दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने आजपाको निर्णय
काठमाडौँ । आम जनता पार्टी (आजपा)ले दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । मंगलबार काठमाडौँको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले भ्रष्ट र भगौडाहरुको पक्षपोषण गर्ने दलाल दलतन्त्रको अन्त्य गर्दै जनताको सर्वोच्चतासहितको शासन सत्ता स्थापित गराउन पूर्वघोषित तेस्रो जनआन्दोलनको मजबुत आधार खडा गर्न संघर्षका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउने निर्णय गरेको हो ।
यस्तै बैठकले केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै संघर्षका कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । आजपाले सरकारको मनोमानी कर आतंकविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाउन काठमाडौँ उपत्यका विशेष कमिटीलाई जिम्मेवारी तोकेको छ । काठमाडौँ उपत्यका विशेष कमिटीले विगतमा काठमाडौँमा सरकारको मनोमानी कर आतंकविरुद्ध विरोध प्रदर्शन गरेको थियो । उसकै नेतृत्वमा आन्दोलन कार्यक्रम अगाडि बढाउने निर्णय स्थायी कमिटी बैठकले गरेको छ ।
यसैगरी विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कायम गर्नुपर्ने आन्दोलनको अगुवाइ आम विद्यार्थी मोर्चाले गर्नेछ । आम विद्यार्थी मोर्चाले विगतमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै आन्दोलन गर्दै आएको छ । वैदेशिक रोजगारका ठगविरुद्धको आन्दोलनका कार्यक्रम आइटी आर्मीको नेतृत्वमा हुनेछ । बैठकले आइटी आर्मीलाई वैदेशिक रोजगारका ठगविरुद्धको आन्दोलनलाई निष्कर्षमा पुर्याउन जिम्मेवारी तोकेको हो ।
यस्तै बैंक, लघुवित्त र सहकारी ठगविरुद्धको आन्दोलन आजपाको कोसी प्रदेश र गण्डकी प्रदेश कमिटीले अगाडि बढाउने छ । बैंक, लघुवित र सहकारी ठगविरुद्धको आन्दोलन आजपाले गर्दै आएकोमा यसलाई कडा बनाउने निर्णय गरेको छ । यसैगरी भ्रष्टाचारविरुद्धको आन्दोलन सातै प्रदेशमा कडा रूपमा अगाडि बढाउने निर्णय बैठकले गरेको प्रवक्ता साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आन्दोलनका कार्यक्रमलाई कडा रूपमा अगाडि बढाउन निर्देशन दिएका छन् । विगतका आन्दोलनको समीक्षा गर्दै आन्दोलनलाई थप कडा बनाउने निष्कर्ष बैठकको छ ।
यसैगरी बैठकले पार्टीको सदस्यता वितरण तथा संगठन विस्तारलाई अभियानको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टी सदस्यता वितरण सम्बन्धी कार्यविधि – २०८१ बैठकले सर्वसहमतिले पारित गरेको छ ।
बैठकले पार्टीको केन्द्रीय कमिटीलाई पुनर्गठन समेत गरेको छ । प्रभु साह अध्यक्ष रहेको केन्द्रीय कमिटी दुई सय ८९ सदस्य बनाइएको छ । आमन्त्रित, स्थायी कमिटी, पदाधिकारीसहित केन्द्रीय कमिटी बिस्तार गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीडेनको विद्यालयमा कम्तीमा ५ जनामाथि गोली प्रहार
-
एआईसम्बन्धी नीति मस्यौदा सार्वजनिक (पूर्णपाठ)
-
फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि
-
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने टोलीको बिदाइ
-
दोस्रो विश्वविद्यालय खेलकुद भोलिदेखि
-
कांग्रेसलाई विज्ञको सुझाव– ५ जना नयाँ साथी बनाउने, २ जनालाई भोट हाल्न लगाउने