‘आवश्यकता र हित हेरेर मात्रै बीआरआई कार्यान्वयन गर्नुपर्छ’
काठमाडौँ । कुन शर्त र कस्तो अवस्थामा चीनसँग ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजना कार्यान्वयन सम्झौता गर्ने भन्नेबारे नेपालले आफ्नो आवश्यकता र हितलाई हेर्नुपर्ने धारणा विभिन्न दलका नेताहरूले राखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण अघि बीआरआई कार्यान्वयनका लागि नेपालले के–कस्तो निर्णय गर्छ भन्नेबारे बहस भइरहेका बेला सत्तापक्ष दलका नेताबाटै नेपालले बीआरआई कार्यान्वयन सम्झौताका लागि हतार गर्न नहुने, नेपालको परराष्ट्र नीतिमा असर पर्ने कुनै पनि विषयमा सम्झौता गर्न नहुने, थप ऋण सम्झौता गर्न नहुनेलगायत धारणा आएका हुन् ।
‘सेन्टर फर सोसल इन्नोभेसन एण्ड फोरेन पोलिसी’ले आज काठमाडौँ आयोजना गरेको नेपालका लागि बीआरआईको रणनीतिक कार्यान्वयन विषयक राष्ट्रिय गोष्ठीका क्रममा बीआरआई परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता गर्न हतार गर्न नहुने धारणा नेताहरूबाट आएको छ । त्यस्तै, बीआरआईले के–के कुरा समेट्छ भनेर नेपाल स्पष्ट हुनुपर्ने पनि उनीहरूको भनाइ छ ।
नेपाली कांग्रेस प्रवक्ता र पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बीआरआई परियोजना कार्यान्वयनसम्बन्धी चीनले पठाएको मस्यौदामाथि नेपालले मुलुकको हित हेरेर सुझबुझपूर्ण निर्णय गर्नुपर्ने बताए । अहिले मुलुकको सार्वजनिक ऋण बढिरहेको बेला थप ऋण सम्झौता गर्न नसकिने बताउँदै उनले बीआरआईको हकमा मात्र नभई सबै खालका दुईपक्षीय र बहुपक्षीय सम्बन्धमा राष्ट्रिय सहमति विकास गर्नुपर्नेमा जोड दिए ।
“अहिले आएको बीआरआई कार्यान्वयन सम्झौताको मस्यौदामा धेरै विषय समेटेर आएको भन्ने सुनेको छु । तर नेपालको स्वार्थलाई केन्द्रबिन्दुमा राखेर कसरी प्रस्तुत हुने भन्ने विषयमा हामी केन्द्रित हुनुपर्दछ”, डा महतले भने, “उनीहरूले आफ्नो राष्ट्रिय हित हेरेर समझदारीको मस्यौदा पठाएका होलान् । त्यसलाई अन्यथा लिन हुँदैन । हामीले पनि राष्ट्रिय हित र आवश्यकता हेरेरै निक्र्यौल गर्ने हो । जहाँनेर दुई पक्षको कुरा मिल्छ, तबमात्र सम्झौता प्रक्रिया अघि बढ्छ । उहाँहरूको प्रस्ताव र हाम्रो प्रस्तावमा धेरै भिन्नता छ भने हतारहतार जे चीनले भन्छ त्यही गर्नुपर्छ भन्ने होइन ।”
अर्को सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जुनसुकै द्विपक्षीय तथा बहुपक्षीय निकायसँगको सम्बन्धकाबारे गहन अध्ययनपछि मात्रै निर्णय लिइनुपर्ने बताए । विगतमा विभिन्न देशसँग कुनै सम्झौतामा हस्ताक्षर भएपछि ती विषयहरू विवादित भएको प्रसङ्ग उठाउँदै ज्ञवालीले परराष्ट्र सम्बन्धमा हतार गर्न नहुने बताए ।
सङ्घीय संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले बीआरआई कार्यान्वयन सम्झौताका लागि चीनले पठाएको मस्यौदामा के छ भन्नेकुरा अहिलेसम्म संसदलाई जानकारी नरहेको बताए । उक्त मस्यौदामाथि छलफलका लागि समितिले परराष्ट्र मन्त्रालयसँग आग्रह गरेको भए पनि मन्त्रालयले समितिलाई थाहा दिन नखोजेको उनको भनाइ छ ।
पूर्वराजदूत तथा सेन्टर फर सोसल इन्नोभेसन एण्ड फोरेन पोलिसीका अध्यक्ष विजयकान्त कर्णले बीआरआई केवल पूर्वाधार र कनेक्टिभिटी परियोजना मात्र नभएर चीनको रणनीतिक पहलका रूपमा रहेको बताए । बीआरआई परियोजना कार्यान्वयन सम्झौतासम्बन्धी मस्यौदामा सामरिक महत्वका विषयहरू पनि परेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारको कार्यालय पुगेर खामभित्र घुस दिने सापकोटाविरूद्ध मुद्दा दायर
-
टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर
-
१२ बजे, १२ समाचार : रवि ६५ लाख धरौटी बुझाएर थुनामुक्तदेखि दुर्गा प्रसाईंका सहयोगीले ३ लाख बुझाउन नसक्दा कारागार चलानसम्म
-
जिप तोडफोड गर्नेविरुद्ध आपराधिक उपद्रव मुद्दा
-
रुपन्देहीमा विभित्र मुद्दामा फरार १२ जना पक्राउ
-
एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान