सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार  महर्जन (भिडियोसहित)

मङ्गलबार, ११ मङ्सिर २०८१

शिव शरण महर्जन पेसाले प्राध्यापक तथा शिक्षाविद् । उनको नामको अगाडि प्राध्यापक डाक्टर पनि जोडिएको छ । जो कीर्तिपुर नगरपालिकाको प्रमुख बनेर नगरको संस्थागत सुधार र समृद्ध कीर्तिपुर बनाउने योजनामा छन् । 

मंसिर १६ मा हुने उपनिर्वाचन जितेर उनी नगरप्रमुख बन्ने योजनामा छन् । नेकपा (माओवादी केन्द्र) को गोलाकारभित्र हँसिया हथौंडा चुनाव चिह्न लिएर उनी चुनावी मैदानमा उत्रिएका छन्‚ यस पटक जितको पूर्ण अपेक्षा सहित ।

महर्जन गएको स्थानीय निर्वाचन पनि माओवादी पार्टीबाट उम्मेदवार बनेका थिए । तर‚ चार हजार ९० मत सहित तेस्रो स्थानमा रहे । उनले निर्वाचन भने जित्न सकेनन् । यस पटक भने त्यो हारको बदला लिएर जित्ने मात्र होइन इतिहास रच्ने लक्ष्य उनले लिएका छन् । उक्त लक्ष्य सहित उनको घरदैलो अभियान जारी छ । 

सोमबार चुनावी प्रचारप्रसारको क्रममा उनी कीर्तिपुर वडा नम्बर ५ टौदह नजिक भेटिए । उनले रातोपाटीसँग कुरा गर्दै २५ बुँदे प्रतिबद्धता सहित आफूलाई भोट गर्न आग्रह गर्दै थिए । 

‘कीर्तिपुर नगरपालिका भित्र सुशासन कायम गर्दै भ्रष्टाचार मुक्त बनाउनु छ । कीर्तिपुर लथालिङ्ग छ यसलाई व्यवस्थित बनाउनु छ‚’ उनले भने‚ ‘म सँग पर्याप्त योजना छन् । कीर्तिपुरलाई नमुना कीर्तिपुर बनाउँछु ।’

नगरप्रमुख उम्मेदवार महर्जनले पहिलो नम्बरमा स्ववासी बेनिस्साको समस्या यथाशीघ्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै‚ नि:शुल्क फोहोर मैला सङ्कलन गर्ने‚ विद्युत् र खानेपानी/ढलको न्यूनतम खपत शुल्क मिनाहा गर्ने र घर घरमा खानेपानी वितरण समानुपातिक ढङ्गबाट गर्ने प्रतिबद्धता पनि जनाएका छन् । यसबाहेक उनले सबै क्षेत्रमा कालोपत्रे सडक‚ निःशुल्क स्वास्थ्य सेवासहित २५ श्ययाको बिष्णुदेवी अस्पताल निर्माण‚सम्पन्न नभएका खेल मैदानको पूर्णता‚ नगरको संवेदनशील क्षेत्रमा सिसिटिभि जडान सहित सुरक्षित सहर बनाउने बाचा पत्रमा उल्लेख गरेका छन् । 

महर्जनले नगरमा त्रिवि शिक्षण अस्पताल निर्माण तथा त्रिविका निकायमा नगरवासीको रोजगारी निश्चित कोटा व्यवस्थापन गर्ने पनि उल्लेख गरेका छन् । यसबाहेक समृद्ध र सुशासन सहित भ्रष्टाचारमुक्त कीर्तिपुर बनाउने‚प्राविधिक शिक्षाको व्यवस्था‚ पर्यटन विकासका लागि संस्कृति तथा जातीय संग्राहलयको स्थापना‚ नगरका युवा विद्यार्थीलाई शैक्षिक ऋण दिने योजना अघि सारेका छन् । 

यसबाहेक उनले कीर्तिपुरका राष्ट्रिय स्तरको खेलाडीलाई मासिक भत्ता‚ सहकारी ऋण लगानी र असुलीका लागि पहल गर्ने‚ करको शुल्क घटाउने तथा दायरा बढाउने लगायत योजना महर्जनले अघि सारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया