म्यानचेस्टर सिटीका प्रशिक्षकको विचित्र व्यवहार : खेल बराबरीमा सकिएपछि अनुहार र टाउकोमा घाउ बनाए !

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको पछिल्लो खेल पनि म्यानचेस्टर सिटीका प्रमुख प्रशिक्षक पेप ग्वार्डिओलाका लागि निराशाजनक रह्यो । मंगलबार राति खेलिएको आफ्नो पछिल्लो खेलमा म्यानचेस्टर सिटी डच क्लब फेयनुर्डसँग ३–३ गोलको बराबरीमा रोकियो ।
पछिल्लो समय एकपछि अर्को निराशाजनक प्रदर्शन गर्दै आएको इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी लगातार ६ खेलमा जितविहीन छ । त्यसैले खेलपछि प्रशिक्षक ग्वार्डिओला निकै विचलित देखिए ।
निरन्तरको हारबाट आक्रोशित बनेका ग्वार्डिओला खेलपछि आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदा विचित्र हालतमा थिए । उनको नाकमा चोट लागेको थियो भने कपालविहीन टाउकोमा पनि जताततै कोतरेको चिन्ह देखिन्थ्यो ।
त्यसपछि सञ्चारकर्मीले म्यान सिटीका अनुभवी प्रशिक्षक ग्वार्डिओलालाई प्रश्न गरे, तपाईँको नाकमा अचानक कसरी चोट लाग्यो ? अनि, तपाईँको टाउकोमा कसले कोतर्यो ?
प्रशिक्षक ग्वार्डिओलाले सहज जवाफ दिए, ‘निरन्तरको निराशाजनक नतिजालाई मैले सजिलै पचाउन सकिन र आफैँले आफैँलाई यसरी चोट पुर्याएँ ।’
ग्वार्डिओलाको अपत्यारिलो जवाफ सुनेर सञ्चारकर्मीहरु पनि स्तब्ध: बनेका थिए । उनले अगाडि भने, ‘मैले आफैँले आफैँलाई चोट पुर्याएँ । यसले मेरो मनलाई शान्त पनि बनायो ।’
फेयनुर्डविरुद्धको खेलमा ३–० को अग्रता लिएर पनि म्यानचेस्टर सिटीले बराबरीमा चित्त बुझाउनु परेको थियो । सम्भवतः त्यसैले पनि प्रशिक्षक ग्वार्डिओला बढी नै आक्रोशित बनेका थिए ।
‘खेल हामीले जित्ने पक्का थियो । हामी ३–० गोलले अगाडि पनि थियौँ । एकाएक खेलमा नाटकीय परिवर्तन भयो र हामीले लगातार तीन गोल खायौँ । पक्कै पनि अहिले हाम्रो खेल स्थिर छैन,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने ।