बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
पूर्वाधार

भैरहवामा अन्तर्राष्ट्रिय उडान ‘तरकारीविनाको भात’जस्तै

बुधबार, १२ मङ्सिर २०८१, १० : ००
बुधबार, १२ मङ्सिर २०८१

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गरेपछि निजी क्षेत्रका व्यवसायीहरू उत्साहित भएका थिए । अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भयो भनेर पर्यटन क्षेत्रमा लगानी हुन थाल्यो ।

२०७९ जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो । त्यसपछि पनि होटल स्थापना गर्ने क्रमले तीव्रता पायो । उद्घाटनसँगै जजिरा एयरलाइन्सले केही महिना उडान गर्‍यो । नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले पनि केही महिना यहाँबाट अन्तर्राष्ट्रिय उडान गरे, तर पछि उडान बन्द गरियो । कारण थियो– यात्रु अभाव र केही प्राविधिक समस्या ।

सरकारले लगानी गरेको विमानस्थल सञ्चालनमा आउनुपर्ने हो तर, भएन । विमानस्थल निर्माण गर्ने क्रममै सरकारले यसको सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार तयार पार्नुपर्ने थियो । विमानस्थल बनिसक्दा पनि विदेश जानका लागि आवश्यक भिसा, स्वास्थ्य परीक्षण, श्रम इजाजत लगायतका काम गराउन काठमाडौँ नै पुग्नुपर्ने बाध्यता पनि रह्यो । त्यसकारण विमानले अपेक्षा अनुसार यात्री पाउन सकेनन् ।

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विमानस्थल सञ्चालनका लागि हामीले पटक–पटक आन्दोलन पनि गर्‍यौँ । सिद्धार्थ सञ्जाल रुपन्देहीले १५ दिन आन्दोलन गर्नुपर्ने अवस्था आयो । हामीले विमानस्थल सञ्चालनको लागि दबाब दिन आन्दोलन गर्दा विमान कम्पनीहरूलाई यो विमानस्थलबाट उडान गर्न केही छुटको व्यवस्था हुनुपर्ने माग पनि गरेका थियौँ । ती छुट जायज थिए । विमान कम्पनीहरूलाई आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, ग्राउन्ड ह्यान्डलिङजस्ता चार्जका विषयमा छुट दिए विमान कम्पनीहरू आउन सक्छन् भन्ने हाम्रो भनाइ थियो । तीमध्ये केही विषयलाई राज्यले बुझेर अहिले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । अहिले हप्तामा २४ उडान तालिका छन् । ५ वटा विमान कम्पनी आएका छन् ।

गौतमबुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान निरन्तरताका लागि हामी निजी क्षेत्र गम्भीर छौँ । अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन चाहिने मुख्य आधार भनेकै यात्रु अर्थात् पर्यटक हुन् भन्ने बुझेका छौँ ।

अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा २४ उडान भएका छन् । तिनलाई निरन्तरता दिनेमात्र होइन, थप बढाउँदै लैजानुपर्ने चुनौती छ । यहाँ सेवा सञ्चालन गरेका विमान कम्पनीहरूको उडानलाई निरन्तरता दिन यात्रु चाहिएका छन् । ती यात्रुका लागि केही भौतिक पूर्वाधारको काम सरकारले गर्नुपर्छ । केही काम हामी निजी क्षेत्रको दायित्वमा छ । सरकारले गर्नुपर्ने पूर्वाधारका काम भनेको श्रम इजाजत भैरहवाबाट दिनुपर्छ । मेडिकल सर्टिफिकेट, मेन पावर कम्पनीहरूको सेवा पनि यहीँ हुनुपर्छ । यसो भयो भने भैरहवाबाटै जो–कोही विदेश जान सक्छ, विदेश जाने प्रक्रिया पूरा गर्नका लागि काठमाडौँ पुग्नै पर्ने बाध्यता अन्त्य गराउनु पर्छ ।  

यात्रुलाई सबै सुविधा दिने अवस्थामा गौतमबुद्ध विमानस्थल पुगेको खण्डमा नारायणीदेखि कर्णालीसम्मका यात्रुहरू गौतमबुद्ध विमानस्थलमा आउँछन् । नारायणीदेखि कर्णालीसम्मका यात्रुहरूको लागि काठमाडौँको तुलनामा पायक पर्ने विमानस्थल हो यो ।

गौतमबुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान निरन्तरताका लागि हामी निजी क्षेत्र गम्भीर छौँ । अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन चाहिने मुख्य आधार भनेकै यात्रु अर्थात् पर्यटक हुन् भन्ने बुझेका छौँ । त्यसका लागि प्रचारप्रसार गर्दै हामीले प्रवाह गर्ने सेवाको गुणस्तरमा जोड दिने गरी योजनाहरू बनाएका छौँ ।

पर्यटकलाई आकर्षित गर्ने विभिन्न तरिका हुन्छन् । निजी क्षेत्रले मात्र ती सबै कुरा सम्बोधन हुन सक्दैन । सडक सञ्जाल, पर्यटकीय क्षेत्रको प्रचारप्रसार, अध्यागमन लगायतका सुविधा सहज उपलब्ध हुने वातावरण राज्यले तयार पार्नुपर्छ । भिसा दिन लामो समय लगाउने, अध्यागमनमा पर्यटकको भिसा चेक गर्दा ३/४ घण्टा उभ्याउने काम पर्यटकमैत्री होइनन् । यस्तै स्थलमार्ग हुँदै आउने पर्यटकहरूलाई अनावश्यक झन्झट दिने काम गर्नुभएन । रुपन्देहीको बेलिहिया नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक आउने सीमा नाका रहेको हाम्रो बुझाइ छ । त्यो नाका थप व्यवस्थित बन्नुपर्छ । स्थलमार्ग हुँदै नेपाल भित्रिने कुल पर्यटकमध्ये ८० प्रतिशत बेलिहिया नाका हुँदै आउने गर्छन् ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई भारतका विभिन्न सहरसँग हवाई सेवामार्फत जोड्न पहल गर्नुपर्छ । यसले गर्दा भारतीय पर्यटकहरू हवाई मार्ग हुँदै भैरहवा आउन सक्छन् ।

अर्कोतिर लुम्बिनी आउने आन्तरिक सडक खासगरी बुटवल–नारायणगढ सडक ५ वर्षदेखि अस्तव्यस्त भएको छ । जसले गर्दा यहाँ आएका पर्यटकलाई चितवनको सौराहा, पर्यटकीय राजधानी मानिने पोखरा जान र आउन निकै सास्ती हुने गरेको छ । सडक वर्षौँसम्म लथालिङ्ग बनाउँदा त्यसको असर अन्य क्षेत्रसँगै पर्यटनमा पनि स्वाभाविक रूपमा पर्नेछ ।

अहिले श्रम कार्यालय यहाँ खुलेका कारण वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति नवीकरणमा केही सहज भएको छ । नयाँ श्रम स्वीकृति लिन पनि सहज हुने व्यवस्था गर्नुपर्छ । अर्कोतिर भ्रमणका लागि विदेश जानेले भिसाका लागि पनि काठमाडौँ धाउनुपर्ने बाध्यता छ । कतिपय मुलुकमा अनलाइनबाट भिसा आवेदन दिन सकिन्छ तर थाइल्याण्डको भिसा अनलाइनबाट दिँदैन । यस्ता कठिनाइलाई हटाउन राज्यले नै पहल गर्नुपर्छ ।

अन्य प्राविधिक विषयमा पनि सरकारले यहाँका यात्रुलाई सहज हुने वातावरण बनाइदिनुपर्ने हुन्छ । यहाँको पर्यटनको विकास हुनु भनेको समग्र लुम्बिनी क्षेत्रकै विकास हुनु हो । यसका लागि विमानस्थलले अन्तर्राष्ट्रिय उडान आकर्षित गर्ने गरी सेवा–सुविधा उपलब्ध गराउनुपर्छ ।

भोलि २/४ महिनापछि विमान कम्पनीहरूले उडान बन्द गर्ने वातावरण नआउला भन्न सकिन्न । त्यस कारणले सबैले यात्रु आउने गरी राज्यले आफ्नो दायित्व पूरा गर्नुपर्छ ।

अहिले हामीले सबै विमानस्थलमा यात्रुहरू आउने–जाने वातावरण सिर्जना गर्नेतिर केन्द्रित छौँ । त्यसमा हामी गर्नुपर्ने काम हामी इमानदारीपूर्वक गर्ने छौँ । सरकारले गर्नुपर्ने काम सरकारीस्तरबाट पनि उत्तिकै इमानदारीपूर्वक भएमा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढ्नु भनेको नेपालको पर्यटन क्षेत्रका लागि खुसीको कुरा हो ।

अहिले उडेका ५ बटा विमानहरू खाडी मुलुकदेखि बुद्धमार्गीको देशका छन् । अन्य देशमा पनि उडान थप्नुपर्छ । हामी यतिमै सीमित हुने, यसैमा रमाउनु गलत हुन्छ । अहिले भइरहेका उडानलाई निरन्तरता दिँदै अन्य विमान कम्पनीहरू यहाँबाट उडान गर्र्ने वातावरण हामीले नै बनाउनुपर्छ । तर, यहाँ अझ पूरा पूर्वाधार बनिसकेको छैन । पूर्वाधार नभइ अहिले अन्तर्राष्ट्रिय विमानहरू आउँदा तरकारीविनाको भात खाएजस्तै भएको छ । त्यसकारण हामीले यात्रु पाउने वातावरण सिर्जना नभएमा हिजो जजिरा एयरलाइन्सको उडान बन्द भएजस्तै फेरि अन्य उडान पनि बन्द हुने हुने कि भन्ने आशङ्का छ ।

भोलि २/४ महिनापछि विमान कम्पनीहरूले उडान बन्द गर्ने वातावरण नआउला भन्न सकिन्न । त्यस कारणले सबैले यात्रु आउने गरी राज्यले आफ्नो दायित्व पूरा गर्नुपर्छ ।

अहिले विमानस्थल चलाउन कार्य गरेकामा सरकारलाई सिद्धार्थ होटल सङ्घ, सिद्धार्थ सञ्जाल लगायतले धन्यवाद दिएका छन् । यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भएपछि भैरहवा क्षेत्र आर्थिक रूपमा चलायमान भएको छ । यसलाई अब थप वृद्धि गर्नतिर सबैले ध्यान दिनुपर्छ । त्यसका लागि सरकारले पूर्वाधार निर्माण गर्ने र निजी क्षेत्रको पक्षबाट यहाँ आउने पर्यटकहरूलाई दिने सेवा सुविधामा ध्यान दिने हो । जस्तै एउटा होटल व्यवसायीले गुणस्तरीय सेवा दिने, ट्राभल एजेन्सी, अन्य साना सवारीहरू पनि पर्यटनमैत्री बन्नुपर्छ ।

भैरहवाका होटलमा कम्तीमा ५ हजार पर्यटक राख्न सक्ने क्षमता छ । उच्चस्तरीय सुविधासहित दैनिक २ हजार पर्यटक राख्न सक्ने क्षमता छ । विमान कम्पनीहरूले यात्रु नभएमा आफ्नो खर्च गरेर यहाँ विमान ल्याउँदैनन् । विमान कम्पनीहरूले यात्रु पाउनका लागि हामीले भैरहवा, लुम्बिनीजस्ता क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने सेवा–सुविधा उपलब्ध गराउनुपर्छ ।

यसका अतिरिक्त बुद्धमार्गी देशहरूबाट पर्यटकलाई भित्र्याउन विशेष पहल गर्नुपर्छ । उनीहरूको प्रमुख गन्तव्य लुम्बिनी हो । श्रीलंका, थाइल्यान्ड जस्ता देशमा पुगेर हामीले यसका लागि मार्केटिङ गरेका छौँ । अब चीन तथा अन्य देशहरूमा मार्केटिङ गर्ने योजना बनाएका छौँ । त्यहाँ रहेका ट्राभल एजेन्ट्सका साथै नेपाल टुरिजम बोर्डसँग मिलेर विदेशी पर्यटकलाई लुम्बिनी भ्रमणका लागि प्रेरित गर्ने उद्देश्यले विदेशमा प्रचारका लागि आग्रह गर्नेछौँ ।

पर्यटन क्षेत्रको विकास हुँदा यहाँको समग्र विकास हुन्छ । जस्तै होटल चलायमान हुँदा कम्तीमा ८० प्रतिशत स्थानीय बस्तुको प्रयोग हुन्छ । जसले गर्दा किसान, खाद्य पसल, रोजगारको क्षेत्रमा फाइदा हुन्छ र राज्यलाई कर पनि उठ्ने छ । त्यसकारण विमानस्थलसँग सिधै लुम्बिनी र देशकै विकास जोडिन्छ । यो कुरालाई बुझेर सरकारले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरतामात्र होइन, थप बढाउने गरी प्रस्ट योजनाका साथ काम गर्नुपर्छ ।

 (सिद्धार्थ होटल एसोसिएसन अफ नेपाल (सान) का अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश उपाध्यक्ष चन्द्रप्रकाश (सिपी)श्रेष्ठसँग रातोपाटीका लागि तेजेन्द्र केसीले गरेको कुराकारीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चन्द्रप्रकाश श्रेष्ठ
चन्द्रप्रकाश श्रेष्ठ
लेखकबाट थप