पश्चिमाहरूले गरेको प्रतिरोधपूर्ण आक्रमण विश्व समस्याको मूल कारण हो : एकीकृत समाजवादी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले उदाउँदो बहुध्रुवीय विश्व व्यवस्थाका विरुद्ध पश्चिमाहरूले गरेको प्रतिरोधपूर्ण आक्रमणहरू नै आजको विश्वको समस्याहरूको मूल कारण भएको बताएको छ । कम्बोडियाको राजधानी नोम पेन्हमा नोभेम्बर(२१–२३) मा भएको अन्तर्राष्ट्रिय एसियाली राजनीतिक दलहरूको सम्मेलन (आइक्याप)को १२औँ महासभामा उक्त धारणा राखेको हो । पार्टीको तर्फबाट भाग लिन गएका विदेश विभाग सचिव डा. शंकर खतिवडाले लिखित धारणा राखेका थिए ।
उनले भू–राजनीतिक चासो, शक्ति संघर्ष, अर्को मुलुकको सार्वभौमिकतामा हस्तक्षेप, सैन्य गठबन्धन जस्ता विश्वव्यापी अस्थिरताहरू आजको विश्व समुदायले भोगिरहेको र यिनै अस्थिरताका कारणले गर्दा आज समग्र विश्वमा कहालीलाग्दा मानवीय संकटहरु निम्तिएको निष्कर्ष निकालेको छ । सोही कारण मानव सभ्यताको विकासका आधारहरू शान्ति र मेलमिलाप संकटमा परेको छ खतिवडाले धारणा राखे ।
यस्तो छ महासभामा एकीकृत समाजवादीले राखेको धारणा :
सम्माननीय आइक्याप अध्यक्षज्यू,
प्लेनरिसत्रका अध्यक्ष ज्यू,
विशिष्ट प्रतिनिधि ज्यूहरू,
महिला तथा सज्जनवृन्द,
शान्तिको प्रतीक गौतम बुद्धको देश नेपालको तर्फबाट हार्दिक अभिवादन !
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट, म यस महत्त्वपूर्ण महासभा आयोजना गरेकोमा अन्तर्राष्ट्रिय एसियाली राजनीतिक दलहरूको सम्मेलन (आइक्याप) प्रति हार्दिक आभार व्यक्त गर्दछु । क्याम्बोडियन पीपुल्स पार्टी (सीपिपि) का अध्यक्ष तथा १२ औँ आइक्याप महासभाका मानार्थ अध्यक्ष महामहिम हुन सेन, सीपिपिका उपाध्यक्ष तथा क्याम्बोडियाका प्रधानमन्त्री महामहिम हुन मानेट, र १२ औँ आइक्याप महासभाका अध्यक्ष महामहिम पार्क सोखोनलाई स्थानीय आयोजकको रूपमा यस ऐतिहासिक सहर नोमपेनमा यहाँहरुले गर्नुभएको भव्य आतिथ्यका लागि विशेष आभार व्यक्त गर्दछु ।
यस प्लेनरि सत्रका अध्यक्षज्यू,
शान्ति र मेलमिलाप सधैँ मानव विकास, प्रगति र समृद्धिको केन्द्रमा रहेका हुन्छन् । शान्ति र मेलमिलाप आधुनिकीकरण र सामूहिक विकासको आधार समेत हुन् । यद्यपि, आज हामीले आफैँलाई प्रश्न गर्नुपर्ने भएको छ ? के हामी आज साँच्चै विश्व शान्ति र मेलमिलापतर्फ अघि बढिरहेका छौँ त ? दुर्भाग्यवश, हामी त्यसतर्फ अघि बढिरहेका छैनौँ । भू–राजनीतिक द्वन्द्व, आर्थिक असमानता, वातावरणीय क्षयीकरण र सांस्कृतिक विभाजनले आज गम्भीर खालका विश्वव्यापी अस्थिरताहरू सिर्जना गरेका छन् ।
महिला तथा सज्जनवृन्द,
आजको यो अस्थिरतायुक्त विश्वमा दुई समानान्तर घटनाहरू एकसाथ घटिरहेका छन् । एकातिर, दोस्रो विश्वयुद्धपछि पश्चिमा शक्तिहरूको नियन्त्रणमा स्थापित विश्व व्यवस्था, जसमा अमेरिका र यसका सहयोगीहरूको प्रभुत्वमा स्थापित एकध्रुवीय विश्व व्यवस्था धेरै हिसाबले कमजोर हुँदैछ भने अर्कोतर्फ, नयाँ र समावेशी बहुध्रुवीय विश्व व्यवस्थाको उदय हुँदैछ । ग्लोबल साउथको उदय, ब्रिक्सको विस्तार, एसियाको तीव्र विकास र बहुपक्षीयतामा आधारित व्यवस्थाको सुरुवात नयाँ विश्व व्यवस्थाका लागि आशालाग्दा घटनाहरू हुन् । यद्यपि, नयाँ विश्व व्यवस्थाको उदयले पश्चिमा शक्तिहरू थप आक्रामक बनेका छन् र जुन कुनै हतकण्डा अपनाएर पनि आफ्नो पुरानो प्रभुत्व कायम राख्न चाहन्छन् । तसर्थ, पश्चिमा शक्तिहरूले विद्यमान विश्व व्यवस्थामा आएको यो परिवर्तनलाई आक्रामक ढङ्गले प्रतिरोध गरिरहेका छन् । जुन प्रतिशोधपूर्ण आक्रमकताहरू विभिन्न क्षेत्रहरूमा युद्धको रूपमा प्रकट भइरहेको हामीले देखिरहेका छौँ । तसर्थ, उदाउँदो बहुध्रुवीय विश्व व्यवस्थाका विरुद्ध पश्चिमाहरूले गरेको प्रतिरोधपूर्ण आक्रमणहरू नै आजको विश्वको समस्याहरूको मूल कारण हो । जसले गर्दा भू–राजनीतिक चासो, शक्ति संघर्ष, अर्को मुलुकको सार्वभौमिकतामा हस्तक्षेप, सैन्य गठबन्धन जस्ता विश्वव्यापी अस्थिरताहरू आजको विश्व समुदायले भोगिरहेको छ । यिनै अस्थिरताका कारणले गर्दा आज समग्र विश्वमा कहालीलाग्दा मानवीय संकटहरु निम्तिएको छन् र मानव सभ्यताको विकासका आधारहरू शान्ति र मेलमिलाप संकटमा परेको छ ।
विशिष्ट प्रतिनिधिहरू,
विश्वव्यापी सङ्कटको यस घडीमा अधिक सन्तुलित र समावेशी बहुध्रुवीय विश्व व्यवस्था अनिवार्य छ । हामीले आपसी सहयोग, सहअस्तित्व, सहकार्य, आपसी सम्मान र साझा समृद्धिलाई प्रवर्द्धन गर्नुपर्छ । बहुपक्षीयता र विश्वव्यापी शासन व्यवस्थालाई सुदृढ पार्न, अविकसित राष्ट्रहरूमा निष्पक्ष व्यापार र लगानी मार्फत आर्थिक सहयोगलाई प्रोत्साहन गर्न, र आर्थिक असमानतालाई कम गर्न तत्काल आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । यसले मात्र शान्ति र मेलमिलापको वातावरण सिर्जना गर्न सक्छ ।
यसका अतिरिक्त आज पर्यावरणीय चुनौती झन् भयावह संकटको रूपमा देखा परिरहेको छ । विकसित मुलुकहरूले लापरबाहीपूर्ण ढंगले ग्रिनहाउस ग्यास उत्सर्जन गर्दा जलवायु परिवर्तनलाई तीव्र बनाएको छ । जसले गर्दा नेपालजस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरूलाई गम्भीर खतरा पुर्याएको छ । नेपालको लागि, जलवायु परिवर्तन केवल वातावरणीय मुद्दा होइन ? यो जलवायु आतंकवाद हो । हाम्रा हिमालहरू पग्लिरहेका छन्, पारिस्थितिकी प्रणालीहरू जोखिममा छन् र अप्रत्याशित विपद्हरू वर्षेनी बढ्दै गइरहेका छन् । ग्रिनहाउस ग्याँसको उत्सर्जनमा न्यूनतम योगदान दिएर पनि, हामी यी विनाशकारी प्रभावहरूको मारमा परिरहेका छौँ । यो गम्भीर अन्याय हो । यो अन्यायलाई तुरुन्त सम्बोधन गर्नुपर्छ । म समग्र नेपालीको तर्फबाट यस सम्मेलनमा उपस्थित हुनुभएका सम्पूर्ण राजनीतिक दलहरू र राजनीतिक दलका जिम्मेवार नेताहरूलाई यस गम्भीर अन्यायको बारेमा ध्यानाकर्षण गराउन चाहन्छु ।
जलवायु परिवर्तनलाई सम्बोधन गर्न हामीले अन्तर्राष्ट्रिय सहयोग मार्फत वातावरणीय संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्छ । यसमा ग्रिन हाउस ग्यासको उत्पादन कम गर्नका लागि नवीकरणीय ऊर्जाको प्रयोग, दिगो कृषिको अवधारणाको विकास, कार्बन मूल्यको यथोचित वितरण र जलवायु मैत्री पूर्वाधारमा लगानी जस्ता अत्यावश्यक कदमहरू तत्काल चालिनुपर्छ । यसका लागि विकसित मुलुकहरू थप जिम्मेवार बन्नुपर्छ ।
अन्त्यमा,
आज विश्वले भोगिरहेको मानवीय तथा प्राकृतिक संकटहरू समाधान गर्नको लागि अर्थपूर्ण बहुपक्षीय संवाद मार्फत कूटनीतिक पहल कदमी आवश्यक छ । सम्मानजनक बहुपक्षीय संवाद मात्र यी वर्तमान विश्वव्यापी मुद्दाहरू समाधान गर्ने उपयुक्त मार्ग हो । तसर्थ, यस १२औँ आइक्यापको महासभाको मुख्य विषयवस्तु शान्ति र मेलमिलापको खोजू भन्ने विषय वर्तमान विश्वव्यापी सन्दर्भमा एकदमै सान्दर्भिक हुन आएको छ । आइक्यापले आजका यी ज्वलन्त विश्वव्यापी समस्याहरूलाई समाधान गर्न, क्षेत्रीय र वैश्विक शान्ति कायम गर्न विशेष भूमिका खेल्न खेल्नुपर्छ ।
यस प्लेनरि सत्रका अध्यक्षज्यू,
म यस महासभाको भव्य सफलताको लागि शुभकामना व्यक्त गर्दछु । यो महासभाले विभिन्न पार्टीका नेताहरू र राजनीतिक दलहरू बिचको आपसी सहयोग र सहकार्यलाई थप सुदृढ बनाओस् । हामी सबैका लागि उज्ज्वल र थप न्यायपूर्ण भविष्यको मार्ग प्रशस्त गर्ने कुराको पहलकदमी गरोस् । शुभकामना !
धन्यवाद !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड