हेटौंडा–१२ को नतिजा आफ्नो पक्षमा पार्न दलहरू अन्तिम प्रयासमा
मकवानपुर । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–१२ मा पनि वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
वडा अध्यक्ष पदका लागि ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । केही उम्मेदवार पहिले चरणको घरदैलो कार्यक्रम सकेर दोस्रो चरणमा चोकचोकमा सभा सम्मेलन आयोजना गर्दैछन् भने केही आफ्नो प्रभाव बढाउन कमजोर क्षेत्रका नागरिकहरूसँग भेटघाटमा छन् ।
मंसिर १३ गते रातिबाट मौन अवधि सुरु हुनुपूर्व उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम प्रयास गरिरहेका छन् । दलबाट ६ र स्वतन्त्रबाट ३ जना गरी ९ उम्मेदवार चुनावी मैदानमा रहेका हेटौंडा–१२ मा विशेषगी मुख्य दलहरूबिच नै प्रतिस्पर्धा हुने देखिन्छ ।
हेटौंडा–१२ को वडा अध्यक्ष पदको निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबिच प्रतिस्पर्धा हुने देखिन्छ । सोही अनुसार दलहरू आफ्ना महत्त्वपूर्ण नेतालाई मैदानमा उतारेर मतदातालाई प्रभावित पार्ने कसरत गरिरहेका छन् ।
हेटौंडा–१२ माओवादी केन्द्रका लागि महत्त्वपूर्ण वडा बनेको छ । विगतमा जित्दै आएको उक्त वडामा आफ्नो पकड कायम राख्ने दाउमा माओवादी केन्द्र छ । अर्कोतिर नेपाली कांग्रेस र नेकपा एमाले पहिलो जितको खोजीमा छन् ।
कार्यपालिकामा आफ्नो उपस्थिति बलियो बनाउन माओवादी हेटौंडा–१२ मा जित्नै पर्ने दबाबमा छ । माओवादी केन्द्रका एक नेताका अनुसार हेटौंडा–१२ मा पार्टीको संगठित मत ८०० र उम्मेदवारको व्यक्तिगत मत ३०० गरी १ हजार १०० मत प्राप्त हुने अनुमान छ । निर्वाचन जित्न १ हजार ३०० मत पर्याप्त हुने उनको भनाइ छ ।
२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा रहँदै झिनो मतले पराजित भएको कांग्रेस यस पटक कुनै पनि अवस्थामा जित्ने दाउमा छ । विगतमा कांग्रेस कमजोर रहेको उक्त वडामा पछिल्लो केही वर्षदेखि अवस्था सुधार भएको सो पार्टीका नेताहरूको दाबी छ । उक्त वडाको विकासमा कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको र उम्मेदवार स्वयं निर्वाचनमा पराजित भए पनि नागरिकहरू माझ रहेर काम गरेकाले यस पटकको चुनावी नतिजा हात पर्ने कांग्रेस नेताहरू बताउँछन् । कुल मतदातामध्ये ६० प्रतिशत मत खसेको खण्डमा कांग्रेसले निर्वाचन जित्न १ हजार ४०० मत प्राप्त गर्नुपर्ने अवस्था रहेको उनीहरूको आकलन छ ।
तेस्रो वरीयतामा रहँदै आएको एमाले पनि सो वडा जितेर हेटौंडालाई आफ्नो किल्ला बनाउने रणनीतिमा छ । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका र वडाहरूमध्ये बहुमत स्थानमा जित निकालेको एमाले आफ्नो उपस्थिति बलियो बनाउन हटौंडा–१२ मा जित्ने रणनीति अनुसार खटिएको एमाले नेताहरू बताउँछन् ।
- साम्प्रदायिक मत क्यास गर्ने दलहरूको रणनीति
हेटौंडा–१२ विशेषतः तामाङ समुदायको बाहुल्यता भएको वडा हो । सो वडामा तामाङसहित ब्राह्मण, क्षेत्री, नेवार तथा दलित समुदायको बसोबास छ ।
मुख्य दलहरूले तामाङ समुदायबाट उम्मेदवार नबनाएका कारण सो समुदायको मतले निर्वाचनको नतिजा प्रभावित बनाउन सक्ने आकलन गरिएको छ । पार्टीको संगठित मत बाहेक तामाङ समुदायको मत क्यास गर्नुपर्ने बाध्यात्मक परिस्थिति दलहरूलाई रहेको विश्लेषक बताउँछन् ।
साना दलहरूले तामाङ समुदायबाटै उम्मेदवार बनाएका छन् । विशेषगरी मंगोल नेशनल अर्गनाइजेशन, एकीकृत समाजवादी, नेमकिपा, राप्रपा र रास्वपाका उम्मेदवारले साम्प्रदायिक मत प्राप्त गरेको खण्डमा निर्वाचनको नतिजा अप्रत्याशित हुने विश्लेषकहरूको भनाइ छ ।
- रास्वपा र राप्रपा फ्याक्टर
मुख्य दलहरूको प्रतिष्ठाको विषय बनिरहेको हेटौंडा–१२ मा रास्वपा र राप्रपा फ्याक्टरले चुनावी नतिजा प्रभावित गर्न सक्ने अवस्था देखिन्छ । पछिल्लो समयमा रास्वपा सभापति रवि लामिछानेप्रतिको लगाव र राप्रपा केन्द्रीय सदस्य दीपक बहादुर सिंहका कारण चुनावी नतिजामा प्रभाव पर्न सक्ने अवस्था रहेको विश्लेषकहरूको भनाइ छ ।
२०६४ अघिसम्म राप्रपाको उर्वरभूमिको रूपमा देखिएको तत्कालीन पदमपोखरी गाविसमा हाल सो दलको खासै प्रभाव देखिँदैन । पछिल्लो दशकमा सो वडामा राप्रपाको उपस्थिति कमजोर बन्दै गएको देखिन्छ । २०७९ को आम निर्वाचनमा राप्रपाका दीपकबहादुर सिंहलाई प्राप्त मतका आधारमा हेटौंडा–१२ मा राप्रपा फ्याक्टरले ठुला दलको चुनावी नतिजा बदल्न सक्ने विश्लेषण गरिएको छ । हेटौंडा–१२ मा राप्रपाले ७०० भन्दा बढी मत ल्याउने सो दलका नेताहरूको दाबी छ ।
चुनाव नतिजा बदल्ने अर्को फ्याक्टरको रूपमा रास्वपालाई लिइएको छ । उक्त दलबाट पनि उम्मेदवारी परेकाले मुख्य दलहरूलाई चुनौती खडा गर्न सक्ने अनुमान गरिएको छ । रास्वपाका नेताहरू हेटौंडा–१२ मा निर्वाचन नतिजा सकारात्मक निकाल्न नसके पनि प्रभाव भने गतिलो देखिने बताउँछन् । उनीहरूको विश्लेषण अनुसार सो वडामा रास्वपाका उम्मेदवारले ५०० भन्दा बढी मत ल्याउने आकलन गरिएको छ ।
- थपिए एक हजार ५८८ मतदाता
उपनिर्वाचनमा हेटौंडा–१२ मा २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा १ हजार ५८८ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगका अनुसार हेटौंडा–१२ मा ८ हजार ५३ मतदाता छन् । २०७९ को स्थानीय तह निर्वाचनमा उक्त वडामा ६ हजार ४६५ मतदाता थिए ।
हेटौंडा–१२ मा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुन प्रसाद तिवारी, माओवादी केन्द्रबाट रवि कुमार प्रधान, रास्वपाबाट आशा वीर बल, राप्रपाबाट प्रेम बहादुर भोलन, जसपाबाट छविलाल वाइवा, मंगोल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फुलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् ।
वडा अध्यक्ष पदका लागि स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी पनि उम्मेदवार बनेका छन् ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौंडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
-
फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जना भ्रष्टाचारमा दोषी ठहर
-
पुराण वाचनमा पास हुने पण्डितलाई प्रमाणपत्रको व्यवस्था
-
१२ बजे, १२ समाचार : वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णयदेखि भूमि अध्यादेशले घरजग्गा कारोबार चम्काउने अनुमानसम्म