महत्त्वपूर्ण ८ पद हत्याउने दबाबमा एमाले, कांग्रेस र माओवादी
काठमाडौँ । मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको परिणाम आ–आफ्नो पोल्टामा पार्न राजनीतिक दलहरू जनताका घरदैलोमा भोट माग्न व्यस्त छन् । प्रचारप्रसारका लागि बिहीबार अन्तिम दिन भएकाले पनि उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका हुन् ।
विभिन्न स्थानीय तहका रिक्त जम्मा ४४ पदमध्ये दुई वटा जिल्ला समन्वय समिति (जिसस) प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार र एक वडा अध्यक्षमा नेकपा माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
कांग्रेसबाट ओखलढुङ्गा जिसस प्रमुखमा टेकराज भट्टराई र कैलाली जिसस प्रमुखमा टीकाकुमारी चौधरी(भुल) निर्विरोध निर्वाचित भएका हुन् । पुथा उत्तरगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
बाँकी ४१ मध्ये अध्यक्ष दुई, उपाध्यक्ष चार, प्रमुख एक, उपप्रमुख एक र ३३ वडाध्यक्ष पदमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
तीमध्ये काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, महाबु गाउँपालिकाको अध्यक्ष र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदमा कसले जित्ला भन्ने चासो बढेको छ ।
२०७९ को निर्वाचनमा कीर्तिपुर, ग्रामथान, गौरीशंकर, नलगाड, महाबु र बाजुरामा कांग्रेसले जितेको थियो । पुथा उत्तरगंगा र सर्केगाडमा माओवादीले जितेको थियो । योपटक कांग्रेस र माओवादीको विरासतलाई भत्काएर यी स्थानमा जित्ने दाउमा एमाले छ । कांग्रेस र माओवादी अघिल्लो विरासतलाई कायमै गरी सिट बढाउने रणनीतिमा देखिन्छन् ।
माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्जसमेत रहेका उपमहासचिव गिरिराजमणि पोखरेलले अघिल्लोपटक जितेको स्थान कायमै राखेर थप दुई–तीन सिट थपिने दाबी गरे ।
‘अघिल्लो निर्वाचनको तुलनामा माओवादीप्रति जनमत बढेको देखिन्छ । कोशी, बागमती, कर्णाली लगायत प्रदेशमा नयाँ रेकर्ड बन्ने स्थिति छ,’ उनले भने, ‘माओवादीले अघिल्लो पटक जितेको स्थान सुरक्षित राखेर थप जित्ने हामीले आकलन गरेका छौँ । योपटक दुई–तीन सिट थपिन सक्छ ।’
दुई ठुला प्रतिस्पर्धी दल कांग्रेस र एमालेबिच कडा प्रतिस्पर्धा हुन सक्ने दुवै पक्षका नेताहरूले स्वीकारेका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपनिर्वाचनमा प्रमुख प्रतिस्पर्धी कांग्रेस भएको बताए । नयाँ दलले उम्मेदवार उठाउन नसकेको अवस्थामा चुनावी परिणाममा खासै प्रभाव नपर्ने उनको भनाइ छ । उनले कीर्तिपुर नगरपालिकासहित धेरै स्थानमा एमाले विजयी हुने दाबी गरे ।
प्रमुख दलका नेताहरूले नै योपटक कडा प्रतिस्पर्धा हुने स्वीकारेकाले निर्वाचन रोचक हुने देखिन्छ । कांग्रेस, एमाले, माओवादी केन्द्र आफ्नो विरासत जोगाउने र अर्काको भत्काउने रणनीति साथ दौडधुप गरिरहेका छन् । उपनिर्वाचन हुने स्थानहरूमध्ये प्रमुख दलहरूले सबैभन्दा बढी कीर्तिपुरलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
‘हामी कीर्तिपुरसहित बहुमत स्थानमा जित्नेगरी विशेष योजना बनाएर निर्वाचनमा गएका छौँ । नयाँ भनिएका दलले उम्मेदवारी नै दिन सकेका छैनन्,’ गौतमले भने, ‘कर्णालीका केही स्थानमा माओवादीसहित त्रिपक्षीय भिडन्त हुन सक्छ ।’
यता कांग्रेस प्रचार विभागका प्रमुख रहेका मीन विश्वकर्माले प्रमुख प्रतिस्पर्धी दल एमालेसँगै सरकारमा रहेकाले केही अप्ठ्यारा भए पनि उत्ताउलो नभइ संयम भएर निर्वाचनको तयारीमा लागेको बताए । विश्वकर्माले पनि उपनिर्वाचनमा प्रमुख प्रतिस्पर्धी दल एमाले नै भएको जिकिर गरे ।
‘कीर्तिपुर लगायत अघिल्लोपटक २६ स्थानमा हामीले जितेका थियौँ । काठमाडौँमा केही मेहनत गर्नुपर्ने देखिएको छ । अन्य स्थानमा एमालेसँग प्रतिस्पर्धा हुने देखिए पनि हामीले नै जित्नेछौँ’, उनले भने ।
प्रमुख दलका नेताहरूले नै योपटक कडा प्रतिस्पर्धा हुने स्वीकारेकाले निर्वाचन रोचक हुने देखिन्छ । कांग्रेस, एमाले, माओवादी केन्द्र आफ्नो विरासत जोगाउने र अर्काको भत्काउने रणनीति साथ दौडधुप गरिरहेका छन् । उपनिर्वाचन हुने स्थानहरूमध्ये प्रमुख दलहरूले सबैभन्दा बढी कीर्तिपुरलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
- विभिन्न ८ पदमध्ये दलहरूको स्थिति के छ ?
कीर्तिपुर नगरपालिका
कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसले नगर सभापति कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ । एमालेले केन्द्रीय सदस्य डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ । माओवादीले प्राडा.शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ । यहाँ ९ जना दलीय र ११ जना स्वतन्त्र गरी २० जना उम्मेदवार छन् ।
कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारी दिएका नवरथकुमार बानिया र राजमान महर्जनमध्ये एकलाई समर्थन गर्ने ठानिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) अझै अनिर्णित देखिएको छ ।धरानका प्रमुख हर्क साम्पाङले राजमानलाई नै समर्थन गरिसकेका छन् ।
अन्तिम समयमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानु रिजालले उम्मेदवारी फिर्ता लिएका छन् । एकीकृत समाजवादीले यहाँ माओवादीका उम्मेदवारलाई सघाउने सहमति भइसकेको छ । अघिल्लो पटक कीर्तिपुर नगरप्रमुखमा कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी ९ हजार ४३ मतसहित विजयी भएका थिए । एमालेका केशवरत्न बज्रचार्यले पाँच हजार ५०७ मत पाउँदा माओवादीका प्राडा.शिवशरण महर्जनले चार हजार ९० मत पाएका थिए ।
कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारी दिएका नवरथकुमार बानिया र राजमान महर्जनमध्ये एकलाई समर्थन गर्ने ठानिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) अझै अनिर्णित देखिएको छ । यद्यपि बिहीबारसम्म रास्वपा, काठमाडौँका प्रमुख बालेन शाह लगायतको समर्थन आफूलाई हुने राजमानको विश्वास छ । धरानका प्रमुख हर्क साम्पाङले राजमानलाई नै समर्थन गरिसकेका छन् । स्वतन्त्र उम्मेदवारको प्रवेशले कीर्तिपुरको निर्वाचन थप रोचक हुने अनुमान गरिएको छ ।
ग्रामथान गाउँपालिका
कीर्तिपुरमा जस्तै मोरङको ग्रामथान गाउँपालिकामा चासो दिएका छन् । रिक्त अध्यक्ष पदका लागि यहाँ कांग्रेसले बलराम सरदार थारू, एमालेले तुलसीराम विश्वास, माओवादीले नमोनारायण माझीलाई उम्मेदवार बनाएका छन् ।
यस्तै स्वतन्त्रबाट नवीनकुमार विश्वास खवास र नमनारायण चौधरी थारू राप्रपाबाट दिनेशकुमार थन्दार, जसपा नेपालबाट सुरेशकुमार राजवंशी, जनमतबाट विनोदकुमार माझी, एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, नागरिक उन्मुक्तिबाट बुद्धिचन विश्वास थारू, नेमकिपाबाट प्रशुराम विश्वास थारू उम्मेदवार छन् । मंगोल नेसलन अर्गनाइजेसनबाट भरत राई, राप्रपा नेपालबाट राजु मुसहर, नेपाल समाजवादीबाट राजकुमार चौधरी थारू, जसपाबाट धर्मेन्द्रकुमार चौधरी चुनावी मैदानमा उत्रिएका छन् ।
यो पालिकामा अघिल्लोपटक कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ मत ल्याएर जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवनारायण माझीले ६ हजार ९३ पाएका थिए । माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मत पाएका थिए । यहाँ कांग्रेस, एमाले र माओवादी तीनै दलले आफूले जित्ने दाबी गर्दै आएका छन् ।
गौरीशंकर गाउँपालिका
दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदका लागि योपटक पुराना तीन वटै दलको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यहाँ पासदिकी तामाङलाई कांग्रेसले उम्मेदवार बनाएको छ । एमालेबाट उमा लुङ्गेली मगर शेर्पा र माओवादीबाट निम लेकी शेर्पा उम्मेदवार बनेका छन् । राप्रपाका मनकुमारी श्रेष्ठ, एकीकृत समाजवादीका रविना खड्का, जसपाबाट सपना कार्की खड्कासहित ११ जना स्वतन्त्र उम्मेदवार छन् ।
अघिल्लो निर्वाचनमा यहाँ माओवादीले कांग्रेसका उम्मेदवार श्यामसुन्दर तामाङलाई समर्थन गरेको थियो । तामाङ चार हजार ७४१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका मुना शिवाकोटी केसीले तीन हजार २८१ मत पाएकी थिइन् । योपटक तीन दलबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
पुथाउत्तरगंगा गाउँपालिका
माओवादीको गढ मानिएको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदैछ । अघिल्लो पटक माओवादीका उम्मेदवार भूपेन्द्र बुढा चार हजार ५९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका कमलाकुमारी मल्लले दुई हजार १० मत पाएकी थिइन् । एमालेका धर्म घर्ती बुढा एक हजार ८१२ मतमा सीमित हुनु परेको थियो । यसपटक यहाँ एमालेले कांग्रेससँग तालमेल गरेर माओवादीलाई हराउने नीति लिएको छ । यसअघि सोही पालिकाका वडानम्बर २ मा एमालेको उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर माओवादीका उम्मेदवारलाई निर्विरोध निर्वाचित हुने वातावरण बनाएको थियो ।
उपाध्यक्ष पदमा कांग्रेसले पुरानै अनुहार केशकुमारी तुलाचनलाई उम्मेदवार बनाएको छ । माओवादीले नरपुरा बुढालाई उम्मेदवार बनाएको छ । यो पालिकामा कांग्रेस र एमाले मिले पनि माओवादीलाई हराउन मुस्किल हुने देखिएको छ ।
सर्केगाड गाउँपालिका
अघिल्लो निर्वाचनमा माओवादीले जितेको हुम्लाको सर्केगाड गाउँपालिकामा योपटक त्रिपक्षीय भिडन्त हुने देखिएको छ । त्यतिबेला यहाँ कांग्रेसले माओवादीलाई समर्थन गरेको थियो । यसपटक रिक्त उपाध्यक्ष पदका लागि कांग्रेसले सविता बुढालाई उम्मेदवार बनाएको छ । एमालेले जाना शाही र माओवादीले देवकी तिमल्सिनालाई उठाएको छ ।
पहिलोपटक उम्मेदवारी दिएको रास्वपाले बाँचा बुढालाई उम्मेदवार बनाउँदा राप्रपाले संगिता शाहीलाई अघि सारेको छ । नरेश शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
२०७९ को निर्वाचनमा यहाँ माओवादीका चन्द्रसिंह कार्की तीन हजार २६९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जुन कुमारी फडेराले जम्मा एक हजार ६४ पाएकी थिइन् ।
नलगाड नगरपालिका
यो पालिकाको उपप्रमुख पदका लागि प्रमुख तीन दलले प्रतिष्ठाको विषय बनाएका छन् । कांग्रेसकी निर्वाचिन उपप्रमुख सरिता सिंह गतवर्ष भूकम्पमा परी निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । त्यतिबेला सिंहले पाँच हजार ४०६ ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेकी सुनिता बोहरालले तीन हजार ३९३ मत पाएकी थिइन् ।
योपटक यहाँ त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । यहाँ कांग्रेसले इन्द्र चन्द सिंहलाई उम्मेदवार बनाएको छ । एमालेले सुनिता बोहोरा र माओवादीले देवका लामिछानेलाई उम्मेदवार बनाएको छ । रास्वपाले पार्वती पुन, राप्रपा नेपालले सुनिता पुन रावल र नेसपाले पवित्रा जैसीलाई उठाएको छ ।
महाबु गाउँपालिका
दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि प्रमुख तीन दलबिच कडा प्रतिस्पर्धा देखिएको छ । यहाँ कांग्रेसले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ । एमालेले जंगबहादुर शाही र माओवादीले जंगबहादुर बराल मगरलाई उम्मेदवार बनाएको छ ।
यस्तै रास्वपाबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावल, एकीकृत समाजवादीबाट जगतबहादुर हमाल र नेमकिपाबाट दुर्गा बहादुर मगरले उम्मेदवार बनाएका छन् ।
अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसका लछुमन गुरुङ दुई हजार ९७९ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरि प्रसाद उपाध्यायले दुई हजार ५१९ मत पाएका थिए । यहाँ एकीकृत समाजवादीको पनि राम्रो मत देखिएको छ । अघिल्लोपटक एकीकृत समाजवादीका जंगबहादुर शाहीले दुई हजार २६८ मत पाएका थिए ।
स्वामीकार्तिक खापर गाउँपालिका
सुदूरपश्चिमको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि कांग्रेसले पुल्ती सरा शाहीलाई उम्मेदवार बनाएको छ । यहाँ माओवादीले एमालेको उम्मेदवार सुलोचनाकुमारी भण्डारीलाई समर्थन गरेको छ । एकीकृत समाजवादीले जवा शाहीलाई उठाएको छ ।
२०७९ को निर्वाचनमा यहाँ कांग्रेसकी मैना जोशी एक हजार ८१० मतसहित विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुलोचना कुमारी भण्डारीले एक हजार ६३७ मत पाएकी थिइन् । माओवादीका सुरेश बहादुर रोकायाले एक हजार २३४ मत पाएका थिए । यहाँ एमाले र माओवादी मिलेपछि कांग्रेसका लागि चुनौती थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा
-
नेपाली र दक्षिण कोरियाली कविता वाचन
-
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा काभ्रे उमाविका शिक्षक पक्राउ
-
१० बजे १० समाचार : देउवालाई ८० सांसद देखाएर फकाउने प्रचण्डको दाउ, सुदूरपश्चिममा एमालेलाई धक्का
-
वडाध्यक्षले फेसबुकमा लेख्दा मेयरले स्पष्टीकरण सोधेपछि....
-
ईप्रका रामपुरका इन्स्पेक्टर ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित