लुम्बिनी प्रादेशिक इन्धन डिपो : डीपीआर तयार गर्न केयुसँग सम्झौता
![लुम्बिनी प्रादेशिक इन्धन डिपो : डीपीआर तयार गर्न केयुसँग सम्झौता](https://npcdn.ratopati.com/media/news/dipo_v4DXfTBNMY.jpg)
भैरहवा । नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक इन्धन भण्डारण (डीपो) निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा निर्माणका लागि डीपीआर तयार गर्न बुधवार निगमका उपनिर्देशक प्रदीप यादव र केयुको कन्सल्टेन्सी विभाग प्रमुख विवेक बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
एक करोड ९५ लाख ७६ हजार ५७८ रुपैयाँ ५५ पैसामा डीपीआर तयार गर्ने ६ महिनाभित्र डीपिआर तयार गर्ने सम्झौता भएको छ । निगमले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा रोहिणी नदी किनारमा रहेको करिब १४.७ बिघा जमिनमा आधुनिक डिपो निर्माण गर्ने बताएको छ । सो डिपो २०८४ मङ्सिरसम्म स्थानान्तरण गरिने निगमका उपनिर्देशक प्रदीप यादवले जानकारी दिए ।
निर्माण सुरु भएको तीन वर्षमा सक्ने योजना रहेको यस परियोजनाको कुल लागत तीन अर्ब २० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको यादवको भनाइ छ । अहिले भैरहवा–बुटवल मुख्य राजमार्गसँग जोडिएको भलवारीस्थित करिब साढे पाँच बिघा जमिनमा लुम्बिनी प्रादेशिक कार्यालय अवस्थित छ । कुल ५१९ किलोलिटर पेट्रोल, तीन हजार ४० किलोलिटर डिजेल र १४० किलोलिटर मट्टितेल भण्डारण क्षमताका ट्याङ्क रहेका छन् ।
बढ्दो खपतको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून रहेकाले यहाँबाट स्थानान्तरण गर्नुपर्ने भलभारी डिपोका प्रमुख शैलेन्द्र भुसालको भनाइ छ । अहिलेको पेट्रोलको भण्डारण क्षमताले दुई दिन र डिजेलको क्षमताले पाँच दिनको माग मात्रै धान्ने भएकाले स्थानान्तरण गरिने भुसालले बताए ।
भलवारी डिपोमा जग्गा अभावका कारण ट्याङ्कर पार्किङ गर्न समस्या परेको र पार्किङस्थल उपलब्ध गराउन नसक्दा सडकमै रोक्नुपर्ने बाध्यतासमेत रहेको उनको भनाइ छ । ‘डिपो सञ्चालनका क्रममा बढ्दै गएको सुरक्षाको चिन्तालाई मध्यनजर गरी सार्न लागिएको हो । अत्याधुनिक प्रविधिसहित डिपो निर्माण गर्ने छौँ,’ भुसालले भने, ‘डिपो स्थानान्तरण गर्नुपर्ने स्थानीय बासिन्दाको दबाब र बढ्दो पेट्रोलियम खपतलाई सम्बोधन गर्न रोहिणी खोला किनारमा नयाँ डिपो निर्माण गर्न लागेका छौँ ।’
अब, आधुनिक डिपो निर्माणसँगै प्रदेशभरको माग धान्ने ठुलो क्षमताको स्टोरेज ट्याङ्कसमेत बनाइने बताए । भुसालकाअनुसार नयाँ बन्ने डिपोमा डिजेल भण्डारणका लागि तीन हजार किलोलिटर क्षमताको तीन ठुलो भर्टिकल ट्याङ्की निर्माण गरिनेछ ।
यस्तै पेट्रोल भण्डारणका लागि दुई हजार दुई सय ८० किलोलिटर र मट्टितेल भण्डारणका लिग पाँच सय किलोलिटरको ट्याङ्क निर्माण हुनेछ । डिपोमा कम्तीमा १५० वटा ट्रक तथा ट्याङ्क सजिलै आवतजावत गर्न सक्ने पार्किङ स्थल पनि बन्नेछ ।
अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपिआइ) मापदण्डअनुसार निर्माण हुने डिपोमा नयाँ प्रविधिको सुरक्षा प्रणाली जडान गरिने छ ।