१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. विद्युत् बक्यौता नतिर्नेलाई हाइसन्चो
कार्तिक २५ गतेको बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम विद्युतको बक्यौता उठाउनेलगायतका निर्णयहरू यथास्थितिमा राख्न विद्युत् नियमन आयोगले मंगलबार नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दियो । मन्त्रिपरिषद्ले जाँचबुझ समिति बनाएकाले त्यसको प्रतिवेदन नआउँदासम्म अन्य निर्णय नगर्न भनिएको आयोगका अध्यक्ष डा। रामप्रसाद धितालले रातोपाटीलाई बताए । उनले भने, ‘बक्यौता उठाउने कुरामा सम्झौता हुँदैन । मन्त्रिपरिषद्को निर्णयअनुसार स्पष्ट रूपमा उठाउने भनेका छौँ । बाँकी कुरा यथास्थितिमा राख्न भनिएको हो ।’
२. निर्देशनले सरकारलाई ४० करोड घाटा
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । उनले ट्रंक र डेडिकेटेड लाइन प्रयोग वापतको विद्युत वक्यौता नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गरिदिन भन्दै पत्राचार गरेको हो ।
३. प्रधानमन्त्री ओलीको चीन भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान पाँच दिनमात्र बाँकी छ । तर हालसम्म भ्रमणको एजेण्डा तय भएको छैन । भ्रमणको मुख्य एजेण्डा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई)बारे हालसम्म सहमति भएको छैन । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण सम्बन्धी कुनै पनि सम्झौता चीन भ्रमणको क्रममा नहुने स्पष्ट पारिसकेका छन् । तर चीन भने ओलीको भ्रमणमा बीआरआईबारे सहमति जुटाउनुपर्ने पक्षमा छ ।
४. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै अहिले दुबई, कतार, थाइल्यान्ड जान–आउन सहज भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले सातामा २४ वटा अन्तर्राष्ट्रिय उडान हुने तालिका छ । दुई वर्ष अघि उद्घाटन भए पनि चलायमान हुन नसकेको विमानस्थलमा गत कार्तिक यता ५ वटा विमान कम्पनीले विभिन्न रुटमा उडान गर्दै आएका छन् । अन्तर्राष्ट्रिय उडान धमाधम सुरु हुँदा यस क्षेत्रका व्यवसायीदेखि वैदेशिक रोजगारीका लागि जाने युवा उत्साहित भएका छन् । तर विमानस्थलमा अहिले भइरहेका उडानले सञ्चालन खर्चसमेत धान्न सकस परिरहेको विमानस्थल सम्बद्ध अधिकारी बताउँछन् ।
५. सुनचाँदी व्यवसायमा बेथिति
सर्वोच्च अदालतले वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन आदेश दिएको छ । सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट गरेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश दिएको हो ।
६. महानगर-एमाले ‘जरिवाना प्रकरण’
एमालेले कार्यक्रममा गरेको फोहोर संकलनको अवस्थाबारे सो क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनीलाई समेत महानगरपालिकाले सोधेको पाइएको छ । महानगरले लिखित पत्राचार गर्दै दरबारमार्ग क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको ‘क्लिन काठमाडौँ वेस्ट मेनेजमेन्ट’बाट एमालेको कार्यक्रमको भोलिपल्ट फोहोर संकलन गरिएको विवरण माग गरेको हो ।
७. दोधारे नीति
विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दोधारे नीति ल्याएको छ । मन्त्रालयले त्यस्ता कलेजको व्यवस्थापन तथा नियमनको नाममा दोधारे नीति अघि सारेको हो ।
८. प्रसाईंको रिट खारेज
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ । सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको यो आदेशपछि उनी थुनामै रहने भएका छन् । प्रसाईंको हकमा छोरा निरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्रसाईंलाई उपस्थित गराउने आदेश भएको थियो ।
९. प्रतिवेदन अनुमोदन
नेकपा माओवादी केन्द्रले दुईवटा कार्यदलले पेस गरेको प्रतिवेदन अनुमोदन गरेको छ । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सुझाव प्रतिवेदन अनुमोदन गरेको हो ।
१०.चुनावी सरगर्मी
कर्णाली प्रदेश अन्तर्गत स्थानीय तहका रिक्त ८ वटा पदमा हुने उपनिर्वाचनमध्ये दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । महावुमा पालिका अध्यक्ष पदकै लागि उपनिर्वाचन हुने भएकाले दलहरूले यसलाई प्रतिष्ठाको विषय बनाएका हुन् । हेटौँडा उपमहानगरपालिका–१२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् ।
११. युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने
लेबनानस्थित हिजबुल्लाह समूहसँग युद्ध विराम भएसँगै इजरायलले नेपालबाट स्वास्थ्य सहायक (केयरगिभर)लैजाने भएको छ । अमेरिकाको मध्यस्ततामा इजरायल र हिजबुल्लाह समूहबिच युद्धविराम भएको छ । युद्धविरामसँगै गत वर्षदेखि जारी युद्ध स्थगित भएको छ । युद्ध रोकिएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गर्दै नेपालका लागि इजरायली राजदूत स्ह्मुलिक एरिइ बसले केयरगिभर लैजाने बताएका हुन् ।
१२. ३० देशका प्रतिनिधि काठमाडौंमा
जनसङ्ख्या र विकास, त्यसमा परेको प्रभाव र जलवायु परिवर्तनले गरेका असरलगायत विषयमा छलफल गर्न विश्वका ३० देशमा पाँच सय प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् । एसियाली जनसङ्ख्या सङ्घ (एपिए) र त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) को संयुक्त आयोजनामा आजदेखि काठमाडौँमा सुरू छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनमा उनीहरू सहभागी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल