मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
स्थानीय तह निर्वाचन

पराजित हुने भयले कर्णालीमा उम्मेदवारविहीन भयो एकीकृत समाजवादी

बिहीबार, १३ मङ्सिर २०८१, १३ : ५७
बिहीबार, १३ मङ्सिर २०८१

सुर्खेत । कात्तिक अन्तिम साता कर्णालीको राजधानी वीरेन्द्रनगरमा नेकपा एकीकृत समाजवादीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनमा सक्ने ठाउँमा उम्मेदवार उठाउने भन्दै पार्टीलाई बलियो बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए ।

उनले समाजवादी मोर्चामा रहेका दलहरूसँग मिलेर चुनाव लड्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए । तर आइतबार (मंसिर १६ मा) हुन लागेको उपनिर्वाचन अन्तर्गत कर्णालीमा नेकपा एकीकृत समाजवादीले अधिकांश ठाउँमा उम्मेदवार नै उठाएन ।

०७९ को निर्वाचनको परीणामका आधारमा हेर्ने हो भने कर्णालीमा समाजवादी चौथो दल हो । यद्यपि जनमत घट्दै गइरहेको अवस्थामा पराजित हुने डरले उपनिर्वाचनमा उम्मेदवार नै नबनाएको सो पार्टीका स्थानीय नेता बताउँछन् ।

आइतबार कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदैछ । कर्णालीमा एक नगरपालिकाको उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायतका दलहरूले समेत उम्मेदवार उठाउँदा एकीकृत समाजवादीले ८ मध्ये तीन ठाउँमा मात्रै उम्मेदवारी दर्ता गराएको थियो ।

निर्वाचन आयोगका अनुसार एकीकृत समाजवादीबाट दैलेखको महावु गाउँपालिकाको अध्यक्षका लागि जगतबहादुर हमाल, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदमा ज्योति घर्ती र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५ को अध्यक्षमा हंसराज पुरीको उम्मेदवारी दर्ता छ ।

यद्यपि यी तीन वटै ठाउँमा समाजवादी संगठनात्मक र जनमतका हिसाबले निकै कमजोर छ । एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दा समाजवादीले यी तीनै स्थानमा जित्न सक्ने अवस्था छैन ।

त्यस बाहेक ५ वटा ठाउँमा समाजवादीको उम्मेदवारी दर्ता भएको छैन । दैलेखकै दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदमा ०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका भीम प्रसाद शर्माले ३६ मत पाएका थिए । यहाँ अहिले एकीकृत समाजवादीले उम्मेदवार नै उठाएन ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीले माओवादीका उम्मेदवार देवकी तिमिल्सिनालाई नै सहयोग गर्ने भनेर उम्मेदवार नउठाएको बताइन्छ । यस्तै नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदका लागि पनि एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गरेको छैन ।

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा ६ वटा दलले उम्मेदवारी दिएका छन् । यहाँ एमाले, नेमकिपा, रास्वपा, राप्रपा, माओवादी, कांग्रेस लगायतका ठुलासाना दलहरूले उम्मेदवारी दर्ता गराउँदा एकीकृत समाजवादीले भने उम्मेदवारी दिएन । समाजवादीका कालिकोट जिल्ला अध्यक्ष चित्रसिं गाउँलेले तिलागुफामा संगठन कमजोर रहेको स्वीकार गरे ।

समाजवादीबाट उम्मेदवारी दर्ता भएका तीन ठाउँमध्ये रुकुम पश्चिम सानोभेरी–५ र त्रिपुरासुन्दरी नगरपालिका–५ मा एकीकृत समाजवादीले आफ्ना उम्मेदवारलाई माओवादी केन्द्रका उम्मेदवारको पक्षमा समर्थन जनाउन निर्देशन दिएको छ । समाजवादीका प्रदेश सचिव धीरबहादुर विष्टले भने, ‘रुकुम पश्चिम र डोल्पामा हाम्रो संगठन कमजोर रहेकोले माओवादी उम्मेदवारलाई सहयोग गर्ने, दैलेख महावुमा हामीलाई सहयोग गर्ने भन्ने कुरा भएको थियो ।’

यद्यपि महावु गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दिएका उक्त पार्टीका जगतबहादुर हमालले एमालेबाट उम्मेदवार बनेका जंगबहादुर शाहीलाई समर्थन जनाएका छन् । उनले सार्वजनिक रुपमै शाहीलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । शाही उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिन अघिमात्रै एमालेमा प्रवेश गरेका थिए ।

समाजवादीको केन्द्रीय सदस्यसमेत रहेका उनी एमालेबाट उम्मेदवार बन्न पाउने भएपछि समाजवादीको प्रदेश अधिवेशन चलिरहेकै बेला दैलेख पुगेर एमालेमा प्रवेश गरेका थिए ।

शाहीले भने, ‘हामीले सल्लाहमै उम्मेदवारी दिएको हो, उहाँले समर्थन गरिसक्नु भएको छ ।’

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी हमालले पार्टीको नीति, विधि, विधान विपरित काम गरेको बताउँछन् । अन्य ठाउँको तुलनामा महावुमा एकीकृत समाजवादीको जनमत बढी थियो । यहाँ ०७९ को स्थानीय तहको निर्वाचनमा सोही पार्टीबाट अध्यक्षका लागि उम्मेदवार बनेका शाहीले माओवादीसँगको तालमेलमा २ हजार २६८ मत प्राप्त गरेका थिए ।

समाजवादीका एक नेता भन्छन्, ‘अहिले उपनिर्वाचन हुन लागेका अधिकांश ठाउँमा हाम्रो संगठन छैन, उम्मेदवारी दर्ता गराएर प्रतिस्पर्धा नै गर्ने हो भने पनि हामीले जित्न सक्ने अवस्था थिएन ।’

कर्णाली तत्कालीन नेकपा हुँदै एमाले विभाजनको केन्द्रविन्दु हो । तत्कालीन एमालेका नेताहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा, कुर्मराज शाहीले ‘फ्लोर क्रस’ गरेर पार्टी निर्णय विपरीत तत्कालीन माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेर पद बचाइदिएका थिए ।

त्यही नै एमाले विभाजनको विन्दु थियो । एमाले विभाजनपछि अन्तभन्दा समाजवादी सांगठनिक रुपमा कर्णालीमै राम्रो थियो । यद्यपि पछिल्लो समय धेरै नेता, कार्यकर्ताहरू एमाले फर्किसकेका छन् । जसका कारण समाजवादी पार्टी कमजोर हुँदै गएको छ ।

माओवादी भन्छ– गठबन्धन गरिएको छैन

समाजवादीका सचिव धीरबहादुर विष्टले रुकुमपश्चिम र डोल्पामा माओवादीलाई र दैलेख महावुमा समाजवादीलाई समर्थन गर्ने कुरा भएको भने पनि माओवादीले त्यो कुरा अस्वीकार गरेको बताए ।

माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले अहिलेसम्म औपचारिक रुपमा कुनै पनि ठाउँमा गठबन्धन नगरिएको बताए । ‘हामीले प्रयास गरेको हो तर कुरा नमिलेपछि त्यत्तिकै रोकियो,’ उनले भने, ‘स्थानीय स्तरमा के भएको हो, त्यो कुरा थाहा भएन ।’

समाजवादीका प्रदेश अध्यक्ष पुरीले रुकुम पश्चिम र डोल्पामा स्थानीयस्तरकै नेता, कार्यकर्ताले माओवादीलाई नै सहयोग गर्ने निर्णय गरेको बताउँछन् । ‘त्यसलाई हामीले ठिकै छ भनेका छौँ,’ उनले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप