सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
कीर्तिपुर फिल्ड रिपोर्ट

कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने सम्भावना, के भन्छन् उम्मेदवारहरू ?

स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले चुनावी प्रतिस्पर्धा थप रोचक
मङ्गलबार, ११ मङ्सिर २०८१, १२ : ०१
मङ्गलबार, ११ मङ्सिर २०८१

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच कडा प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ ।

कीर्तिपुर नगरपालिका प्रमुख पदमा कांग्रेसबाट नगर समितिका सभापति कृष्णमान डंगोल, एमालेबाट केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नम्बर १० का अध्यक्ष डा. सुरेन्द्र मानन्धर र माओवादीबाट प्राडा. शिवशरण महर्जन उम्मेदवार छन् । तीन जनामध्ये मानन्धर ३ नम्बर वडाका बासिन्दा हुन् । महर्जन वडा नम्बर १० र डंगोल वडा नम्बर २ का बासिन्दा हुन् ।

यसपटक प्रमुख तीन दलले नै राम्रा र क्षमतावान व्यक्तिलाई उम्मेदवार बनाएकाले कडा प्रतिस्पर्धा हुनसक्ने स्थानीयवासी बताउँछन् । यद्यपि एमालेका उम्मेदवार मानन्धरको उपस्थिति कांग्रेसका लागि महँगो पर्न सक्ने उनीहरूको बुझाइ छ ।

२०७९ को निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादीका उम्मेदवार प्राडा. शिवशरण महर्जनले समेत उल्लेख्य मत बढाउन सक्ने अनुमान गरिएको छ । यसैगरी स्वतन्त्र उम्मेदवारहरू नवरथकुमार बानिया, राजमान महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारी लगायतको उपस्थितिले चुनावी प्रतिस्पर्धा कडा र रोचक हुन सक्ने स्थानीय त्रिविन बस्नेतको बुझाइ छ ।

‘अघिल्लो निर्वाचनको तुलनामा योपटक यहाँको निर्वाचन कडा प्रतिस्पर्धा हुन सक्ने देखिएको छ । कांग्रेस, एमाले, माओवादीले मात्रै होइन, सबैले राम्रा उम्मेदवार उठाएका छन् । कीर्तिपुर विगतमा एमालेको बलियो क्षेत्र हो’, आइतबार रातोपाटीसँग उनले भने, ‘योपटक विरासत फर्काउनका लागि हाइप्रोफाइलका व्यक्तिलाई मैदानमा ल्याएको छ । माओवादीको उम्मेदवार पनि राम्रो भएकाले उसले केही मत बढाउन सक्छ । कांग्रेसको उम्मेदवार पनि राम्रै छन् । त्यसैले योपटक दलहरूबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।’ जसले जिते पनि थोरै मतान्तरले जित्ने उनको अनुमान छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा एमालेको गढ भत्काउँदै कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी निर्वाचित भएका थिए । नकर्मी ९०४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशवरत्न बज्राचार्यले ५५०७ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले ४०९० मत पाएका थिए । 

अघिल्लो निर्वाचनमा एमाले पार्टी विभाजनको फाइदा कांग्रेसले उठाएको एमालेका नेताहरूको भनाइ छ । त्यतिबेला नेकपा एकीकृत समाजवादीले वटुककृष्ण थापालाई प्रमुख पदमा उम्मेदवार बनाएको थियो । तर उनले जम्मा ११५३ मत पाए । योपटक थापासहित एकीकृत समाजवादीबाट ठुलो समूह एमालेमै फर्किएकाले मानन्धरलाई राहत मिलेको स्थानीय तीर्थ बस्नेतको विश्लेषण छ । मानन्धर आफैँ माधव पक्षधरका नेता भएकाले उनी बलियो प्रतिस्पर्धी रहेको बस्नेतले बताए ।

‘मानन्धर तत्कालीन एमालेमा माधव नेपाल निकट भनेर चिनिन्छन् । त्यतिबेला कीर्तिपुरमा उनको बलियो पकड थियो । अघिल्लो निर्वाचनमा केपी ओली पक्षका लो प्रोफाइलका नेतालाई उठाउँदा एमालेका उम्मेदवार पराजित भयो कि जस्तो लाग्छ । एमालेको गढ मानिएको कीर्तिपुरमा एमाले विभाजन भएको फाइदा ०७९ मा कांग्रेसले उठायो । योपटक मानन्धरलाई उठाएकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ’, उनले भने ।

बस्नेतले कीर्तिपुर १, २, ४, ५, ६ मिश्रित समुदाय भएकाले कोर क्षेत्रमा जस्तो मत नआउने दाबी गरे । यहाँका मतदाताले पार्टी हेरेरभन्दा पनि उम्मेदवार हेरेर मत हाल्ने भएकाले यसै हुन्छ भन्न नसक्ने उनले बताए ।

माओवादीबाट उम्मेदवार रहेका महर्जन पनि निष्कलङ्क र बौद्धिक व्यक्ति भएकाले योपटक उल्लेख्य मत बढाउन सक्ने माओवादीका कार्यकर्ता बताउँछन् । कीर्तिपुर–१० मा माओवादीको राम्रो मत छ । अन्य वडामा पनि विगतको तुलनामा माओवादीको मत राम्रो भएको माओवादीका इन्चार्ज सूर्य सुवेदीको दाबी छ ।

‘विगतको तुलनामा माओवादीको जनमत बढ्दै गएको छ । जनस्तरबाट राम्रो प्रतिक्रिया आएका छन् । घरदैलो कार्यक्रम बाँकी नै रहेकाले विपक्षीभन्दा हामी बलियो स्थितिमा पुग्छौँ भन्ने विश्वास छ’, सुवेदीले भने ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका राजमान महर्जन, नवरथकुमार बानिया, कविकुमार महर्जन, दिनेशकुमार अधिकारीले कांग्रेस र एमालेको मत विभाजन गर्ने हुँदा त्यसको फाइदा आफूलाई हुने माओवादी नेताहरूको बुझाइ छ । यसपटक माओवादी घटक र एकीकृत समाजवादीले समेत माओवादी केन्द्रलाई समर्थन गरेकाले झिनो मतका साथ आफूले जित्ने माओवादी नेताहरू बताउँछन् ।

स्वतन्त्र उम्मेदवार बनेका राजमान एमाले पृष्ठभूमिका व्यक्ति हुन् । कवि कांग्रेसका क्रियाशील नेता हुन् । उनीहरूको उपस्थितिले सम्बन्धित दलको केही भोट काट्न सक्ने अनुमान गरिएको छ ।

८१ वर्षीय स्थानीय ध्रुव खनालले विगतमा एमालेको बलियो जनाधार भए पनि २०७९ को चुनावमा कांग्रेसले जितेको र अहिले पनि कांग्रेसले नै जित्न सक्ने अनुमान गरे । कांग्रेसका उम्मेदवार डंगोल भूगोल र जनताको समस्या राम्रोसँग बुझेका र इमानदार व्यक्ति भएकाले उनीमाथि स्थानीयको भरोसा रहेको उनको बुझाइ छ ।

‘विगतमा एमालेले जितेको नगरपालिका हो । तर अघिल्लोपटक किल्ला भत्काएर कांग्रेसले जित्यो । वडा नम्बर ४ बाहेक सबै कांग्रेसले नै जितेको हो । योपटक पनि झिनो मतले कांग्रेसले जित्ने सम्भावना देखिन्छ’, खनालले भने ।

उम्मेदवारहरूका आ–आफ्नै दाबी   

सोमबार बिहान ९ बजे कीर्तिपुर नगरपालिका–२, पुरानो नगरपालिकाको  कार्यालय पुग्दा एमालेका उम्मेदवार मानन्धर समर्थकसहित भोट माग्न व्यस्त थिए । सेकेन्ड सेकेन्डको महत्त्व रहेको जनाउँदै उनले मिडियासँग प्रतिक्रिया दिन चाहेनन् । करिब १२ बजेतिर खाना खान आएका बेला नयाँबजारस्थित पार्टी कार्यलयमा बल्ल उनले समय उपलब्ध गराए । रातोपाटीसँग छोटो प्रतिक्रिया दिँदै उनले आफूले जित्ने दाबी गरे ।

surendra-manandhar

‘कीर्तिपुरको बासिन्दाले एमालेको नेतृत्व खोजेको छ । म आफैँ पनि यहाँका जनताका हरेक सुख–दुःखमा साथीको रूपमा भूमिका खेल्दै आएको छु । मेरो राजनीतिक, सामाजिक जीवन, आर्थिक उन्नयनको अभियानमा मैले खेलेको भूमिकाका बारेमा पनि कीर्तिपुरका जनता प्रस्ट छन् । त्यो आधारमा एमालेको उम्मेदवारलाई विजयी गराउने विश्वास लिएको छु’, मानन्धरले भने ।

कीर्तिपुर–६ स्थित लंगोलबाट घरदैलो कार्यक्रम सुरू गरेका माओवादी केन्द्रका उम्मेदवार महर्जनले विगतको तुलनामा माओवादीप्रति जनमत बढेकाले आफूले जित्ने दाबी गरे । नगरवासीको समस्याबारे राम्रो जानकार रहेको, विषयविज्ञ अनुभव, माओवादी सरकारले गरेको राम्रो काम र माओवादी घटकबिच ऐक्यबद्धताका कारण नै आफ्नो जितको आधार रहेको उनको भनाइ छ ।  

‘व्यवस्थित कीर्तिपुर बनाउनका लागि मैले उम्मेदवारी दिएको हो । माओवादी १८ महिना सरकारमा बस्दा सुशासन, सामाजिक न्याय, समृद्धिको पक्षमा राम्रो कार्य गरेको छ,’ महर्जनले भने, ‘भ्रष्टाचर, मिटरब्याज, लोड सेडिङ अन्त्यकोलागि माओवादी सरकारले गरेको कामप्रति जनतामा सकारात्मक सन्देश प्रवाह भएको छ ।’

अन्य दलभन्दा माओवादी नै जनताको पक्षमा उभिएको पार्टी रहेछ भन्ने जनताले बुझेको महर्जनको दाबी छ । उनले भने, ‘कांग्रेस–एमाले गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएको सबैले बुझेका छन् । विगतमा माओवादी घटक छरपस्ट भएकाले त्यसको फाइदा अन्य दलले लिए । योपटक माओवादी घटकका साथसाथै अन्य दलले पनि मलाई समर्थन गर्छौं भनेका छन् ।’

अघिल्लो निर्वाचनमा माओवादीको प्राविधिक मिस्टेकले गर्दा मत घटेको महर्जनले बताए । त्यतिबेला मेयर माओवादीलाई दिने र वडा गठबन्धन दललाई दिने सहमति लागु नभएका कारण सोचे अनुसार मत नआएको उनको बुझाइ छ ।

घरदैलो कार्यक्रमा माओवादीका केन्द्रीय नेताहरू शशी श्रेष्ठ, रेखा शर्मा, हिमाल शर्मा, श्रीकृष्ण अधिकारी, सूर्य सुवेदी लगायत नेताहरू खटिएका छन् ।

कीर्तिपुर नयाँ बजारस्थित कांग्रेस पार्टी कार्यालयमा भेटिएका कांग्रेसका उम्मेदवार डंगोलले विगतको तुलनामा योपटक त्रिपक्षीय भिडन्त भए पनि झिनो मतले आफू विजयी हुने दाबी गरे ।

‘०७९ मा पनि कांग्रेस एक्लै लडेको हो । कीर्तिपुरमा कांग्रेस एक्लै लड्न सक्षम छ । कांग्रेस जराजरामा पुगेको पार्टी हो । त्रिपक्षीय भिडन्त हुने देखिन्छ । त्यसमा कांग्रेसले नै जित्ने देखिन्छ । १० हजार मत ल्याएर जित्ने हाम्रो लक्ष्य हो’, उनले भने ।

वडा नम्बर ६ स्थित खत्रीछापबाट घरदैलो कार्यक्रम गरेका राप्रपाका उम्मेदवार धु्रव महर्जनले विगतमा कीर्तिपुरको समग्र विकासका लागि कसैले केही ध्यान नदिएकाले आफूले उम्मेदवारी दिएको बताए ।

‘यसअघिका प्रमुखले केही पनि नगरेकाले राप्रपाले जित्ने आधार बनेको छ । जनताको आह्वानका कारण नै म उम्मेदवार बनेको हो’, उनले भने ।

यता स्वतन्त्र उम्मेदवार रहेका राजमान महर्जनले आफू राजनीतिज्ञ नभइ विशुद्ध अभियन्ताको रूपमा उम्मेदवार बनेको दाबी गरे । ‘म राजनीतिज्ञ होइन । विशुद्ध अभियन्ता हुँ । समाज व्यवस्थापनका लागि कानुन चाहिने रहेछ’, उनले भने, ‘अभियानले मात्र सम्भव नभएकाले म राजनीतिमा आएको हुँ । निर्वाचित भएमा सफाइ अभियानलाई कायमै राख्छु ।’

उनलाई धरानका प्रमुख हर्क साम्पाङले समर्थन गरेका छन् । काठमाडौँका प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीको समेत समर्थन पाउने आशा उनले राखेका छन् ।

ऐतिहासिक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसाँस्कृतिक सम्पदाले भरिपूर्ण यस नगरपालिकालाई आफूले जितेमा सुविधा सम्पन्न नमुना नगरपालिका बनाउने स्वतन्त्र उम्मेदवार महर्जनको दाबी छ ।

कीर्तिपुर नगरमा कीर्तिपुर लगायत पाँगा, चोभार, भाजंगल, टौदह, ट्याँङ्गला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँ बजार आदि प्रमुख स्थान छन् । यहाँका बासिन्दा सबैभन्दा बढी कृषि पेसामा निर्भर रहेको देखिए पनि अधिकांश ज्याला मजदुरीका अलावा घरेलु उद्योग, पसल–व्यवसाय आदि सञ्चालन गरी जीविकोपार्जन गर्दै आएको पाइन्छ । यस नगरपालिकाको अधिकांश भाग कृषि क्षेत्र र जंगलले ढाकेको छ । यस नगरमा सडक तथा गल्लीहरूको स्तरोन्नति भएको पाइँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप