उपनिर्वाचन : हेटौँडा–१२ का उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त
![उपनिर्वाचन : हेटौँडा–१२ का उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त](https://npcdn.ratopati.com/media/news/eer_GJ5axaAj64.jpg)
बागमती । हेटौँडा उपमहानगरपालिका–१२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् ।
चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । सबै उम्मेदवारले वडामाका समस्या समाधान गरी विकास– निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।
गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त छ । रिक्त वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको छ ।
हेटौँडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजेश नगरकोटी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले रविन प्रधानलाई उम्मेदवार बनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि ठूला दललाई चुनौती दिँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रास्वपाले आशावीर बल, एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा छन् । सो वडामा उपनिर्वाचनका लागि नौ दलका नौ जना र स्वतन्त्र तीन जना गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य दलबिच नै प्रतिष्पर्धा हुने
गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मुख्य तीन दलबिच तीव्र प्रतिस्पर्धा भएकामा अहिले पनि कडा प्रतिस्पर्धा हुने छ । माओवादी केन्द्रलाई आफ्नो पुरानो साख जोगाउने चुनौती छभने एमाले र कांग्रेसलाई पनि यो वडा प्रतिष्ठाको विषय बनेको छ ।
गत २०७९ वैशाखमा सम्पन्न निर्वाचनमा माओवादी केन्द्रका ललितबहादुर घलानले एक हजार तीन सय ७१ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुन तिवारीले एक हजार तीन सय ४० मत ल्याउँदा एमालेका राजेश नगरकोटीले एक हजार तीन सय २५ मत ल्याए ।
माओवादी केन्द्रबाट नयाँ उम्मेदवार हुँदा कांग्रेस र एमालेले पुरानै उम्मेदवारलाई मैदानमा उतारेका छन् । यसले यहाँ चुनावलाई रोचक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढानीलकण्ठबाट पक्राउ परेका २३ जना भारतीय सार्वजनिक
-
युरोप निर्यात हुन थाले सुपारीको पातका बटुका
-
ज्ञानेन्द्र शाहीको प्रश्न : बर्दी लगाएका प्रहरीलाई जाँड खाएर कुट्न छुट दिएको हो ?
-
एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि बालेनले भने– सरी नानु !
-
सामाजिक सञ्जाल विधेयक सच्चाउन सरोकारवालको माग
-
‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’