विपद् प्रभावित रोशीमा सोलारबाट उज्यालो
मकवानपुर । गत असोजको विपदबाट प्रभावित भएको काभ्रेस्थित रोशी गाउँपालिकामा सोलार प्यानलबाट विद्युत् पुर्याइएको छ । चिनिया सहयोगमा रोशी गाउँपालिका वडा नम्बर–११, भीमखोरीका ८० घरधुरीमा सोलार प्यानलमार्फत विद्युत् सेवा पुर्याइएको हो ।
असोज १० देखि १२ गतेसम्मको वर्षाका कारण आएको बाढी पहिरोले सो स्थानको विद्युत् सेवामा क्षति पुगेको थियो । बाढी पहिरोका कारण सो गाउँमा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको घर तथा बिजुलीको पोल र ट्रान्सफर्मरमा समेत क्षति पुगेको थियो ।
विपद् प्रभावित उक्त गाउँमा चिनियाँ सहयोगमा सोलार मार्फत ‘उज्यालो’ बत्ती बालिएको हो । बाढी र पहिरोको कारण राष्ट्रिय प्रसारण लाइनको विद्युतविच्छेद भएको सो स्थानमा चीनको ह्वायान टेम्पल अफ छोङछिङको सहयोगमा ८० घरधुरीलाई सोलार बत्ती उपलब्ध गराइएको हो ।
नेपालस्थित चिनियाँ दूतावासमार्फत उक्त टेम्पलले रोशी गाउँपालिका र रसुवाको आमा छोदिङमो गाउँपालिका र गोदावरी नगरपालिकामा ‘गाउँ उज्यालो बनाऊँ परियोजना’मार्फत सहयोग गरेको थियो । दुर्गम गाउँलाई स्थिर प्रकाश प्रदान गर्दै जीवनस्तर सुधार गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको परियोजनाका नेपाल प्रतिनिधि मानबहादुर तामाङले बताए । परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका ५०० घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्य बत्ती प्रदान गर्ने उनले बताए ।
विद्युतको केन्द्रीय प्रसारण नपुगेको सो गाउँमा जडान भएको सोलार बत्तीबाट स्थानीयको रात्रिकालीन जीवनलाई सहज बनाउनुका साथै विद्यार्थीलाई अध्ययनका लागि अनुकूल वातावरण सिर्जना भएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार असोजको विपदमा परेर रोशीमा १२ जनाले ज्यान गुमाएको, ५ सय ४ घरधुरी पूर्ण क्षति हुनुका साथै २ हजार ५४४ घरधुरीका खेतबारी र पशुपक्षी नष्ट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पासाङले मागे ‘कृषि र उत्पादन’को जिम्मेवारी
-
मुख्यमन्त्रीले जवाफ नदिए प्रदेश सभा अवरुद्ध गर्ने माओवादीको चेतावनी
-
मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको ६४ किलो केक नष्ट
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स