आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
कीर्तिपुरमा चुनावी रौनक

कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुन्छ‚जित्ने कांग्रेसले नै हो : डंगोल (भिडियोसहित)

मङ्गलबार, ११ मङ्सिर २०८१

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनबाट कीर्तिपुर नगरपालिकाको प्रमुख बन्ने होडका साथ नेपाली कांग्रेसबाट कृष्णमान डंगोल चुनावी दौडमा छन् । उक्त उपनिर्वाचनमा डंगोललाई कांग्रेसको विरासत जोगाउनुपर्ने दबाब पनि छ । 

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका राजकुमार नकर्मीले ९ हजार ४३ मत सहित विजय हासिल गरेका थिए । उनको देहावसान भएपश्चात् हुन लागेको उपनिर्वाचनका लागि यतिबेला डंगोल चुनावी घरदैलो अभियानमा छन् । सोमबार दिउँसो उनकै सम्पर्क कार्यालय कीर्तिपुर नयाँ बजारमा भेटिएका डंगोलले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । 

डंगोलले धेरै विषयमा नकर्मीको अधुरो बाचा पुरा गर्नु नै रहेको बताए । यसबाहेक आफूले नगरलाई कसरी समृद्ध‚ सांस्कृतिक र विकसित बनाउन सकिन्छ भनेर प्रतिबद्धता पनि अघि सारेको उनको भनाई छ । 

२० बुँदे प्रतिबद्धतामा डंगोलले पहिलो नम्बरमा शिक्षालाई राखेका छन् । यसबाहेक स्वास्थ्य‚ यातायात‚ खानेपानीको व्यवस्थापन‚ पर्यटन र फोहोर मैला व्यवस्थापनको विषय पनि समेटिएको छ । 

‘स्थानीय परम्परागत गुठी‚ बजा खल‚ बहाल‚ गुम्बा मन्दिर‚ विहार लगायत स्थानीय आदिवासी संस्कृतिको प्रवर्द्धनका लागि अनुदान र नगरस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्नेछु‚’ उनले रातोपाटीसँग भने । 

मतदातासामु पुग्दा डंगोलले कीर्तिपुर नगरलाई हिंसा मुक्त समाज बनाउने र सामुदायिक विद्यालयमा सेनिटेरी प्याडलाई निःशुल्क बनाउने भन्दै महिला र बालअधिकारसम्बन्धी वृहत् योजना बनाएर काम गर्ने प्रतिबद्धता जाहेर गर्दै आएका छन् । यसबाहेक कृषिमा प्रत्येक घरधुरी एक फलफूलको बोट योजना अघि बढाउने‚ एक वडा एक खेल मैदान अवधारणा अनुसार काम गर्ने हरेक विद्यालयमा खेलकुद सप्ताह अनिवार्य गर्ने प्रतिबद्धता पनि जनाउँदै आएका छन् । 

उनले अघि सारेको चुनावी प्रतिविद्धतामा खुला ठाउँको संरक्षण र हरियाली बनाउने‚ विज्ञान प्रविधिको क्षेत्रमा काम गर्ने‚ कक्षा १ देखि ८ सम्म नेपाल भाषा अनिवार्य गर्ने तथा भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने र लागूपदार्थ दुर्व्यसनी नियन्त्रणमा निर्णायक भूमिका खेल्ने पनि उल्लेख गरेका छन् ।

रातोपाटीसँग कुराकानी गर्दै उनले नगर प्रमुखमा त्रिपक्षीय भिडन्त हुने र आफूले निर्वाचन जित्ने दाबी गरे । स्वतन्त्रहरूको लहड सकिएको भन्दै उनले गएको निर्वाचन भन्दा बढी मत आफूले ल्याउने दाबी पनि गरे ।

‘हेर्नुस् यहाँ त्रिपक्षीय भिडन्त हुन्छ । कांग्रेस एमाले र माओवादीबिचै भिडन्त हुने देखिन्छ‚’ उनले भने‚ ‘गएको निर्वाचन भन्दा बढी मत ल्याएर यहाँ कांग्रेसबाट मैले नै चुनाव जितेर नगरलाई समुन्नत बनाउँछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया