रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
२४ फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा सैन्य आक्रमण सुरु गरे यता त्यसले विश्वलाई नै तरङ्गित बनाइदिएको छ । हालसम्म युद्धमा रुसी तथा युक्रेनी गरी झण्डै दुई लाख मानिसले ज्यान गुमाइसकेका छन् । त्यस्तै घाइते हुनेको संख्या झण्डै ३० हजार रहेको बताइएको छ ।
ज्यान गुमाउनेमा १२ हजार युक्रेनी गैरसैनिकसहित सेप्टेम्बरसम्म ७१ हजार रुसी सैनिक र ८० हजार युक्रेनी सैनिकले ज्यान गुमाएको अनुमान छ । तर, गत जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धमा रसियन सेनाभन्दा पाँच गुणा धेरै युक्रेनी सैनिकको हताहती भएको दाबी गरेका थिए ।
अर्कोतर्फ युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले झण्डै ७ लाख रुसी सैनिकले युद्धमा ज्यान गुमाइसकेको बताएका छन् । युद्धको अर्को ‘ब्याटल ग्राउन्ड’ बनेको प्रोपोगान्डा युद्धबिच दुवै पक्षका कति सैनिक र गैरसैनिक मारिए भनी स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
युद्धले दुवै देशको आन्तरिक राजनीतिक बनोटमा समेत हलचल ल्याइदिएको छ । रुस–युक्रेन दुवैतर्फ आफ्नो राजनीतिक नेतृत्वसँग आमनागरिक रुष्ट छन् तर युद्धले जन्माउने राष्ट्रवादका कारण सत्तासीनले गरेको निर्णय मान्न सबै विवश छन् । रुसमा यतिबेला युद्धलाई लिएर भुसको आगोझैँ असन्तुष्टि फैलिरहेको छ, जसरी विश्वभर इजरायलले गाजामा गरेको बमबारीको विरोध भइरहेको छ । तर, हामीलाई रुसी समाजले आजका दिन के सोचिरहेको छ भन्ने धेरै थाहा छैन । त्यसैले आजका दिन रुसी समाज र त्यहाँ विद्यमान राजनीतिक दलहरूले के सोचिरहेका छन् भनेर बुझ्नका लागि हामीले सर्गेई मलिन्कोभिचसँग कुराकानी गरेका छौँ ।
मलिन्कोभिच ‘कम्युनिस्ट अफ रसिया’ पार्टींका अध्यक्ष हुन् र मार्च २०२४ मा भएको राष्ट्रपतीय निर्वाचनका राष्ट्रपति उम्मेदवार हुन् । राष्ट्रपतिको पदका लागि उनीसँगै राष्ट्रपति पुटिन, निकोलाई खारितोनोभ, नियोनिड स्लुत्स्की, भ्लादिस्लाभ दाभान्कोभ, एलेक्सी नेभल्नी, बोरिस नादेजदिन, येकातेरिना डन्ससोभा पनि उम्मेदवार थिए । तर, बोरिस येकातेरिनाले जस्तै सर्गेईले पनि राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन पाएनन् ।
रुसको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिनका लागि केन्द्रीय निर्वाचन आयोगमा एक लाख हस्ताक्षर बुझाउनु पर्छ । अरुले जस्तै सर्गेईले पनि त्यति नै संख्यामा हस्ताक्षर बुझाए तर उनले संकलन गरेको हस्ताक्षर नमिलेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी दर्तालाई नै खारेज गरिदियो र, उनी निर्वाचन दौडबाट बाहिरिए ।
निर्वाचन आयोगको औपचारिक प्रक्रियाबाट जो जसरी बाहिरिए पनि आरोप भने राष्ट्रपति पुटिनलाई लाग्ने गर्छ । चाहे त्यो आरोप एलेक्सी नेभल्नीका कारण लागोस् वा बोरिस नादेजदिनका कारण । केजीबीका पूर्व लेफ्टिनेन्ट कर्णेल पुटिनलाई सन् १९९९ को अन्तिम दिन बोरिस येल्तसिनले कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरेका थिए । उनले सन् २००० देखि २००८ सम्म दुई पटक चार वर्षे कार्यकाल रहेको राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए । सन् २००८ देखि २०१२ सम्म उनी प्रधानमन्त्रीको भूमिकामा रहे ।
संविधान संशोधन गरी राष्ट्रपतिको कार्यकाल ६ वर्षे बनाएपछि पुटिन सन् २०१२ मा फेरि राष्ट्रपतिमा फर्किए । सन् २०२४ मा भएको निर्वाचनबाट उनी फेरि राष्ट्रपतिमा निर्वाचित भए । यस्तो परिदृश्यबिच रुसी समाजले के सोचिरहेको छ भन्नेबारे रातोपाटीका लागि नरेश ज्ञवालीले सर्गेईसँग गरेको कुराकानीको सम्पादित अंश–
- कम्युनिस्ट पार्टीको नेताका रूपमा तपाईंले रुस–युक्रेन युद्धलाई कसरी हेरिरहनु भएको छ ?
हामी यसलाई रुस–युक्रेन युद्ध भन्दैनौँ । यो वास्तवमा रुसले युक्रेनमा सञ्चालन गरेको विशेष सैन्य अभियान हो । हाम्रो पार्टीले आरम्भदेखि नै यो विशेष सैन्य अभियानमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गरिरहेको छ ।
- रुसको आन्तरिक राजनीतिमा तपाईंहरू राष्ट्रपति पुटिनलाई नै समर्थन गर्नु हुन्छ कि यो युद्धलाई मात्रै ?
म आफैँ पछिल्लो अर्थात् सन् २०२४ को निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार थिएँ । पुटिनसँगै मेरो प्रतिस्पर्धा थियो । यसैले म पुटिनको समर्थनमा छु भन्ने कुरै हुँदैन । यो हाम्रो आन्तरिक राजनीतिको कुरा भयो । तर, यसको अर्को पक्ष के हो भने रुस आजका दिनमा विशेष सैन्य अभियानमा छ । र, राष्ट्रपति पुटिन रुसी सेनाका प्रमुख हुन् । उनले यो कारबाहीको नेतृत्व गरिरहेका छन् । त्यसैले हामी उनको निर्णयको पक्षमा उभिएका छौँ । आजका दिनमा रुसका सबै मानिस यो मामलामा पुटिनको पक्षमा उभिएका छन् ।
यो युद्ध सकिएपछि रुसको विकास कसरी गर्ने, शान्तिपूर्ण समाजको निर्माण कसरी गर्ने, अन्तर्राष्ट्रिय जगतमा रुसको भूमिका के हुने भन्ने विषयमा पुटिनसँग हाम्रा धेरै भिन्नता छन् । र, ती पक्कै पनि बाँकी नै रहने छन् ।
- रुसी समाज युद्धलाई लिएर विरोधमा छ वा समर्थनमा ?
विभिन्न समाचारमा आएजस्तै रुसले आफ्नो विशेष सैन्य मिसनमा विजय हासिल गरिरहेको छ । विगत साढे दुई वर्ष यता लडाइँको मैदानमा रुसी सेनाले धेरै अनुभव हासिल गरेको छ । प्रत्येक दिन रुसी सेना बलियो हुँदै गएको छ । सबैलाई थाहा भएकै कुरा हो– युक्रेनलाई पश्चिमा मुलुकहरूले हात–हतियार तथा अन्य सामग्री सहयोग गरिरहेका छन् ।
यी सबैका बाबजुद आफ्नो अनुभव र तागतको बलमा रुसी सेना निरन्तर जित्दै अघि बढिरहेको छ । अर्कोतर्फ, यो सैन्य मिसनमा आम रुसी जनताको अभूतपूर्व समर्थन छ । रुसी जनताहरू स्वतःस्फूर्त रूपमा सेनाका लागि खाद्यान्न तथा अन्य सहयोग जम्मा गरेर पठाइरहेका छन् । यसले रुसी सेनालाई ठुलो नैतिक र भौतिक सहयोग पुगेको छ । जनताको सहयोगका कारण जस्तोसुकै पश्चिमा समर्थन भएता पनि रुसी सेना निरन्तर विजयतर्फ लम्किरहेको छ ।
युक्रेनका राष्ट्रपतिले पश्चिमा शक्तिको उक्साहटमा युक्रेनमा बसोबास गर्दै गरेका रुसीमूलका नागरिकको आधारभूत मानव अधिकार खोस्न तथा देशमा नाजिवादी संगठनलाई हुर्काउनतर्फ लागेपछि रुसले विशेष सैन्य अभियान सञ्चालन गर्नु परेको थियो । यतिमात्र होइन, उनले रुससँग राम्रो सम्बन्ध कायम गर्नुपर्छ भन्ने राजनीतिक दललाई समेत प्रतिबन्ध लगाउन थालेका थिए । उनीहरूलाई संसदबाटै गलहत्याइयो । छेउमै रहेको रुसले यस्तो अवस्थालाई टुलुटुलु हेरेर बस्न नमिल्ने अवस्था बन्यो । फलतः विशेष सैन्य अभियान सुरु भएको थियो । यो अभियानमा हाम्रो पार्टी पुरापुर रुसी सरकारको पक्षमा छ ।
त्यसो त विशेष सैन्य अभियान रोकिन पनि सक्थ्यो तर इस्तानबुलमा भएको छलफललाई युक्रेनी राष्ट्रपतिले लत्याए । हुनसक्छ वाइडेन प्रशासनले उनलाई त्यस्तो गर्न भनेका थिए तर उनीहरूको निर्णय युक्रेनी जनताको पक्षमा भएन । अहिले युक्रेन सम्झौता वा छलफलका लागिसमेत तयार छैन । त्यसैले विशेष सैन्य अभियान अझै केही समय लम्बिन्छ होला ।
- रुस–युक्रेन युद्धमा अमेरिका र नेटोको भूमिकालाई रुसी जनताले कसरी हेरेका छन् ?
रुसले विशेष सैन्य अभियान सञ्चालन गर्दैगर्दा युक्रेनसँग धेरै सैन्य सामग्री थिएन । पश्चिमा शक्तिले ब्यापक सैन्य सामग्री उपलब्ध नगराएको भए यो अप्रेसन धेरै अघि नै सकिन्थ्यो । यो सबै गर्ने अमेरिका र नेटो नै हुन् । उनीहरूले सैन्य सामग्रीमात्रै दिएका छैनन्, सैन्य गतिविधिमा सघाउन सल्लाहकार पनि पठाइरहेका छन् । उनीहरूले यहाँ हस्तक्षेप नगरेको भए युक्रेनमा यति धेरै मानिसको ज्यान पनि जाने थिएन । झण्डै तीन वर्षदेखिको कारबाही पनि पहिले नै सकिन्थ्यो । त्यसैले युक्रेनमा धेरै क्षति हुनुमा अमेरिका र नेटो नै जिम्मेवार छन् ।
जब सन् १९९१ मा सोभियत संघ विभाजित भएर विभिन्न देश बने । नेटोले रुस नजिक आफ्नो संगठन विस्तार नगर्ने समझदारी भयो । तर, तपाईंले नक्सामा हेर्दा प्रस्ट देख्न सक्नुहुन्छ, उनीहरू रुसलाई सबैतिरबाट घेरेर आफ्नो सैन्य अखडा खडा गरिरहेका छन् । रुसले आफ्नो सम्भावित दुश्मनलाई जति नजिक आउन दिन्छ, खतरा त्यति नै बढ्छ भन्ने बुझेको छ । त्यस्तोमा अमेरिका र नेटोले पुरानो सम्झौता लत्याउन मिल्दैन भन्ने रुसी जनता चाहन्छन् ।
- पछिल्लो समय विश्वभर अमेरिकी प्रभुत्व घटिरहेको आकलन छ, यसलाई तपाईंले कसरी हेरिरहनु भएको छ ?
पहिलो कुरा– मलाई लाग्छ, संसारका सबै देश अमेरिकी प्रभुत्वमा रहन चाहँदैनन्, त्यसैले पनि अमेरिकी प्रभुत्व ओरालो लागिरहेको अवस्थामा छ । दोस्रो– अमेरिका आफ्नो एकल प्रभुत्व जोगाउनका लागि भएभरको शक्ति प्रयोग गरिरहेको छ । तेस्रो– हामी अमेरिकी प्रभुत्व भएको विश्व व्यवस्था त चाहँदैनौँ नै, तर हाम्रो कुरा के छ भने संसारमा कसैको पनि एकल प्रभुत्व हुनु हुँदैन । संसारका सबै मुलुक स्वतन्त्र छन् । यी स्वतन्त्र देशहरूको आफ्नो निर्णयका आधारमा नयाँ विश्व व्यवस्था निर्माण गर्नुपर्छ ।
अमेरिकाको पछिल्लो निर्वाचनबाट राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प आउने पक्का भएपछि आममानिसले परिवर्तनको आशा गरेका छन् । तर, मलाई लाग्छ ट्रम्प आउने बित्तिकै अमेरिकाको विदेश नीतिमा कुनै तात्विक भिन्नता देखापर्ने छैन । ट्रम्पले पनि वाइडेनले जस्तै गरी विदेशनीतिको सञ्चालन गर्ने सम्भावना बढी छ । अमेरिकामा जोसुकै राष्ट्रपति भएता पनि उसले आफ्नो विश्वव्यापी प्रभुत्व जोगाउनका लागि र त्यसलाई निरन्तरता दिनका लागि प्रयत्न गर्ने हो ।
विश्व वहुधु्रवीय हुनुपर्छ भन्ने मान्यता राख्ने देशहरूले त्यही भएर भिन्नखाले वैचारिक लडाइँमा सहभागी हुनुपर्ने छ । म फेरि जोड दिएर भन्न चाहन्छु– एकलध्रुवीय विश्व व्यवस्था अन्त्य हुनुपर्छ भनेको अमेरिकी प्रभुत्व सकिएर अर्को मुलुकको प्रभुत्व कामय होस् भन्ने कदापि होइन ।
- रुस–युक्रेन युद्धमा केही नेपाली युवाहरू रुसी पक्षबाट युद्ध मैदानमै छन् भन्ने तपाईंलाईं थाहा छ कि छैन ?
युद्ध मैदानमा रुसी युवामात्रै नभएर नेपाली युवा पनि रुसकै पक्षबाट लडिरहेका छन् भन्ने हामीलाई राम्रोसँग थाहा छ । त्यसैले हामी नेपाली जनताप्रति आभारी छौँ । युद्ध मैदानमा हुने÷नहुने सबै नेपाली दाजु–भाइप्रति हामी उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ ।
- गाजामा भइरहेको इजरायली नरसंहारतर्फ कुरा गरौँ । इजरायलले गाजामा र सिङ्गो प्यालेस्टाइनमा नरसंहार गरिरहँदा युद्ध रोक्न रुसको कुनै भूमिका देखिँदैन, किन ?
गाजाको मामलामा रुस प्रस्ट छ । रुस दुई राज्यको अस्तित्वको पक्षमा मजबुती साथ उभिन्छ । संयुक्त राष्ट्रसंघको घोषणा मुताविक दुवै देशका जनतालाई आफ्नो राष्ट्रको अधिकार छ । यसैलाई लागु गर्नु पर्छ । हामी प्यालेस्टाइनमा इजरायलले गरिरहेको सैन्य कारबाहीको सख्त खिलाफमा छौँ । हामी यो सैन्य कारबाहीको समर्थनमा छैनौँ ।
हामी संयुक्त राष्ट्रसंघले आफ्नो निर्णय किन लागु गर्दैन भनेर प्रश्न गर्छौं । हामीलाई लाग्छ, संयुक्त राष्ट्रसंघले आफ्नो जिम्मेवारी र भूमिकालाई थप सशक्त बनाउनु पर्छ । आफ्नो निर्णय कार्यान्वयन गराउनु पर्छ । उसले प्रस्टसँग दुई राज्यको अस्थित्वमा सबैलाई एकै ठाउँमा उभ्याउन भूमिका खेल्नु पर्छ । तर, दुःखको कुरा के छ भने अमेरिका यो निर्णय लागु गराउनै चाहँदैन ।
यसको अर्को पाटोबाट हेर्दा, इजरायलमा धेरै रुसी बस्छन् । धेरै रुसीसँग इजरायल र रुस दुवैको पासपोर्ट छ । हामी उनीहरूलाई केही नहोस् भन्ने चाहन्छौँ । उनीहरू सुरक्षित रहनुपर्छ अर्थात् हामी इजरायली नागरिकको पनि जीउ–धनको सुरक्षाको चासोलाई समर्थन गर्छौं तर कुनै सैन्य कारबाहीको पक्षमा हुँदैनौँ ।
रुसी कम्युनिष्ट पार्टीका रूपमा हाम्रो धारणा के हो भने– यो युद्ध इजरायलले सुरु गरेको हो । र, इजरायलले नै धेरै मानिस र भौतिक संरचनाको ध्वंस गरिरहेको छ । यति भन्दैगर्दा हामी हमासको गतिविधिको समर्थन गर्दैनौँ । उनीहरूले गर्ने हिंसात्मक गतिविधिले पनि शान्तिको बाटोलाई अप्ठ्यारो बनाइरहेको छ । निर्दोष मानिस दिन प्रतिदिन मरिरहेका छन् । यो सन्दर्भमा हामी प्यालेस्टाइनको पूर्ण समर्थनमा छौँ तर आतंकवादी गतिविधिको पूरापूर विपक्षमा छौँ । शन्तिपूर्ण सहअस्तित्वका लागि दुई राज्य सिद्धान्त लागु हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।
- गाजाको मामिलामा रुसले किन मौनता साँधेको भन्नेमा तपाईंलाई के लाग्छ ?
रुस अहिले आफ्नै सैन्य अभियानमा छ भन्ने सबैलाई जगजाहेर नै छ । ऊ सक्रियतासाथ अन्यत्र संलग्न हुन पाएको छैन । यद्यपि विविध कूटनीतिक च्यानलमार्फत यो युद्ध अन्त्य होस् भनी सक्रिय नै छ ।
- ब्रिक्सको शिखर सम्मेलन भर्खरैमात्र रुसमा सम्पन्न भएको छ । भावी दिनहरूमा ब्रिक्स आफ्नो उद्देश्यमा सफल हुन्छ ? तपाईंलाई के लाग्छ ?
ब्रिक्सलाई हामीहरू निकै गम्भीरता र सम्मानसाथ हेर्ने गर्छौं । यो सम्मान दिने र सम्मान लिने थलो हो । त्यसैले ब्रिक्समा धेरैभन्दा धेरै देश सामेल हुनुपर्छ भन्ने ठान्छौँ हामी । यसमा फरक–फरक धारणा भएका मुलुक पनि छन् । नयाँ देशहरू थपिने क्रममा पनि छन् ।
कसलाई सदस्यता दिने वा नदिने भन्ने मामिलामा पनि छलफल चलिरहेकै छ । त्यसैले गर्दा ब्रिक्सलाई तीव्रस्तरमा अघि बढाउन सकिएको छैन ।
हालैको शिखर सम्मेलनमा पनि आ–आफ्नै मुद्रामा वा क्षेत्रीय मुद्रामा कसरी व्यापार गर्न सकिन्छ भनेर पनि छलफल भयो । यो निकै सकारात्मक पहल हो भन्ने बुझ्छु म । आजका दिनसम्म अमेरिकालाई कुनै देश मन परेन भने वा उसले भनेको मानेन भने डलरकै प्रभुत्वका आधारमा उसमाथि आर्थिक प्रतिबन्ध लगाउने र उसको डलर सिज गर्ने गरिरहेको छ । त्यसैले क्षेत्रीय मुद्रा वा आ–आफ्नै मुद्रामा देशहरूबिच व्यापार हुन सक्यो भने त्यसले अमेरिकी प्रभुत्वलाई न्यूनीकरण गर्न सहयोग पुग्नेछ । ब्रिक्स अहिले जे–जस्तो गतिमा भए पनि हामी जाने दिशा त्यतै नै हो ।
- सोभियत संघको विघटनपछि रुस वा त्यसको वरपरका मुलकहरूमा कम्युनिस्ट आन्दोलनको अवस्था कस्तो छ ?
रुसमा मुख्यतः दुई वटा कम्युनिस्ट पार्टी छन् । एउटाको नेतृत्व मैले गर्ने गरेको छु भने अर्कोको नेतृत्व युगानोवले गर्छन् । युगानोवले अगुवाई गरेको पार्टीले संघीय संसदमा पनि प्रतिनिधित्व गर्छ । हामी संघीय संसदमा छैनौँ । हामी क्षेत्रीय संसद र स्थानीय सरकारमा प्रतिनिधित्व गर्छौं ।
पूर्वी युरोपमा झण्डै २५ प्रतिशतको हाराहारीमा कम्युनिस्ट पार्टी अस्तित्वमा छन् तर नेपालजति प्रभावकारी छैनन् । तर रुसमा भने अवस्था बलियो छ । सोभियत संघको विघटनपछि रुसको कम्युनिस्ट आन्दोलन पनि कमजोर हुन पुगेकै हो । तर, पूर्वी युरोपमा कम्युनिस्ट पार्टीहरूले आफ्नो बलियो धरातल जसरी गुमाए, त्यस्तो अवस्था रुसमा छैन । पूर्वी युरोपमा त कम्युनिस्ट पार्टीप्रति नै अछुतलाई जस्तो व्यवहार गर्न थालिएको छ । बरु पछिल्लो समय बेलारुसमा कम्युनिस्टहरू बलियो हुँदै गएका छन् ।