठ सुख हो भन्ने भनाइलाई विद्यार्थीले मन्त्रका रूपमा लिनुपर्छ । विद्यार्थी जीवनमा जति दुःखकष्ट, संघर्ष गर्‍यो, पछि त्यति नै सुख हुने हो, मिठो फल प्राप्त हुने हो । राम्रो पढे राम्रो अंक आउँछ । राम्रो अंक ल्याए, राम्रो काम र अवसर पाइन्छ । 

  • लेखेर पढ्ने 

किताब हेर्दा आउँछ जस्तो लाग्ने तर त्यही कुरा परीक्षामा लेख्न गाह्रो हुन्छ । लेखेर पढ्ने बानी नहुँदा यस्तो समस्या आउन सक्छ । 

बुझ्नु ठुलो कुरा हो भने बुझाइलाई पुस्तिकामा उतार्नु झन् ठुलो कुरा हो । लेखेर पढ्यो भने मात्र बुझाइलाई उत्तर पुस्तिकामा उतार्न सजिलो हुन्छ । त्यसैले लेखेर पढ्नुपर्छ । लेखेर पढ्दा स्मरण शक्ति, शुद्धता र आत्मबल बढ्छ । हिसाबजस्तो विषयमा त लेखेरै अभ्यास गर्नुपर्छ । विज्ञान आदिमा चित्र र तथ्यांकसहित पढ्नुपर्छ । 

  • निरन्तरता 

झरनाले कडा चट्टानलाई पनि खियाउँछ, कारण झरना भनेकै निरन्तर झरिरहनु हो । 

नियमित पढ्ने औसत विद्यार्थीले पनि प्रतिभावान् विद्यार्थीलाई उछिन्न सक्छ । त्यसैले विद्यार्थीले नियमित पढ्ने बानी बसाल्नुपर्छ । नियमित पढ्ने भन्नाले कक्षामा नियमित बस्ने र अनुशासित बन्ने भन्ने पनि पर्छ ।

सफलता भनेको प्रतिभा र मिहिनेतको योगफल हो । भनाइ नै छ, प्रतिभावान्ले कडा परिश्रम गर्दैन भने कडा परिश्रम गर्नेले प्रतिभावान् भनिएकालाई पनि हराउँछ । दुई–चार दिन अनिदो बसेर पढ्नुभन्दा निरन्तर केही समय पढ्नु श्रेष्ठकर हुन्छ। 

  • किताब मुख्य स्रोत

प्रविधिको जति विकास भए पनि ज्ञानको मुख्य स्रोत किताब नै हो । अहिले कतिलाई प्रविधिको विकासले गर्दा किताब पढ्नुपर्दैन, सबै इन्टरनेटमा छ, त्यहीँबाट बुझ्न सकिन्छ भन्ने लाग्छ, तर कुरा त्यस्तो होइन । 
हुन त इन्टरनेटमा पनि कतिपय पुस्तक हुन्छन्, त्यसका भएका कुरा नपढी बुझिँदैन । कतिले अडियो बुक सुनेको पनि देखिन्छ । सामान्यतः सुनेरभन्दा पढेरै बढी बुझिन्छ ।

किताबमा जति सही र गहिरो ज्ञान अरु स्रोतबाट प्राप्त हुँदैन । भ्लगर, युट्युबर, टिकटिकर वा सामाजिक सञ्जालबाट पनि केही सिक्न नसकिने होइन तर ती भरपर्दा स्रोत होइनन् । यद्यपि यीबाट पनि मूल पुस्तकका बारेमा थाहा पाउन सकिन्छ । यस्तै पत्रपत्रिका वा अनलाइन पोर्टलबारेमा पनि केही चर्चा त हुन्छन्, समग्र विषय बुझ्न पुस्तक नै पढ्नुपर्छ ।

  • सूचना प्रविधिको सदुपयोग 

सूचना प्रविधिको दुरुपयोगले विद्यार्थीलाई बहकाउँछ भने सदुपयोगले सघाउँछ । सूचना प्रविधिको सदुपयोगले अध्ययन–अनुसन्धानमा महत्त्वपूर्ण सहयोग लिन सकिन्छ । इन्टरनेटमार्फत आफ्नो रुचि अनुसारको अध्ययन सामग्री, अनुसन्धान पत्र, दस्ताबेज प्राप्त गर्न सकिन्छ, अध्ययन–अनुसन्धान गर्न सकिन्छ । सूचना प्रविधिको सदुपयोग गर्नु या गर्न जान्नु ज्ञानको नयाँ आँखा हुनुजत्तिकै भइसकेको छ । 

प्रविधिको विकासले सानो चिप्समा पनि धेरै चिज अटाउने भएको छ । अध्ययन स्रोतका लागि अचेल लाखौँ फोटो, दस्ताबेज र भिडिओहरू संंकलन गरेर राख्न विज्ञान–प्रविधिले सघाएको छ ।

अर्कोतिर, प्रविधिको विकाससँगै सूचना–सञ्चारमा आएको बाढीले कुन सही र कुन गलत छुट्ट्याउन गाह्रो छ । एकातिर जीवन उपयोगीभन्दा क्षणिक मनोरञ्जनका लागि प्रविधिको प्रयोग हुँदा चेतनालाई उत्तेजनाले जितेको छ भने अर्काेतिर धुँवादार गलत प्रचारले गर्दा युवा पुस्ता प्रचारबाजीको सिकार बनेको छ । ग्राह्मसको नियम अनुसार, बजारमा खोटो सिक्काले असल सिक्कालाई विस्थापित गरेको छ । 

