पोखरामा कांंग्रेस-एमाले वडाध्यक्षको अश्लील गाली, टेबुलमा मुड्की बजारेपछि स्थगित भयो बैठक
पोखरा । कांग्रेस मात्रै उपस्थित भएको कार्यपालिका बैठकबाट करार कर्मचारी हटाउने निर्णय गरेका पोखराका मेयर धनराज आचार्यलाई विशेष नगरसभा बोलाउनुपर्ने बाध्यता आइपरेको छ । कर्मचारीको व्यवस्थापन सहित विभिन्न प्रस्ताव तेर्स्याएर एमालेले विशेष नगरसभा मागेको छ ।
पोखराको कार्यपालिकामा कांग्रेसको बहुमत छ भने नगरसभामा एमाले । एकीकृत समाजवादीबाट एक्लो निर्वाचित मेयर आचार्य एजेन्डाहरू दुई पार्टीको ‘घान’मा हालेर ‘पानीमाथिको ओभानो’ बन्ने दाउमा छन् ।
कात्तिक १४ गते २८ प्राविधिकसहित ३५ कर्मचारी बिदा गर्ने कार्यपालिका बैठकले निर्णय गरेको थियो । एमाले अनुपस्थित उक्त बैठक कोरम पुगेपछि रोक्न नसकेको मेयर आचार्यको तर्क छ । एमाले त्यसपछि निरन्तर आन्दोलित छ । तर सोही बैठकको निर्णय कार्यान्वयन गर्नुअघि उनले सुझाव पेस गर्न भन्दै समिति गठन गरे । कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्न समिति गठन अनावश्यक भएको भन्दै समितिका सदस्यहरूले असहमति जाहेर गरे । समिति त्यसै भङ्ग भयो ।
एमालेले विशेष नगरसभा माग गरेपछि मेयर आचार्य त्यसमै सहमति जुटाउन विभिन्न चरणमा दलहरूसँग बैठक बसिरहेका छन् । नियमित सभा सम्मुखमा भएकोले विशेष नगरसभा सकेसम्म नगर्ने पक्षमा उनी छन् । तर एमाले भने विधि पूर्वक सभा माग गरेकोले विधि अनुसार नै आह्वान गर्नुपर्ने बताइरहेको छ । त्यसकै लागि दैनिकजसो एमाले र काँग्रेसका जनप्रतिनिधिहरूसँग बैठकको शृङ्खला चलिरहेको छ । यद्यपि कर्मचारी विवादको विषय यतिबेला उच्च अदालत पोखरामा विचाराधीन अवस्थामा छ । कार्यपालिकाले हटाउने भनेर निर्णय गरिएका कर्मचारीहरू महानगरमा हाजिर गरेका छैनन् ।
मंगलबार विशेष नगरसभाबारे छलफल गर्न बसेको बैठकमा एमाले र कांग्रेसका वडाध्यक्षबिच चर्काचर्की र मुड्की नै बजार्नेसम्मको अवस्था सिर्जना भयो । बैठकमा सहभागी एक वडाध्यक्षका अनुसार पोखरा एमालेबाट निर्वाचित १५ का अध्यक्ष तोरण बानियाँले कांग्रेसबाट निर्वाचित पोखरा २५ का अध्यक्ष तथा कार्यपालिकाका प्रवक्ता मोति तिम्सिनामाथि जथाभाबी बोल्ने र कुर्सी उठाएर हान्न लागेको बताए । ‘मनपरी बोल्नुभयो । हिर्काउनका लागि कुर्ची नै उठाउनुभएको थियो । वरपरकाले छेकेपछि रोकियो,’ ति अध्यक्षले अघि भने, ‘अवस्था निकै अस्वभाविक देखिन्थ्यो । महानगरको कुनैपनि बैठकमा यसप्रकारको दृश्य देखिएको थिएन ।’ तिम्सिनाले पनि आफूमाथि दुर्व्यवहार भएको बताए ।
‘बैठकमा बोल्दै गर्दा नबोल्नुस् भनेर रुलिङ गर्न कुनै वडाध्यक्षले पाउँ ? मैले त महानगरको वर्तमान अवस्थाबारे बैठकमा कुरा राखिरहेको थिएँ । आफ्ना विचार दिइरहेको थिएँ,’ उनले भने, ‘एक्कासि २० नम्बर वडाका अध्यक्ष गङ्गा केसीले नबोल्नोस् तपाईँ भन्नुभयो । मैले बोल्न छोडिनँ । १५ नम्बरका अध्यक्ष ज्यूले मनपरी गाली गर्न थाल्नुभयो । मुड्की बजार्ने र हुलहुज्जत गर्न खोज्नुभयो ।’ यता १५ का अध्यक्ष बानियाँले भने बैठकको सुरुमै अघिल्लो दिन बोलेका सदस्यले नबोल्ने रुलिङ मेयरबाट भएका कारण आफूहरूले रोक्न खोजेको स्वीकारे ।
‘बैठक बस्दा सुरुमै अघिल्लो दिन बोलेका व्यक्तिहरू दोहोर्याएर नबोल्ने भन्नुभएको थियो । उहाँ (तिम्सिना)ले सोमबारको बैठकमा पनि आफ्ना कुरा राख्नुभएको थियो । मंगलबार पनि बोल्न खोजेपछि अहिले नबोल्नुस् भनेको हो,’ उनले भने, ‘त्यसपछि प्रवक्ताज्यूले नै कुर्सीमा मुड्की बजार्नुभयो । त्यसपछि छलफल गर्ने अवस्था बनेन ।’
बैठकमा उपस्थित सदस्यहरूका अनुसार अश्लील शब्दहरू प्रयोग गरेरै गालीगलौज चलेको थियो भने हात हालाहालको अवस्था बनेको थियो । यही विषयमा सोमबार पनि बैठक बसेको र सहमति नजुटेपछि दुवै पार्टीबाट थप सदस्य सहित मंगलबार बैठक बसेको हो । बैठकमा कांग्रेसबाट दलका नेता दिवशमान प्रधानाङ्गसहित ५ जना वडाध्यक्ष सहभागी थिए भने एमालेबाट दलका नेता राधिका शाही योगीसहित ४ वडाध्यक्ष र एकजना कार्यपालिका सदस्य सहभागी थिए ।
करार कर्मचारीको एजेन्डा दुवै राजनीतिक पार्टीको प्रतिष्ठा बनेको छ । कांग्रेस कुनै हालतमा राख्न नहुने पक्षमा छ भने एमाले कुनै हालतमा अहिले फाल्न नहुने पक्षमा छ । यही कारण पोखरा महानगरमा कांग्रेस र एमालेबिच दुरी बढ्दो छ । मंगलबारको घटनापछि तत्काल बैठक नबस्ने कांग्रेसले जनाएको छ । पुसमा नियमित नगरसभा हुने भएकोले त्यसअघि नै विशेष नगरसभा बस्नुपर्ने अवस्था रहेको छ ।