एकीकृत समाजवादीका ३४४ नेता पाँच महिनादेखि बेरोजगार !
काठमाडौँ । महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कार्यविभाजन नहुँदा नेकपा एकीकृत समाजवादीका नेताहरू जिम्मेवारीविहीन बनेका छन् ।
महाधिवेशनपछि पार्टीमा व्यापक उत्साह र एकता कायम हुनुपर्नेमा उल्टो निराशा बढेको नेताहरूको गुनासो छ । संगठन निर्माणमा सुस्तता आएको उनीहरू बताउँछन् ।
गत असारमा सम्पन्न दशौँ महाधिवेशनपछि पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्दा नै पार्टीभित्र देखिएको असन्तुष्टिलाई सम्बोधन नगर्दा केन्द्रीय नेताहरूको कार्यविभाजनमा समेत असर परेको नेताहरूको भनाइ छ ।
२०७८ सालमा एमालेबाट विद्रोह गर्दै गठन भएको एकीकृत समाजवादीले गत असार १६–२१ मा दशौँ महाधिवेशन गरेको थियो । महाधिवेशनले पार्टी पदाधिकारीहरू सर्वसम्मत चयन गर्न म्याण्डेट दिए पनि त्यसविपरीत अध्यक्ष र महासचिवबाहेक अरू पदाधिकारी चयन गर्न मतदान भएपछि पार्टीको एक समूह असन्तुष्ट बनेको थियो । पार्टीका कतिपय नेता तथा सांसद त्यसबेलादेखि नै निष्क्रिय बस्दै आएका छन् ।
रामकुमारी झाँक्रीदेखि प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढालगायतका नेता पार्टी कामबाट निष्क्रिय बनेका छन् । केही नेता निष्क्रिय बसेपछि पार्टीमा एकता र उत्साह जगाउन भन्दै जीवनराम श्रेष्ठ, विजय पौडेल, देव सिंह, हरि पराजुली लगायतले निर्वाचित पदाधिकारी खारेजीको मागसहित अध्यक्ष माधवकुमार नेपाललाई ज्ञापनपत्र नै बुझाएका थिए ।
नेताहरूले असोज तेस्रो साता ज्ञापनपत्र बुझाएपछि अध्यक्ष माधवकुमार नेपालले असन्तुष्ट पक्षका नेताहरूलाई बोलाएर चाँडै कार्यविभाजन हुने र पार्टीले दिएको जिम्मेवारी लिन आग्रह गरेका थिए । नेपालसँगको छलफलमा असन्तुष्ट पक्षका नेताहरूले जिम्मेवारी लिने तर महाधिवेशनमा भएका कमजोरीको समीक्षा हुनुपर्ने सर्त राखेका थिए ।
असन्तुष्ट नेताहरूको यो सर्त मान्न अध्यक्ष नेपाल त्यसबेला तयार देखिए पनि डेढ महिना बित्दासमेत केन्द्रीय समिति बैठक बोलाएका छैनन् । ‘महाधिवेशन सकिएको पाँच महिना हुन लाग्यो, अहिलेसम्म नेताहरूको कार्यविभाजन भएको छैन । सधैँ छलफलमात्र भइरहेको छ भन्ने सुनिन्छ’, जीवनराम श्रेष्ठले व्यङ्ग्य गर्दै भने, ‘हाम्रो पार्टी अब छलफलमै सकिएलाजस्तो पो छ !’
श्रेष्ठले पार्टीको कार्यक्रम ल्याउन, नेताहरूलाई जिम्मेवारी दिनु भनेर नेतृत्वको ध्यानाकर्षण गराएको पनि महिनौँ बित्न लागेको भन्दै सुनुवाइ नभएको गुनासो गरे । ‘किन के नमिलेको हो ? म आफैँ पनि कुनै जिम्मेवारीमा नरहेकाले धेरै कुरा थाहा भएन’, श्रेष्ठले भने ।
महाधिवेशन लगत्तै नेताहरूको कार्यविभाजन गर्न अध्यक्ष नेपाल नेतृत्वमा सात पदाधिकारी रहेको कार्यदल गठन भएको थियो । कार्यदलले एक व्यक्ति एक जिम्मेवारी दिनेगरी कार्ययोजना तयार गरेको कार्यदलमा रहेका नेताहरू बताउँछन् ।
कार्यदलको सदस्यसमेत रहेका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कार्यविभाजनको गृहकार्य भइरहेको भन्दै केही दिनमा टुङ्गिने बताए । ‘काम भइरहेको छ, केही दिनमा टुङ्गिन्छ’, पाण्डेले भने ।
महाधिवेशनले पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने भनिए पनि नेताहरूलाई चित्त बुझाउन बढाएर ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । तर यी सबै नेता कार्यविभाजन नहुँदा बेरोजगारजस्तै बनेका छन् ।
‘हामी त पाँच महिनादेखि बेरोजगारजस्तै बनेका छौँ’, एक पोलिटब्युरो सदस्यले भने, ‘पार्टीले जिम्मेवारी नतोक्दा र कार्यक्रमहरू नबनाउँदा जनतामा जानै सकिएको छैन ।’
सम्मानित नेता झलनाथ खनाल गलत ढंगले पदाधिकारी र पोलिटब्युरो चयन गर्दा उत्पन्न विवाद र असन्तुष्टिका कारण केही समयअघि पार्टीमा समस्या देखिए पनि अब बिस्तारै साम्य हुँदै गएको बताउँछन् ।
‘महाधिवेशन सम्पन्न गरेको हप्ता–दश दिनभित्र केन्द्रीय कमिटी बैठक राखेर पदाधिकारीहरू चयन गर्ने र केन्द्रीय कमिटी सदस्यहरूको कार्यक्षेत्र तोक्दै कार्यभारहरू तय गर्नुपर्ने हो’, सम्मानित नेता खनालले भने, ‘तर हामी जुन बाटोबाट हिँडेर आयौँ, हिँड्नुपर्ने जसरी हिँडिएन ।’
उनले पदाधिकारी चयन सहमतिबाट गर्नुपर्ने भए पनि मतदानको प्रक्रिया अपनाउँदा कतिपय जिल्लामा कनिष्ठहरू वरिष्ठ र वरिष्ठचाहिँ कनिष्ठ हुने अवस्था आएको बताए । निर्वाचनको परिणाम पनि सबैलाई चित्तबुझ्दो नहुँदा केन्द्रीय कमिटीभित्रै असन्तुष्टि बढेको उनको भनाइ छ ।
‘यसो गर्दा केन्द्रीय नेताहरूमै चर्को असन्तुष्टि देखियो र पार्टी फुट्नेसम्मको हल्ला चल्यो’, खनालले भने, ‘आन्तरिक व्यवस्थापन गर्न नसक्दा ती समस्या सिर्जना भएका थिए ।’
समस्या समाधानका लागि सम्झाउने, बुझाउने र फकाउने काम भइरहेको भन्दै असन्तुष्टिहरू सम्बोधनको प्रयास भइरहेकाले पार्टी नयाँ ढंगले अघि बढ्न लागेको खनालको भनाइ छ ।
‘जिल्लाका इन्चार्जहरूका बारेमा लगभग टुङ्गिएको छ । तर सबै केन्द्रीय कमिटी सदस्यहरूलाई कार्यक्षेत्रमा खटाउने कुरा टुङ्गिएको छैन’, खनालले रातोपाटीसँग भने, ‘भूगोलतर्फ संघीय निर्वाचन क्षेत्रका सवालमा एक हदसम्म टुङ्गिँदै गएको छ ।’
खनालले त्यसबाहेक गैरभूगोलको क्षेत्रमा नेताहरूको कार्यविभाजनको कुरा मिल्न बाँकी रहेको तथा दस्ताबेजहरू समेत प्रकाशित भई नसकेको बताए । उनले चाँडोभन्दा चाँडो केन्द्रीय समितिको बैठक राखेर कार्यविभाजनको विषय टुङ्ग्याउनुपर्ने भन्दै त्यहीँबाट पार्टीको कार्ययोजना समेत सार्वजनिक गरेर पार्टी गोलबन्द बनाएर अघि बढ्न जरुरी रहेको बताए ।
नेताहरूको कार्यविभाजनमा भएको ढिलाइले नेता–कार्यकर्तामा निराशा छाएको स्वीकार गर्दै खनालले लामो समय दिशाहीन, निर्णयहीन र किंकर्तव्यविमूढ भएर पार्टी बस्नु दुःखद भएकाले यही अवस्था रहे पार्टी अग्रगतिमा जान नसक्ने बताए ।
जिल्ला इन्चार्ज, विभाग प्रमुख, आयोग प्रमुख, जनवर्गीय संगठनको इन्चार्जसहित प्रदेश तथा संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर कार्यविभाजन गर्ने नेताहरूले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उदयपुरमा विपन्न परिवारको आवासका लागि ८० घर निर्माण
-
जीडीपी राष्ट्रवाद
-
अस्ट्रेलियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
-
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
बंगलादेशले स्कटल्यान्डलाई हरायो, अस्ट्रेलियाविरुद्धको खेलअघि नेपाललाई थोरै राहत
-
राजधानीको भोटेबहालबाट धनमाल चोरी भएको घटनामा चार जना पक्राउ