आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

शाहीकालको अधुरा सपना अब पूरा गर्छु : ध्रुव महर्जन (भिडियोसहित)

मङ्गलबार, ११ मङ्सिर २०८१

पेसाले इन्जिनियर ध्रुव महर्जन मंसिर १६ को उपनिर्वाचनमा कीर्तिपुर नगरप्रमुखमा चुनाव लड्दैछन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चुनाव चिह्न लिएर उनी चुनावी मैदानमा होमिएका हुन्। 

महर्जन तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६२ सालमा गराएको निर्वाचनबाट नगरप्रमुख बनेका थिए । त्यसबेला ५८ दिन उनी प्रमुख पदमा बस्न पाएका थिए । उनले त्यसबेलाका अधुरा सपना पुरा गर्न नसकेका अधुरा काम गर्ने प्रतिबद्धता जनाउँदै साढे दुई वर्ष बाँकी रहेको कार्यकालका लागि चुनाव लड्न लागेको बताउँदै आएका छन् ।

सोमबार बिहान कीर्तिपुरको ५ नम्बर वडामा मत माग्दै गरेको अवस्थामा रातोपाटीले उनीसँग संवाद गरेको थियो । उनले १६ बुँदामा प्रतिबद्धता बोकेर चुनावी मैदानमा होमिएको र आफू नै जित्ने उम्मेदवार भएको दाबी पेस गरे । 

‘मैले छाडेको १९ वर्ष भयो कीर्तिपुर नगरभित्र गर्नुपर्ने काम केही पनि नभएकाले मलाई फेरी जनताले आह्वान गरेर ५८ दिनमा काम गर्न नपाएको अब काम गर्नुस् भनेर अनुरोध गरेपछि चुनावी मैदानमा होमिएको हुँ‚’ उनले रातोपाटीसँग भने ।

प्रतिबद्धताको पहिलो नम्बरमा उनले असोज ११ र १२ गते गएको बाढी पहिरोबाट प्रभावितहरुको पहिचान गर्ने आवश्यक राहत उपलब्ध गराउने लेखेका छन् । यस्तै‚ सरकारी स्कुलको गरिब जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति‚ सार्वजनिक जग्गाहरू पहिचान मात्र होइन नगरपालिका भित्र निर्माण मापदण्ड समय अनुसार परिमार्जन गर्दै जाने पनि उल्लेख गरेका छन् । 

यसबाहेक नगरभित्र पानीको स्रोतहरूको संरक्षण मात्र होइन कीर्तिपुर नगरपालिकालाई पर्यटकीय बस्तीको विकास लगायत योजना उनले बनाएका छन् । यस्तै उनले त्रिवि भित्र भएका सबै संरचनाको लगत लिई नगरपालिका ऐन अन्तर्गत सूचीकृत गर्ने तथा नगरपालिका भित्रका सबै संरचना निर्माणमा टाइम कार्ड प्रयोग गर्ने उनको योजना छ । 

‘कीर्तिपुर नगरपालिकामा ५८ दिन बस्दा विसङ्गति एक हप्तामा हटाइदिएको थिए । सुशासन कायम गरेको थिएँ‚’ उनले थपे‚ ‘म बाहेक अरू उम्मेदवारलाई नगरपालिकामा गएर त्यहाँको वातावरण बुझ्न एक वर्ष लाग्नेछ । तर‚ ध्रुव महर्जन शपथ लिएको भोलिपल्टैबाट एक्सनमा जान्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया