बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म

बुधबार, १२ मङ्सिर २०८१, ०० : ०५
बुधबार, १२ मङ्सिर २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. सामाजिक सुरक्षा कोष स्थापनाको ६ वर्ष, चुनौतीका चाङमाथि कोष 
सातौँ वर्षमा प्रवेश गरेको सामाजिक सुरक्षा कोषका सामु चुनौतीका चाङ छन् । विभिन्न कठिनाइका बिच स्थापनाको ६ वर्ष पूरा गरेको कोष विभिन्न चुनौती सामना गरिरहेको छ । कोषमा थुप्रिएको अर्बौं रकमको लगानी नहुनु, श्रम ऐन अनुसार श्रमिक तथा रोजगारदातालाई कोषमा आबद्ध गराउन नसक्नु, वैदेशिक रोजगारीमा रहेका श्रमिकको योगदान नियमित गर्न नसक्नुजस्ता समस्या प्रमुख छन् । ती समस्या समाधान गर्न कोषलाई गाह्रो परेको देखिन्छ ।

२. कीर्तिपुर फिल्ड रिपोर्ट
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच कडा प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ । कीर्तिपुर नगरपालिका प्रमुख पदमा कांग्रेसबाट नगर समितिका सभापति कृष्णमान डंगोल, एमालेबाट केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नम्बर १० का अध्यक्ष डा. सुरेन्द्र मानन्धर र माओवादीबाट प्राडा। शिवशरण महर्जन उम्मेदवार छन् ।

३. सहकारी ठगी प्रकरण
अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएन । मंगलबार काठमाडौँ ल्याउने भनिए पनि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा राखिएको छ । उनलाई थप १५ दिन हिरासतमा राख्न मंसिर ९ मा कास्की प्रहरीले अदालतबाट म्याद लिएको थियो । 

४. एमाले नेता कारागार चलान 
पोखराको प्राइम सहकारी ठगीको आरोपमा पक्राउ परेका नेकपा एमाले तनहुँका नेता शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो ।

५. पूर्वमन्त्री जोडिएको मानव तस्करी प्रकरण
कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले आफू जोडिएको मानव बेचबिखन र लिखत किर्ते मुद्दामा आफैँ पीडित भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई मुद्दा नचलाउने निर्णय गरिसकेको छ । 

६. समाजवादीका ३४४ नेता बेरोजगार 
महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कार्यविभाजन नहुँदा नेकपा एकीकृत समाजवादीका नेताहरू जिम्मेवारीविहीन बनेका छन् । महाधिवेशनपछि पार्टीमा व्यापक उत्साह र एकता कायम हुनुपर्नेमा उल्टो निराशा बढेको नेताहरूको गुनासो छ । संगठन निर्माणमा सुस्तता आएको उनीहरू बताउँछन् ।

७. बक्यौता विवाद
नियमनकारी निकाय विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई अहिले सबै निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको छ । सोमबार आयोगले प्राधिकरणलाई मन्त्रिपरिषद्को निर्णय अनुसार बक्यौता उठाउन र अरू निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको हो । 

८. सुन किन्नेको भीड (फोटोफिचर)
सुनको मूल्य घटेपछि बजारमा गरगहना किन्नेको भिड लागेको छ । सरकारले भन्सार दर घटाइएसँगै नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

९. सभामुख स्वदेश फिर्ता 
पाँच दिने कम्बोडिया भ्रमण सकेर सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट मंगलबार साँझ ८ बजे काठमाडौं फर्किएका हुन् । सभामुख कम्बोडिया रहेका बेला प्रतिनिधि सभा सचिवले भने राजीनामा दिएर हिँडेका छन् ।

१०. रोजगारका लागि विदेश जानेहरु मिटरब्याजीको ट्रयापमा 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीहरुको ट्रयापमा पर्ने गरेको बताएका छन् । 
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई बैंकहरुले ऋण नदिँदा उनीहरू ‘डेप्थ ट्रयाप’मा पर्ने गरेको बताएका हुन् ।

११. कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई कुराए दिनभर
मंगलबार कानुन मन्त्रीले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई दिनभर कुराएको विषयले चर्चा पाएको छ । न्याय परिषद्का एक सदस्यका अनुसार दिनभर कानुनमन्त्रीले कुराउनु भयो र अन्तिममा आउन नसक्ने र प्लेन नउडेको भनी जवाफ आएपछि परिषद बैठक निर्णय नगरी टुंगियो । मन्त्रीले अर्को दिनको बैठकमा आउँछु भनेकाले पुनः बैठक बस्ने ती सदस्यले बताए ।

१२. आईसीसीको प्रतिनिधिमण्डलद्वारा क्रिकेट मैदान निरीक्षण 
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल .आईसीसी)का प्रतिनिधिले पोखरा रङ्गशालास्थित क्रिकेट खेल मैदानको निरीक्षण गरेका छन् । आइसिसीको टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि पोखराको क्रिकेट खेल मैदान निरीक्षण गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहित पोखरा पुगेको टोलीमा आईसीसीका सिनियर म्यानेजर रोहित पोदार र एसिया रिजनका डेभलपमेन्ट म्यानेजर मोहमद इमान्युल इस्लाम सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप