फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोह पक्राउ
काठमाडौँ । अनलाइनमार्फत ‘घाउ ड्रेसिङ गर्नुपर्ने छ’ भनेर बोलाएर एउटा गिरोहले भक्तपुरमा फार्मेसी सञ्चालकलाई हनिट्रयापमा पारेको छ । भक्तपुर स्थित राधेराधे नजिकै डेरामा बोलाएर उनीहरुले ३३ वर्षीय युवकलाई हनिट्रयापमा पारेर रकम असुलेका हुन् ।
हनिट्रयापमा पारेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम घर भएर नयाँथिमी बस्ने २५ वर्षीय समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका घर भएर स्वयम्भू बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी र २५ वर्षीया वर्षा दर्जी छन् । उनीहरूलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
पक्राउ परेका दीपेन्द्र र वर्ष दाजुबहिनी हुन् । फार्मेसी सञ्चालकले अनलाइनमार्फत घरमा ‘डेसिङ्ग सेवा’ दिँदै आएका थिए । अनलाइनमा सम्पर्कमा आएकी वर्षा दर्जीले युवकलाई भनिन्, ‘मेरो खुट्टाको घाउ ड्रेसिङ गर्नुछ भक्तपुरस्थित राधेराधेमा आउनुस् ।’
मङ्सिर ६ मा ती युवक स्कुटर लिएर राधेराधेस्थित उनले बोलाएको ठाउँमा पुग्छन् । त्यहाँ गएपछि सोध्छन्, ‘खै कसको ड्रेसिङ गर्नुपर्ने हो ?’ वर्षाले भनिन्– ‘मेरो हैन एक जना बुढी आमाको हो, यता डेरामा बस्दै गरौँ ।’
कोठामा पसेको केही बेरामा बाहिरबाट समृद्धि आउँछिन् र उनलाई आरोप लगाउँदै भन्छिन्– ‘मेरो नन्दलाई बलात्कार गर्न खोज्ने ?’ आफू समस्यामा परेको थाहा पाएपछि युवक त्यहाँबाट स्कुटर लिएर हिँड्छन् । त्यसपछि वर्षा आफ्नो दाजु दीपेन्द्र र समृद्धिलाई लिएर फार्मेसीको ठेगानामा पुगेर रकम बार्गेनिङ गर्छिन् ।
बलात्कार मुद्दामा फसाउँछौँ भनेर ८ लाख लिने सर्तमा उनीहरुले कुरा मिलाएको अनुसन्धानबाट थाहा भएको एसपी आचार्यले बताए । उनले भने, ‘पीडितसँग आरोपीहरूले ५० हजार नगद र ७५ हजारको चेक लिएको भेटिएको छ ।’
समृद्धिले पीडितसँग आफू वर्षाको भाउजू भनेकी थिइन् । तर, उनी भाउजू नभएको अनुसन्धानबाट थाहा भएको छ । रकम नदिएमा बलात्कार मुद्दामा फसाउँछौँ भनेर उनीहरू १८ लाखबाट बार्गेनिङ सुरु गरेर ८ लाख लेनदेन गर्ने सर्तमा सहमति गरेको भेटिएको छ । पीडितसँग भक्तपुरको कौशलटारस्थित वेभ सेकुवा कर्नरमा लेनदेन गरेको भेटिएको छ । आरोपीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाएको एसपी आचार्यले जानकारी दिए ।
गिरोहमा संलग्न एक जना फरार छन् । हनिट्रयाप धन्दा सञ्चालन गर्न उनीहरूले भक्तपुरमा कोठा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिद्वारा वैद्यको दस्ताबेज अनुमोदन
-
युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने
-
स्थायित्वको माग गर्दै शिक्षक र कर्मचारीद्वारा नेपाल खुला विश्वविद्यालयमा तालाबन्दी
-
प्रभावकारीरुपमा परिणाममूलक काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन
-
विद्युत् महसुल नतिर्ने उद्योगको सेयर रोक्का गर्न विद्युत् प्राधिकरणको पत्राचार
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण : बीआरआईका कारण अरु एजेण्डा ओझेलमा