१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
आज २०८१ मंसिर १२ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै अहिले दुबई, कतार, थाइल्यान्ड जान–आउन सहज भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले सातामा २४ वटा अन्तर्राष्ट्रिय उडान हुने तालिका छ । दुई वर्ष अघि उद्घाटन भए पनि चलायमान हुन नसकेको विमानस्थलमा गत कार्तिक यता ५ वटा विमान कम्पनीले विभिन्न रुटमा उडान गर्दै आएका छन् । अन्तर्राष्ट्रिय उडान धमाधम सुरु हुँदा यस क्षेत्रका व्यवसायीदेखि वैदेशिक रोजगारीका लागि जाने युवा उत्साहित भएका छन् । तर विमानस्थलमा अहिले भइरहेका उडानले सञ्चालन खर्चसमेत धान्न सकस परिरहेको विमानस्थल सम्बद्ध अधिकारी बताउँछन् ।
- सुनचाँदी व्यवसायमा बेथिति
सर्वोच्च अदालतले वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन आदेश दिएको छ । सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट गरेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश दिएको हो ।
- जरिवाना प्रकरण
एमालेले कार्यक्रममा गरेको फोहोर संकलनको अवस्थाबारे सो क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनीलाई समेत महानगरपालिकाले सोधेको पाइएको छ । महानगरले लिखित पत्राचार गर्दै दरबारमार्ग क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको ‘क्लिन काठमाडौँ वेस्ट मेनेजमेन्ट’बाट एमालेको कार्यक्रमको भोलिपल्ट फोहोर संकलन गरिएको विवरण माग गरेको हो ।
- दोधारे नीति
विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दोधारे नीति ल्याएको छ । मन्त्रालयले त्यस्ता कलेजको व्यवस्थापन तथा नियमनको नाममा दोधारे नीति अघि सारेको हो ।
- वरुण कर छली प्रकरण
उच्च अदालत पाटनले नक्कली बिल बिजक जारी गरी राजश्व ठगी गरेको अभियोगमा दोषी ठहर गरेको पेप्सीको नेपालस्थित बिक्रेता वरुण वेभरेज नेपाल प्रालिले २९ फर्मबाट नक्कली मूल्य अभिवृद्धि कर बिजक लिएको पाइएको छ । उच्च अदालतमा राजश्व अनुसन्धान विभागले पेस गरेको अनुसन्धान प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/७५मा १० वटा फर्मबाट नक्कली बिजक लिएर राजश्व छली गरेको थियो । वरुणले यसरी ती कम्पनीबाट लिएको बिलबाट मूल्य अभिवृद्धि कर छली गरेको कुरा उच्च अदालतले आफ्नो अन्तिम फैसलामा पनि स्वीकार गरेको छ ।
- विद्युत् बक्यौता नतिर्नेलाई हाइसन्चो
यही कार्तिक २५ गतेको बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम विद्युतको बक्यौता उठाउनेलगायतका निर्णयहरू यथास्थितिमा राख्न विद्युत् नियमन आयोगले मंगलबार नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दियो । मन्त्रिपरिषद्ले जाँचबुझ समिति बनाएकाले त्यसको प्रतिवेदन नआउँदासम्म अन्य निर्णय नगर्न भनिएको आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले रातोपाटीलाई बताए । उनले भने, ‘बक्यौता उठाउने कुरामा सम्झौता हुँदैन । मन्त्रिपरिषद्को निर्णयअनुसार स्पष्ट रूपमा उठाउने भनेका छौँ । बाँकी कुरा यथास्थितिमा राख्न भनिएको हो ।’
यता नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।
- प्रधानमन्त्री ओलीको चीन भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान पाँच दिनमात्र बाँकी छ । तर हालसम्म भ्रमणको एजेण्डा तय भएको छैन । भ्रमणको मुख्य एजेण्डा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई)बारे हालसम्म सहमति भएको छैन । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण सम्बन्धी कुनै पनि सम्झौता चीन भ्रमणको क्रममा नहुने स्पष्ट पारिसकेका छन् । तर चीन भने ओलीको भ्रमणमा बीआरआईबारे सहमति जुटाउनुपर्ने पक्षमा छ ।
- रिट खारेज
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ। सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको यो आदेशपछि उनी थुनामै रहने भएका छन् । प्रसाईंको हकमा छोरा निरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्रसाईंलाई उपस्थित गराउने आदेश भएको थियो ।
- प्रतिवेदन अनुमोदन
नेकपा माओवादी केन्द्रले दुईवटा कार्यदलले पेस गरेको प्रतिवेदन अनुमोदन गरेको छ । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सुझाव प्रतिवेदन अनुमोदन गरेको हो ।
- चुनावी सरगर्मी
कर्णाली प्रदेश अन्तर्गत स्थानीय तहका रिक्त ८ वटा पदमा हुने उपनिर्वाचनमध्ये दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । महावुमा पालिका अध्यक्ष पदकै लागि उपनिर्वाचन हुने भएकाले दलहरूले यसलाई प्रतिष्ठाको विषय बनाएका हुन् ।
हेटौँडा उपमहानगरपालिका–१२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् ।
आगामी आइतबार रामगोपालपुर नगरपालिका–२ मा वडाध्यक्षको निर्वाचन हुँदैछ । मतदातालाई आफ्नो पक्षमा पार्न उमेद्वारहरू मतदाताका घरआँगनमा पुगेका छन् । आसन्न चुनावले उक्त वडामा चहलपहल बढाएको छ ।
निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिका–१६ मा हुने उपनिर्वाचनका लागि अनुगमन टोली खटाउने निर्णय गरेको छ । बुधवार आयोगले ती उपनिर्वाचन क्षेत्रमा अनुगमन टोली खटाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र