किन पढ्नुपर्‍यो र कलेज छाडेका पनि सफल भएका छन्, अर्बपति भएका छन् भन्ने जस्ता प्रचारले कलेज छाड्नेलाई प्रश्रय मिलेको छ, तर ती कलेज छाडेका अर्बपतिले हप्ताको कतिवटा पुस्तक पढ्छन् र कति मेहनत गर्छन् भन्ने प्रचार भएको छैन । 

विदेश गएपछि स्वर्ग नै पुगेजस्तो, विदेशको भन्नेबित्तिकै जुनै शिक्षा पनि स्तरीय शिक्षाजस्तो प्रचार भएको छ । यो ठुलो सांस्कृतिक आक्रमण हो । वास्तवमा हामी कतिपय विदेश गएर पनि सस्तो मजदुर बन्नुपर्छ । विदेशमा काम गरेर पढ्नुपर्ने र नेपालको भन्दा कम क्रेडिट आवरको पढाइ हुने भएबाट त्यो पढाइ राम्रो होइन भन्ने प्रमाणित हुन्छ । सफल विद्यार्थी बन्नका लागि झुटा प्रचारबबाट बच्न आवश्यक छ । 

  • कखरा नसिकी कविता 

अहिले कति मानिसलाई स्कुल–कलेज किन पढ्नुपर्‍यो र इन्स्टिच्युटतिर केही सीप सिके भइहाल्यो नि भन्ने छ । शिक्षालाई श्रमसँग जोड्नुपर्ने एउटा पक्ष त छ तर कखरा नसिकी कविता लेख्न सकिँदैन । लेखे पनि धेरै त्रुटि हुन्छ । आधारभूत कुरा सबै जान्नैपर्छ । सुमधुर गीत निकाल्न शास्त्रीय संगीत सिक्नुपर्छ भनेजस्तै ज्ञान–विज्ञान बुझ्न शास्त्रीय अध्ययन चाहिन्छ । 

अहिले केही विशेष घटना या अपवादलाई देखाएर त्यसलाई नियम मान्ने वा नियमझैँ गरी व्याख्या गर्नेहरू धेरै छन् । कुनै चिजलाई घटनाका आधारमा होइन, शास्त्रीय ज्ञानका आधारमा विश्लेषण गर्नुपर्छ । अनि मात्र वैज्ञानिक विश्लेषण हुन्छ र सही निचोडमा पुग्न सकिन्छ । 

  • भाग्य र मेहनत

आजकल पढे–लेखेको भए पनि कतिपय मानिस असफल भएपछि भाग्यलाई दोष दिन पुग्छन् । परीक्षामा असफल भए वा कतै प्रवेश परीक्षामा नाम निस्केन भने भाग्यमै रहेनछ भन्छन् । वास्तवमा भाग्यमा नभएको होइन, मेहनत नपुगेको हो । सफलता भनेको मेहनत र प्रतिभाको योगफल हो, त्यो नपुगेको हो ।

गाडी चलाउन नसिकी ट्रायल पास भइँदैन, यसमा भाग्यले काम दिँदैन, मेहनत चाहिन्छ । 

भाग्य नै सबथोक हुने भए बाटो काट्दा जेब्राक्रसमा किन दायाँ–बायाँ हेर्नुपर्‍यो र भन्ने स्टेफन हकिन्सको भनाइ नै छ । अर्काे कुरा, भाग्यमा विश्वास गर्नाले मान्छेलाई अल्छी बनाउँछ भने मेहनतमा विश्वास गर्नाले मान्छेलाई मेहनती बनाउँछ ।

  • धारणा

घोकेरभन्दा बुझेर पढ्नुपर्छ । धारणा स्पष्ट गरी पढ्नु र कण्ठ गर्नुमा गुणात्मक रूपमा धेरै फरक हुन्छ । किताब पढ्नु र सामाजिक सञ्जाल या इन्टरनेट हेर्नुमा यही फरक छ । दुई र दुई जोड्दा चार हुन्छ भन्ने जान्ने तर कसरी हुन्छ भनेर नजान्नेलाई १ प्लस ३ कति हुन्छ ? १ प्लस १ प्लस १ प्लस १ प्लस बराबर कति हुन्छ भन्ने थाहा हुन्न । घोकेर पढ्नेले वास्तविक जीवनको समस्या हल गर्न सक्दैन । त्यसैले बुझेर पढ्नुपर्छ । 

  • परिश्रम, परिश्रम, परिश्रम

विश्वका धेरै विद्वान्ले जति ज्ञान प्राप्त गरे, ती सबैले विद्यार्थीकालको अध्ययनले सघाएको बताउँछन् । त्यसैले विद्यार्थीकालको मेहनत अति नै महत्त्वपूर्ण हुन्छ । मेहनतको विकल्प पनि छैन । नवआगन्तुक विद्यार्थीलाई बिस्मार्कले भनेका थिए, नवआगन्तुकलाई मेरा तीन शब्द— परिश्रम, परिश्रम, परिश्रम ।’

(लेखक काठमाडौँ इन्जिनियरिङ कलेजका एसोसियट प्रोफेसर तथा कम्प्युटर इन्जिनियर हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रीकृष्ण सुलु
श्रीकृष्ण सुलु
लेखकबाट थप