मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन विशेष

माओवादीको आधार क्षेत्र नलगाडमा कसले मार्ला बाजी ?

सहानुभूति बटुल्ने पक्षमा कांग्रेस, कांग्रेस–माओवादीको कमजोरीको फाइदा उठाउने पक्षमा एमाले
बिहीबार, १३ मङ्सिर २०८१, ०७ : २२
बिहीबार, १३ मङ्सिर २०८१

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि हुन लागेको उपनिर्वाचनमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ । ०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन भए पनि यो पटक सबै दलका उम्मेदवार एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।

०७९ को निर्वाचनमा माओवादीको समर्थनमा उपप्रमुखमा निर्वाचित सरिता सिंहको ०८० कात्तिकमा भूकम्पमा परेर निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । अघिल्लो निर्वाचनमा उनी ५ हजार ४०६ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३९३ मत पाएकी थिइन् । यस्तै राप्रपाले ४८ मत र एकीकृत समाजवादीले ३६ मत पाएका थिए ।

अहिले एकीकृत समाजवादीले उम्मेदवार उठाएको छैन भने अर्को दललाई पनि समर्थन पनि गरेको अवस्था छैन । ६ जना उम्मेदवार भए पनि यहाँ माओवादी र कांग्रेसबिच कडा प्रतिस्पर्धा हुने छ भने एमाले दुई दलबिचको लडाइँको फाइदा बटुल्ने रणनीतिमा छ । यहाँ रास्वपाको खासै प्रभाव छैन ।

साख जोगाउनुपर्ने बाध्यतामा माओवादी

debaki lamichhane maobadiनलगाडसशस्त्र जनयुद्धको बेलादेखिकै माओवादीको आधार क्षेत्र हो । यहाँ माओवादीको बलियो प्रभाव छ । ०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा नलगाड नगरपालिकाको प्रमुख, उपप्रमुखदेखि १३ मध्ये ७ वटा वडामा माओवादीले जितेको थियो ।

०७९ मा कांग्रेस–माओवादी गठबन्धन बनाएर चुनावमा जाँदा उपप्रमुख कांग्रेसले पाएको थियो । नगरप्रमुखमा माओवादीकै डम्बरबहादुर रावत ५ हजार ५९९ मतसहित निर्वाचित भए भने ६ वटा वडामा माओवादीले जितेको छ ।

अहिले माओवादीलाई यसअघिको साख जोगाउनुपर्ने बाध्यता छ । ०७४ मा दलहरू एक्लाएक्लै लड्दा पनि जितेको माओवादी आफ्नो प्रभाव कायमै राख्न चाहन्छ । सोही अनुसार माओवादी केन्द्रले पाको उम्मेदवारलाई अघि सारेको छ ।

उम्मेदवार बनेकी लामिछाने १ वर्षको छोरी गाउँलेलाई जिम्मा लगाएर जनयुद्धमा सक्रिय भएकी थिइन् । जनमुक्ति सेना हुँदै रेडियो जनगणतन्त्रमा काम गरेकी उनी अहिले पार्टीको प्रदेश कमिटी सदस्य छिन् ।

उनी दुई पटक माओवादी निकट महिला संगठनको जिल्ला अध्यक्ष भइसकेकी छन् भने प्रेस सेन्टरको प्रदेश कमिटी उपाध्यक्ष पनि हुन् ।

लामिछानेले चुनाव जित्ने आशासहित मैदानमा खटिएको बताइन् । ‘हिजोको आधार क्षेत्र, त्यसमा पनि बलियो संगठन र परिपक्व उम्मेदवार छु,’ उनले भनिन्, ‘१३ वटै वडाको घरदैलो कार्यक्रम सकियो, जनताको सकरात्मक प्रतिक्रिया पाएको छु ।’

यहाँ विप्लव नेतृत्वको नेकपाले माओवादीलाई सहयोग गरेको छ भने माओवादी उपमहासचिव शक्ति बस्नेत लगायतका नेता सुरुदेखि नै नलगाड क्षेत्रमा खटिएका छन् ।

जित निकाल्नैपर्ने बाध्यतामा कांग्रेस

indra singh congressउपनिर्वाचनलाई कांग्रेसले यो चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ । उम्मेदवार बनाएकी सिंह यसअघि निधन भएकी सरिताकै भाइबुहारी हुन् ।

उनको खासै राजनीतिक पृष्ठभूमि नभएपनि सरिताको निधनको ‘सेन्टिमेन्ट’लाई समात्न उम्मेदवारका रूपमा अघि बढाइएको हो ।

कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले भने, ‘यहाँ प्रतिस्पर्धा हुने भनेको माओवादी र कांग्रेसबिच नै हो । विगतदेखि नै माओवादीको प्रभाव क्षेत्र हो, यो पटक हामी उछिन्ने गरी लागिरहेका छौँ । कांग्रेसबाहेक अरु दलले सक्दैनन् ।’

कांग्रेसको उम्मेदवार इन्द्रा चन्द सिंहले दुई वटा बाहेक सबै वडामा घरदैलो अभियान सकिएको जानकारी दिँदै मतदाताको राम्रो प्रतिक्रिया पाएको बताइन् ।

यहाँ उनको पक्षमा माहोल बनाउन कांग्रेसका नेता प्रकाशशरण महत, जीवन परियार लगायत खटिएका थिए ।

के भन्छन् एमाले उम्मेदवार ?

sunita bohara umlलगातार पराजित हुँदै आएको एमालेलाई चुनाव जित्न चुनौती नै छ । यद्यपि यसअघि कांग्रेस–माओवादीले जनताको पक्षमा राम्रो काम गर्न नसकेको विषयलाई मूल एजेण्डा बनाएर एमाले चुनावी मैदानमा छ । एमालेबाट उम्मेदवार बनेकी बोहोरा ०७९ को निर्वाचनमा पराजित भएकी थिइन् ।

बोहोरा भन्छिन्, ‘सबै वडामा घरदैलो कार्यक्रम गरिसकेको छु, प्रतिक्रिया राम्रै पाएको छु । जित्छु भन्ने लागेको छ ।’

माओवादीले विगतमा पनि पालिकाको नेतृत्व सम्हाल्दा राम्रो काम गर्न नसकेको कारण जनताले यो पटक एमालेलाई मौका दिने उनको भनाइ छ । कांग्रेसले पनि खासै प्रभावकारी काम गर्न नसकेको प्रतिक्रिया मतदाताबाट आइरहेको उनले बताइन् ।

बोहोरा एमालेको जाजरकोट जिल्ला उपसचिव र अनेमसंघको जिल्ला अध्यक्ष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप