"/>
मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

कीर्तिपुरमा गुमेको साख फिर्ता ल्याउनुपर्ने दबाबमा एमाले उम्मेदवार (भिडियोसहित)

नगरवासीलाई निराशाबाट आशाको सञ्चार गर्न मेरो उम्मेदवारी: डा. सुरेन्द्र मानन्धर
मङ्गलबार, ११ मङ्सिर २०८१

मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुरको नगरप्रमुख पदमा नेकपा(एमाले)बाट डा. सुरेन्द्र मानन्धर चुनावी मैदानमा छन्। मानन्धर यतिबेला सूर्य चुनाव चिह्नमा भोट माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन्।

२०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन गर्दै यहाँ एमालेले जितेको थियो। तर‚ २०७९ मा भएको निर्वाचन भने एमालेले जित्न सकेन। सबै दल एक्लाएक्लै चुनाव लड्दा एमाले दोस्रो भएको थियो । त्यसैले पनि यहाँ उनै मानन्धरलाई एमालेले गुमाएको साख फिर्ता ल्याउनुपर्ने दबाब तथा चुनौती छ।

गएको स्थानीय तह निर्वाचनमा एमालेले ४३ वर्षीय केशरत्न बज्राचार्यलाई टिकट दिएको थियो। तर‚ उनले ५ हजार ५०७ मत मात्र ल्याए र निर्वाचनमा एमाले पराजित भयो । यस उपनिर्वाचनमा उम्मेदवार बनेका मानन्धरलाई एमालेलाई २०७४ मै फर्काउनुपर्ने चुनौती छ । 

चुनावी मैदानमा रहेका मानन्धरले पनि १५ बुँदे प्रतिबद्धता सहित जनताको घरदैलोमा पुगिरहेका छन् । सोमबार मध्यान्ह कीर्तिपुर नयाँ बजारमा भेटिएका उनले प्रतिबद्धता पत्र सहित आफ्नो उम्मेदवारीको कारण रातोपाटीसँग खुलाए। 

‘नगर नेतृत्व विहीन भएपश्चात् जनप्रतिनिधिहरूबिच अत्यन्तै अन्योलको वातावरण सिर्जना भएको छ । जनप्रतिनिधिबिच एक आपसमा अविश्वास पैदा भएको छ‚’ उनले भने‚ ‘यसरी नै बाँकी कार्यकाल पनि गए यहाँ एकदमै निराशा पैदा हुनेछ । कीर्तिपुरलाई निराशा जोगाउन र आशाको सञ्चार गर्न यहाँ सक्षम सबल नेतृत्व चाहिन्छ भनेर मेरो उम्मेदवारी हो ।’

मानन्धरले नगरपालिकालाई सबैको सहयोगमा समृद्ध बनाउने भन्दै शिक्षा‚ स्वास्थ्य‚ रोजगारी तथा पर्यटनको विषयमा आफूले तत्काल गर्ने कामको फेहरिस्त सुनाए । उनले शिक्षामा छात्रवृत्तिको व्यवस्था‚सामुदायिक विद्यालयको क्षमता सुधारका लागि ‘शैक्षिक सुधार कोषको’ व्यवस्था‚नेपाल भाषा र तामाङ भाषाको शिक्षालाई डिजिटलाइजेसनको गर्ने योजना जनतामाझ लिएर गएका छन् । 

स्वास्थ्यतर्फ उनले जनताको घर घर गई रगत सङ्कलन र परीक्षण‚ नगरभित्र नेपालकै नमुना आँखा अस्पताल निर्माणका लागि पहल साथै कीर्तिपुरमा त्रिवि शिक्षण अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन् । यसबाहेक चोभारमा औद्योगिक ग्रामको स्थापना‚ लोकसेवा आयोगका तयारी कक्षाहरू नियमित सञ्चालन‚ कीर्तिपुर प्राविधिक तालिम केन्द्रको स्थापना र युवाहरूलाई ल्यापटप र मोबाइल मर्मत तालिम लगायत माध्यमबाट रोजगारीको सृजना गर्ने उल्लेख गरेका  छन् ।

प्रतिबद्धता पत्र मार्फत उनले सांस्कृतिक पर्यटन नगर विकासको आधार बनाउने‚ निर्वाचित भएको ३ महिनाभित्र सडकको खाल्डाखुल्डी पुर्ने बाचा गरेका छन् । यस्तै‚ नगरलाई कला सङ्गीत प्रतिष्ठानको स्थापना‚कीर्तिपुर खेलकुद विकास समितिलाई बलियो बनाउने‚ एक वडा एक खेल मैदानको व्यवस्था गर्ने पनि दाबी गरेका छन् । उनले फोहोरमैलाको व्यवस्थापन‚ खानेपानीको व्यवस्थापन‚प्रशासनिक सुधार लगायत विषयमा आफूले काम गर्ने उल्लेख गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया